शिखर इन्स्योरेन्सको साधारणसभा चैत ५ मा , लाभांशसँगै हकप्रदको प्रस्ताव पारित गरिने

शिखर इन्स्योरेन्स दुई वर्षको वार्षिक साधारण सभा चैत ९ गते बस्ने भएको छ । इन्सुरेन्सले आर्थिक वर्ष २०७५–७६ र २०७६–७७ को साधारण सभा एकैपटक बोलाएको हो । साधारण सभा कम्पनीको केन्द्रीय कार्यालय शिखर बिज सेन्टर, थापाथली काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । 

कम्पनीले गत वर्षको नाफाबाट २७.७६ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.४६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा लैजानेछ । शिखरको उक्त लाभांश ३० प्रतिशत हकप्रद शेयर भर्ने लगानीकर्ताले पनि पाउनेछन् । यसले गत साउनमा ३० प्रतिशत हकप्रद सेयर बिक्री गरेको थियो । हकप्रद शेयर पछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ ।

यसले प्रस्तावित बोनस शेयरपश्चात कायम हुने चुक्ता पुँजीको पुनः ३० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि सभामा लैजाने जनाएको छ । कम्पनीले बोनस शेयर वितरणपछि कायम हुने शेयर  पुँजीमा सर्वसाधाण सेयरधनीको हिस्सा ४९ प्रतिशत पुर्याउने विशेष प्रस्ताव गरेको छ । हाल संस्थापक सेयर पुँजीको हिस्सा ६० प्रतिशत रहेको छ भने सर्वसाधारणको ४० प्रतिशत छ ।

‘सेयर कन्भर्जन’ पछि संस्थापक शेयरको हिस्सा ५१ प्रतिशत र सर्वसाधारणको हिस्सा ४९ प्रतिशत पुग्नेछ । सभा प्रयोजनको लागि फागुन २६ गतेदेखि चैत ९ गतेसम्म बुक क्लोज गर्ने भएको छ । तसर्थ, फागुन २५ गतेसम्म कायम शेयरधनीले प्रस्तावित लाभांश र साधारण सभामा सहभागी हुन पाउनेछन् ।