‘थ्रिडी प्रिन्टिङ प्रविधि रोजगारी र उद्यमशीलता विकासका लागि महत्वपूर्ण

Advertisement

ललितपुर । इनोभेटिभ घर नेपाल तथा नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानको संयुक्त प्रयासमा आयोजित थ्रिडी प्रिन्टिङ प्रविधि सम्बन्धी तीन दिने कार्यशाला गोष्ठी बुधबार सम्पन्न भयो । 

सोमबारदेखि इनोभेटिभ घरमा सुरु भएको गोष्ठीको अन्तिम दिन आज सहभागी प्रशिक्षार्थीहरुलाई प्रतिष्ठानका उपकुलपति सुनिलबाबु श्रेष्ठले प्रमाणपत्र हस्तान्तरण गरे । 

Advertisement

सो अवसरमा उनले थ्रिडी प्रविधिसम्बन्धी गोष्ठीले युवा जगतको निम्ति रोजगारीको अवसर मात्र सिर्जना नगरी देशमा उद्यमशीलता विकासको क्षेत्रमा पनि महत्वपूर्ण योगदान दिने बताए । श्रेष्ठले विज्ञान तथा प्रविधिको क्षेत्रमा अनुसन्धान कार्यको निम्ति इनोभेटिभ घर जस्ता संस्थाहरुसँग मिलेर सहकार्य गर्न तयार रहेको कुरा बताए  ।

थ्रिडी प्रिन्टिङ प्रविधि कम्प्युटरको माध्यमले सरल तरिकाबाट तीन आयामी वस्तुहरु सिर्जना गर्ने एक नवीन प्रक्रिया हो । विकसित देशहरुमा क्याड, क्याम, सीएई प्रविधिअन्तर्गत बनेको एउटा थ्रिडी कम्प्युटर मोडेलबाट थ्रि डायमेन्शन अर्थात् तीन आयाम भएका भौतिक वस्तुहरु तयार गर्ने प्रक्रिया धेरै चलन चल्तिमा आइसकेको छ । 

यो प्रविधिलाई वास्तुकला, निमार्ण सेवा, स्वास्थ्य सेवा, इन्जिनियरिङ, कपडा, नेत्र वस्तु लगायतका विविध क्षेत्रहरुमा प्रयोग गर्न सकिन्छ । हाल यो प्रविधि विकासोन्मुख देशहरुमा उद्यमीहरुबीच निकै लोकप्रिय हुँदै गएको कार्यक्रममा जानकारी दिइयो । 

विकासोन्मुख देशका उद्यमीहरुले यस प्रविधिबाट त्यस्ता बस्तुहरुको निर्माण गर्न सक्छन् जुन कार्य यस प्रविधिको अभावमा गर्ने हो भने ठूलो पुँजी लगानीको आवश्यकता पर्छ । थ्रिडीपीको प्रयोगले समुदायको जीविकोपार्जन कार्यमा सुधार गर्ने ठूलो अवसर प्राप्त हुन्छ । विकासशील देशहरुमा यसको प्रयोगले उद्यमीहरुलाई सिर्जनात्मक, आकर्षक तथा सस्ता सामानहरुको उत्पादन सजिलै गर्ने कार्य सघाउ पुर्याउने जानकारी दिइयो ।

Advertisement

Advertisement