प्रचण्डलाई जुत्ता हान्ने रतन तिरुवाले खोले नयाँ दल

Advertisement

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई राष्ट्रिय सभा गृहमा जुत्ता हान्ने रतन तिरुवाले नयाँ दल खोलेका छन् । 

मंगलबार पत्रकार सम्मेलन गरेर उनले माक्सवाद, लेनिनवाद विचारधारालाई देशको वस्तुगत परिस्थिति अनुसार अघि बढाउने प्रतिवद्वताको साथ नेपाल श्रमिक पार्टी स्थापना गरेका हुन् । तिरुवा सो पार्टीको अध्यक्ष छन् । 

Advertisement

कार्यक्रममा बोल्दै उनले वर्तमान संकटलाई निकास दिनको लागि बहुसंख्यक श्रमिकहरुले एकपटक फेरी संघर्ष गर्नुपर्ने आवश्यकता औँल्याए । तिरुवाले भने, ‘वर्तमान संकटलाई निकास दिनको लागि नेपाल श्रमिक पार्टी स्थापना भएको छ ।’

उनले जातीय विभेद तथा छुवाछुतबाट दिनहँु हजारौँ मानिसहरु अपमानित हुनुपरेको दुखेसो पोखे । तिरुवाले महिलामाथि हुने शोषण तीव्र रुपमा बढ्दै गएकोमा चिन्ता व्यक्त गरे । ‘राज्यको पहुँचबाट टाढा रहेका जाति तथा समुदायको हकहित र अधिकार दिनप्रतिदिन खोसिरहेको अनुभुति भैरहेको छ’, तिरुवाले भने । 

उनले आजको युग र आवश्यकतालाई मध्यनजर गर्दै नेपाल श्रमिक पार्टी नेपाली श्रमजीवी वर्गका जनताहरुको हकहित र अधिकार सुनिश्चित् गर्नको निम्ति स्थापना भएको नयाँ राजनैतिक पार्टी भएको जिकिर गरे । उनले पार्टीको रणनीतिक लक्ष्य (वैज्ञानिक समाजवाद) साम्यवाद भएको बताए । र, मार्गनिर्देशक सिद्धान्त माक्सवाद, लेनिनवाद भएको पनि जनाईएको छ । विज्ञप्तिमा भनिएको छ, ‘नेपाल श्रमिक पार्टीले माक्सवाद, लेनिनवादी विचारधारालाई आफ्नो देशको वस्तुगत परिस्थिति अनुसार लागु गर्नेछ ।’

Advertisement

Advertisement