सक्छौ भने अविश्वासको प्रस्ताव ल्याएर हटाउः ओली, अबको चुनावमा दुईतिहाई ल्याउने दाबी

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले अविश्वासको प्रस्ताव ल्याएर आफूलाई प्रधानमन्त्रीबाट हटाउन नेकपाको प्रचण्ड–माधव समूहलाई चुनौति दिएका छन् । झापामा चीन–नेपाल मैत्री औद्योगिक पार्कको शिलान्यासपछि बोल्दै उनले यस्तो चुनौति दिएका हुन् । 

अबको चुनाबमा आफूले दुईतिहाई बहुमत ल्याएर देखाउने घोषणा गर्दै उनले भने, ‘ओलीलाई हटाएर देखाउनुहोस्, अविश्वासको प्रस्ताव ल्याउनुहोस् र हटाउनुहोस्, हटाउन सक्नुभएछ भने पनि दुई तिहाई लिएर आउँछु ।’

Advertisement

ओलीले संविधान परिमार्जनको खाँचो पनि औंल्याए । प्रतिनिधिसभा पुनस्र्थापना भएपछि संसद जितेर ल्याएको प्रचण्ड–माधव समूहले बताएकोप्रति आक्रोश पोख्दै उनले थपे, ‘संसद मुद्दा जितेर ल्याउनुभएको हो भने केपी ओलीलाई पनि हटाएर जितेर देखाउनुहोस् । केपी ओलीलाई हटाएर देखाउनुहोस् फेरि तीन करोड जनताको मन र मत जितेर जनताको सेवा गर्न फर्किनेछु।’ 

अहिले पनि आफू सही बाटोमा रहेको दाबी गर्दै ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाललाई झुसे बारुलाको संज्ञा दिए । ओलीले भने, ‘अहिले पनि हामी सही बाटोमा छौँ । झुसे बारुलाहरुले फूर्ति नलगाए हुन्छ । ‘संर्घष हाम्रो जीवन हो भन्ने हामीलाई राम्रो थाहा छ ।’ 

प्रधानमन्त्री ओलीले जनताले ल्याएको परिवर्तनको रक्षा जनताले नै गर्ने बताउँदै ओलीले जीवनमा कमै मात्र मुद्दा जितेको तर जनताको साथ भएपछि मुद्दा हारेर फरक नपर्ने बताए । 

उनले भने, ‘जीवनमा कमै मात्र मुद्दा जितेको छु । गल्ती गर्दिन तर मुद्दा हार्छु । आफू सही छु तर पनि मुद्दा हार्छु । त्यसैले अहिले सर्वोच्च अदालतमा हारेको मुद्दा पनि मेरो लागि अनौठो होइन ।’ 

Advertisement

Advertisement