सर्वोच्चको फैसलापछि मुलुकभरको सुरक्षामा उच्च सतर्कता, सूक्ष्म आँकलनमा छौँः सेना

Advertisement

काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको फैसला गरेसँगै नेपाल प्रहरीले मुलुकभरको सुरक्षा व्यवस्थामा उच्च सतर्कता अपनाएको छ । हुनसक्ने सम्भावित घटनालाई विचार गर्दै उच्च सतर्कता अपनाइएको नेपाल प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी दिए ।     
     
भीडभाड तथा जुलुस निस्कन सक्ने क्षेत्रमा आवश्यक मात्रामा सुरक्षाकर्मी बढाइएको र शान्ति सुरक्षा कायम गर्न प्रहरीले विशेष ध्यान दिएको कुँवरले बताए । “अहिलेको अवस्थामा सुरक्षा स्थिति सामान्य छ, जे पनि हुन सक्छ भन्ने कुरालाई ध्यानमा राखेर उच्च सतर्कता अपनाइएको छ”, उनले भने, “संवेदनशील क्षेत्रमा निगरानीसमेत बढाइएको छ ।”     
     
नेपाल प्रहरी र सशस्त्र प्रहरीले सर्वोच्चको फैसला आउन सक्ने परिस्थितिलाई ध्यानमा राख्दै यसअघि आवश्यक तयारी गरेको थियो । सुरक्षा निकायले संसद् पुनःस्थापना हुँदा र नहुँदाका लागि भनेर छुट्टाछुट्टै सुरक्षा योजना तयार पारेको स्रोतले बताएको छ । आज फैसला भएसँगै त्यसलाई समन्वयात्मक रुपमा सुरक्षा व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।     

सूक्ष्म आँकलनमा छौँः नेपाली सेना    
नेपाली सेनाले सर्वोच्च अदालतबाट विघटित प्रतिनिधिसभा पुनःस्थापनाको निर्णयसँगै उत्पन्न हुन सक्ने सुरक्षा चुनौती र परिस्थितिको सूक्ष्म अध्ययन र आँकलन गरिरहेको जनाएको छ । आफ्नो संवैधानिक दायित्व र भूमिकाबारे पूर्णरुपमा जानकार रहेको जनाउँदै सेनाले प्राप्त जिम्मेवारी र भूमिका निर्वाह गर्न सङ्गठन प्रतिबद्ध रहेको स्पष्ट गरेको छ ।     
     
नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले भने, ‘‘सेनाले कुनै पनि देशमा विकसित परिस्थितिबाट उत्पन्न हुन सक्ने सुरक्षा परिस्थिति र अवस्थाबारे सूक्ष्म आँकलन गर्ने हाम्रो नियमित प्रक्रियाभित्रै पर्छ, त्यो भइरहेको छ ।’’ विकसित अवस्थाबाट कुनै सुरक्षा परिस्थिति उत्पन्न हुन सक्छन् कि भनी आँकलन गर्ने, अनुगमन गर्ने, अन्य निकायसँग सूचना आदानप्रदान गर्ने विगतदेखि नै भइरहेको जनाउँदै उनले भने, ‘‘त्यो अहिले पनि गरिरहेकै छौं, सङ्क्रमणको अवस्थामा सुरक्षाको अवस्थाका लागि विचार गरेर अरुलाई पनि थप सजग गराउने र फौज सजग रहने हुन्छ नै ।’’     
     
नेपाली सेनाको मुख्य सरोकारको विषय भनेको उत्पन्न हुन सक्ने सुरक्षा परिस्थिति नै भएको बताउँदै प्रवक्ता पौडेलले भने, ‘‘यस विषयमा अन्य सुरक्षा निकायसँग समन्वय र सम्पर्कमा रही रहन्छौं ।’’ उनले देशमा शान्ति सुरक्षा कायम गर्नेबारे सेनाले अरु सुरक्षा निकाय र स्थानीय प्रशासनलाई सहयोग गर्नुपर्ने अवस्था आइपरेको खण्डमा के कस्तो सहयोग गर्ने भन्ने विषयमा पूर्वतयारीको अवस्थामा रहेको जानकारी दिए । 

Advertisement

Advertisement

Advertisement