नेपालले निकै कसरत गरेपछि बल्ल आजबाट चीनले केरुङ नाका खोल्यो

Advertisement

काठमाडौं । नाका खोल्न नेपाली पक्षले लामो समयदेखि गर्दै आएको आग्रहलाई उपेक्षा गर्दै आएको चीनले  सोमबारबाट बल्ल केरुङ नाका खोलेको छ । 

रसुवामा कुनै पनि कोरोनाको संक्रमण नरहेको कुरा आश्वस्त गरेपछि बल्ल चिनियाँ अधिकारीहरु नाका खोल्न तयार भएको हो । चीनतर्फका प्रमुख नाकाहरु नै लामो समयदेखि बन्द हुँदा चीनतर्फको नेपालको व्यापार चौपटक हुनुका साथै नेपाली व्यवसायीले किनेका करोडौं रुपियाँका सामानहरु चीनतर्फका भूभागमा महिनौदेखि अलपत्र परेका थिए । 

Advertisement

नेपाली पक्षको निकै लामो कुटनीतिक प्रयासपछि बल्ल चिनियाँ पक्ष नाका खोल्न सहमत भएको हो । चीनमा वसन्त उत्सव समाप्त भएसँगै ल्होसारदेखि बन्द रहेको केरुङ नाका आजदेखि खुलेको हो । नाका बन्द ह्ुँदा मुलुकको राजश्व संकलनमा समेत असर परेको थियो । 

परराष्ट्र मन्त्रालयले उत्तरी सीमा क्षेत्र, विशेषगरी रसुवामा कोरोनाको संक्रमण नरहेको कुरा स्पष्ट पारेपछि चिनियाँ अधिकारीहरु नाका खोल्न तयार भएको जनाएको छ । यस कार्यमा ल्हासास्थित नेपाली महावाणिज्य दूतावासले पनि निकै मेहनत गरेको थियो । रसुवा कोरोनामुक्त भइसकेको र भन्सार कार्यालय, सुरक्षा निकाय, ट्रक चालक र श्रमिकले कोरोनाविरुद्धको खोप लगाइसकेकाले महामारीको जोखिम नगण्य रहेको मन्त्रालयको भनाई छ । 

Advertisement

Advertisement