शेयर बजारले लय समात्दा निफ्राका लगानीकर्ताले सबैभन्दा बढी गुमाए, नेपाल बैंकको कारोबार उच्च

Advertisement

काठमाडौँ । राजनीतिक अन्यौलताका बीच आज शेयर बजार  अन्ततः १२.५६ अंकले बढेर बिश्राम लिएको छ । 

Advertisement

संकटकालको हल्लाका कारण सोमबार र मंगलबार ओरालो झरेको बजार सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गर्ने निर्देशन दिए पछि आज शेयर बजारले पुनः लय समातेको हो । शेयर बजार साताको पहिलो दिन ३.३३ अंकले बढे पनि दोश्रो दिन सोमबार ३२.६७ र तेश्रो दिन हिजो मंगलबार २१.१६ अंकले घटेको थियो ।

आज बजार खुल्ने बित्तीले डाटामा समस्या आउँदा नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा) को कारोबार रोकिए पनि पुनः सुचारु भएको थियो । निफ्राको शेयर मूल्य शतप्रतिशत घटेको देखिएपछि नेप्सेले प्राबिधिक समस्या भन्दै कारोबार नै रोकेको थियो ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार आज ०.४९ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २५९९.०७ अंकमा उक्लिएको छ । आज २०४ कम्पनीका १ करोड ६७ लाख २६ हजार ४ सय ७२ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ७० करोड १८ लाख ७२ हजार ४ सय ३९ रुपियाँ बराबरको कारोबार भएको छ । 

आज जलविद्युत समूह र अन्य समूह बाहेक अरु समूहमा हरियाली छाएको छ । बजार बढेको दिन जलविद्युत समूह २२.९३ अंक र अन्य समूह १०.८९ अंकले घटेका हुन् । आज सबैभन्दा बढी निर्जीवन बीमा समूह १८४.३४ अंक र जीवन बीमा समूह १८०.८९ अंकले बढेका हुन् ।

आज आईएमई जनरल इन्स्योरेन्सका लगानीकर्ताहरुले सबैभन्दा बढी १० प्रतिशतले नाफा कमाएका छन् भने नेपाल फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ताहरुले ९.९७ प्रतिशत र चन्द्रागिरि हिल्सका लगानीकर्ताहरुले ९.९४ प्रतिशतले नाफा कमाएका छन् । 

सबैभन्दा बढी गुमाउनेमा निफ्राका लगानीकर्ता छन् । निफ्राका लगानीकर्ताले आज ५.३९ प्रतिशतले घाटा ब्यहोरेका हुन् । नेप्सेका अनुसार आज नेपाल बैंक लिमिटेडको उच्च कारोबार भएको छ । नेपाल बैंकको ५८ करोड २५ लाख ७५ हजार ८ सय २९ रुपियाँ बराबरको शेयर किनबेच भएको हो । त्यसैगरी निफ्राको ५५ करोड ९९ लाख २९ हजार ५ सय ५ रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ । 


 
 

Advertisement

Advertisement