काठमाडौं । सेयर बजारमा पछिल्ला दिनमा उच्च दरको गिरावट देखिएको छ । लामो समयदेखि सुधारको बाटोमा रहेको बजारमा एक्कासी किन गिरावट आयो ? भन्ने कुराले लगानीकर्तामा उत्सुकता र चिन्ता बढेको छ । साताको पहिलो दिन आइतबार पनि बजारमा सुधार आउने अपेक्षा थियो । तर, त्यसविपरित भारी गिरावट देखियो ।
सेयर बजारका जानकारहरु यस गिरावटको खास कारण मुलुकको प्रतिकुल राजनीतिक परिस्थिति वा सेयर बजारमा हुने अदृश्य खेलहरुको हो भन्ने कुरा स्वीकार गर्दैनन् । सेयर बजारमा बिना कारण उच्च दरको वृद्धि र बिना कारण भारी गिरावट हुने कुरालाई धेरैले अनौठो र अस्वाभाविकरुपम लिने गर्छन् । सेयर बजारका जानकारहरु हालको गिरावटलाई बजार करेक्शनको रुपमा हेर्छन भने सर्वसाधारण लगानीकर्ताहरु यसको पछाडि संगठितरुपमा नाफा गर्न लाग्ने ठूलो लगानीकर्ताहरुको गिरोहको चलखेलको रुपमा हेर्छन् ।
यस क्षेत्रका एक जानकार बिष्णु बस्यालको अनुसार पछिल्ला दिनको गिरावट अरु कुनै कारण नभएर बजार करेक्शन मात्रै हो । राजनीतिक कारण वा कुनै चलखेलबाट बजार घटेको होइन् । यद्यपि यो सुधार हुन अझै एकदुई हप्ता लाग्ने उनको दाबी छ । बस्याल प्रश्न गर्छन, ‘करेक्शन हुनु परेन र ? यत्रो चलेको बजारमा यति करेक्शन त स्वाभाविक हो नि । सधैं बजार बढ्छ । बढ्नुपर्छ भन्ने हुन्छ र ?’
लामो समयसम्म निरन्तर उकालो लागको सेयर बजारको यस करेक्सन स्वभाविक भएको भन्दै बस्याल थप्छन्, ‘लामो समययता बजार निरन्तर बढ्दो क्रममा रहेको थियो । यसको कारण शेयर बजारमा करेक्सनको आवश्यकता पनि थियो । यसले बजार घट्दैमा त राजनीतिक घट्ना वा अन्य घट्नासँग जोड्न मिल्दैन् ।’
अबको बजारले कस्तो लय समात्ला ?
सेयर बजारका जानकारहरुले सेयर बजार परिसुचक नेप्से २५ सय विन्दुकै हाराहारीमा करेक्सन आउने अनुमान लगाएका थिए । तर नेप्से २६ सयभन्दा पनि माथि पुगेर करेक्शन भयो । नेप्से परिसुचक माथि जाँदै गर्दा कतिपय अल्पकालीन लगानीकर्ता र ट्रेडरहरुले बेच्ने क्रम अघि बढाए । नाफा बुक गर्नतर्फ लागको कारण बजारमा करेक्सन आएको नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार बताउँछन् । उनी भन्छन्, ‘बजार घटबढ् हुने त भइनैरहन्छ । यसलाई राजनीतिक वा अन्य घट्नासँग जोड्नुभन्दा पनि बजार कुन गतिमा बढेर कुन गतिमा घटेको छ ? त्यसलाई अध्ययन गरेर मात्र कारण पत्ता लगानुपर्छ ।’
शेयर बजार घटेको भए पनि कारोबार रकम भने उच्च नै रहेको कारण अहिले नै लगानीकर्ताले आत्तिनुपर्ने अवस्था नआएको अर्का जानकार प्रकाश तिवारी बताउँछन् । उनी भन्छन्, ‘बजारमा अहिले पनि केही बैंकबाहेक सबै बैंकमा प्रचुरमात्रामा तरलता रहको छ । शेयर लगानीको लागि निर्धारण गरिको बैंकको ब्याजदर पनि बढेको छैन् । यसकारण पनि बजारमा आत्तिनुपर्ने अवस्था आएको छैन् । लगानीकर्ताले आत्तिनुभन्दा पनि यस्तो बेलामा आफ्नो लगानी होल्ड गर्न सके लगानी घाटामा जानबाट बचिन्छ ।’
नेपाल उद्योग बाणिज्य महासंघको पुँजी बजार फोरमका सभापति अम्बिकाप्रसाद पौडेलले सामाजिक सञ्जालमा टिप्पणी गर्दै सेयर बजार घट्दैमा धैर्यता नगुमाउन आग्रह गरेका छन् । उनी भन्छन्, ‘पुँजी बजारमा धैर्यता गुमायौं भने सँगै ठूलो धन पनि गुमाउँछौं । गन्तब्य धेरै माथि छ । धैर्य लगानीकर्ता बनौं ।’
तर, सामाजिक सञ्जालमा लगानीकर्ताहरुको टिप्पणी हेर्दा सेयर बजारमा करेक्शन नभई ठूलै चलखेल भइरहेको छ । अहिलेको अवस्थामा बजार घट्ने कुनै कारण नभएकोले भन्दै उनीहरु यसलाई अस्वभाविक मान्छन् । शेयर बजार हल्लाको भरमा घटबढ हुने प्रवृत्ति भने बजारमा देखिन्छ । अर्कोतर्फ सेयर बजारमा हुने उतारचढावबाट लगानीकर्तामा पनि मात्तिने र आत्तिने बानी रहेको छ ।
आजको शेयर बजारको अवस्था
आज नेप्से सूचक ७९ दशमलव ७४ प्रतिशतले घटेर २४७४ दशमलव ३९ बिन्दुमा झरेको छ । आज २०७ कम्पनीको १ करोड ६० लाख १७ हजार ३२२ कित्ता शेयर किनबेच हुँदा आठ अर्ब ३५ करोड ५२ लाख ८९ हजार ८१४ रुपियाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले जानकारी दिएको छ ।
कारोबारमा आएको १२ समूहमध्ये ११ समूहको शेयरमा गिरावट आएको छ, भने होटल समूहको शेयर सामान्य बढेको छ । यस समूह ११.०८ अंकले बढेको हो । यता सबै भन्दा धेरै गुमाउने समूह अन्र्तगत लाईफ इन्स्योरेन्स कम्पनीहरु रहेका छन् । यस समूहको शेयर आज ६६४.८ प्रतिशतले घटेको छ ।
आज सबैभन्दा धेरै चन्द्रागिरि हिल्सका लगानीकर्ताहरुले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले आज ९.८१ प्रतिशतले कमाएका छन् । सबै भन्दा धरै गुमाउने कम्पनीमा गणपति माइक्रोफाइनान्स कम्पनी रहेको छ । यस कम्पनीको कारोबार आज सात प्रतिशतले घटेको छ ।