नेपालको अर्थतन्त्र पहिलो पटक मन्दीमा, दुई त्रैमास निरन्तर ऋणात्मक वृद्धि

Advertisement

काठमाडौं । सरकारले आर्थिक वृद्धिदर ७ प्रतिशतको हाराहारीमा रहने दाबी गरिरहेका बेला मुलुकको अर्थतन्त्रमा पहिलोपटक मन्दी देखिएको छ । अघिल्लो र चालू आर्थिक वर्षको २ त्रैमास निरन्तर ऋणात्मक देखिएकाले मुलुकमा आर्थिक मन्दी भएको हो ।

अर्थशास्त्रीहरूका अनुसार लगातार २ त्रैमासमा आर्थिक वृद्धिदर ऋणात्मक बन्यो भने त्यसलाई मन्दी मानिन्छ । नेपाल राष्ट्र बैंक स्रोतका अनुसार केन्द्रीय तथ्यांक विभागको पछिल्लो तथ्यांकले मुलुक मन्दीमा गएको पुष्टि हुन्छ । स्रोतले नेपालको इतिहासमा यस्तो पहिलोपटक भएको जानकारी दिएको छ ।

Advertisement

गतवर्ष आवको चौथो त्रैमासिकमा कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर १५ दशमलव ४ प्रतिशत ऋणात्मक थियो । चालू आव २०७७–७८ को पहिलो त्रैमासमा समेत कुल गार्हस्थ्य उत्पादन वृद्धिदर ४ दशमलव ६ प्रतिशतले ऋणात्मक भएको तथ्यांकले देखाएको छ । गत आवको चौथो त्रैमासमा अर्थतन्त्र व्यापक रूपमा संकुचन हुँदा गत आवको कुल गार्हस्थ्य उत्पादन १ दशमलव ८८ प्रतिशतले संकुचित आएको छ । केन्द्रीय तथ्यांक विभागले आधार वर्ष २०००–२००१ लाई परिवर्तन गरेर २०१०–११ को बनाई यो तथ्यांक सार्वजनिक गरेको हो ।

अर्थतन्त्रले यति क्षति बेहोर्नु परेका कारण कोभिड महामारीले आर्थिक गतिविधिमा असर पारेकाले हो । कोरोना महामारीका कारण धेरै उद्योग बन्द रहेकाले तथा पर्यटन क्षेत्र सुस्ताएकाले आर्थिक वृद्धिदर घटेको हो ।

आर्थिक अभियान दैनिकबाट ।

Advertisement

Advertisement