सुनको आपूर्ति बढाउन पहल गर्छुः मन्त्री भट्ट

Advertisement

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सुनको आपूर्ति बढाउन पहल गर्ने प्रतिवद्धता जनाएका छन् । बजारमा कच्चा सुनको अभाव देखिएपछि तत्काल आपूर्ति वृद्धि गर्न सुनचाँदी ब्यवसायीहरुले गरेको आग्रहपछि मन्त्री भट्टले समस्या समधानका लागि पहल गर्ने प्रतिवद्धता जनाएका हुन् । 

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा बिहिबार गएको सुनचाँदी ब्यवसायी महासंघको प्रतिनिधिमण्डलसँग भट्टले बजारमा देखिएको सुनको अभावबारे आफू पनि जानकार रहेको बताए । बजारको आवश्यकाअनुसार कच्चा सुन आपूर्ति नभए त्यसले कालोबजारीलाई समेत प्रोत्साहन गर्नसक्ने तर्फ सचेत रहनुपर्ने उनले औंल्याए । 

Advertisement

त्यस क्रममा शाक्यले बजारमा कच्चा सुनको चरम अभाव भएको उल्लेख गर्दै तत्काल समस्या समाधान गर्न आग्रह गरे । उनले सरकारले कोभिडका कारण भएको लकडाउनका क्रममा घटाएको कोटा अझै वृद्धि नगरेकोले अहिलेको समस्या आएको उल्लेख गरे । 

अहिले बजारमा दैनिक २५ देखि ३० किलोसम्म सुनको माग रहेकोले तत्कालका लागि सोही परिमाणमा सुन उपलब्ध गराउनुपर्ने आवश्यकता औंल्याउँदै शाक्यले आवश्यकता अनुसार कच्चा सुन सहजरुपमा उपलब्ध नहुँदा बजारमा अवैध रुपमा सुन भित्रिनसक्ने र त्यसबाट सरकारी राजस्व समेत गुम्ने खतरा रहेको बताए । 

पछिल्लो समय दैनिक १० किलो सुन आयात हुँदै आएको छ । लकडाउनअघि सामान्य समयमा दैनिक २० किलो र लगनको समयमा दैनिक २५ किलो सुन आउने गरेको थियो । 
 

Advertisement

Advertisement