कोरोना बीमाको दाबी करिव आधा मात्रै भुक्तानी

Advertisement

काठमाडौं । कोरोना बिमाको माग दाबी गर्नेहरूमध्ये ५६ प्रतिशतले भुक्तानी पाएका छन् । कोरोना बिमा दाबी भुक्तानीमा ढिलाइ गरेसँगै अर्थमन्त्रालयले समेत चासो लिएपछि कम्पनीहरू भुक्तानी दिन थालेका हुन् ।

बिमा समितिका अनुसार शुक्रबारसम्म ८४ हजार ८ सय ७४ जना सर्वसाधारणले दाबी भुक्तानीका लागि आवश्यक कागजात पूरा गरेका छन् । त्यसमध्ये ४८ हजार ६९ जनाले ४ अर्ब ६६ करोड ३० लाख रुपियाँबराबरको भुक्तानी पाएका छन् । भुक्तानी हुन बाँकी दाबीमध्ये ३ हजार १ सय १२ वटा स्वीकृतिको प्रक्रियामा रहेको, १० हजार ९ सय ४६ वटा दाबी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले छानबिन गरिरहेको, ४ हजार २ सय ३३ वटा दाबी महाशाखामा पठाउने तयारीमा रहेका छन् ।

Advertisement

यस्तै १४ हजार ३ सय ९३ दाबीउपर छानबिन भइरहेको र ३ हजार ६ सय ३९ वटा दाबी भुक्तानी कागजपत्र अपुग भएका कारण कम्पनीमा फिर्ता पठाइएको तथा ४ सय ८२ वटा दाबी भने भुक्तानी योग्य नरहेको समितिले जनाएको छ ।

महामारीको बिमा नहुने सिद्धान्तविपरीत बिमा समितिको दबाबमा नेपालमा कोरोना बिमा सुरु गरिएको थियो । कोरोना बिमा मापदण्ड, २०७७ जारी गर्दै निर्जीवन बिमा कम्पनीहरूले पुल बनाएर बिमा गर्ने व्यवस्था गरियो । सरकारले बजेटमार्फत घोषणा गरी कोरोना बिमालाई प्रोत्साहन गर्दै सामूहिक बिमा गर्दा ५० प्रतिशत अनुदान दिने व्यवस्था गरेको छ । यो व्यवस्थाका कारण छोटो समयमा धेरै कोरोना बिमा लेख बिक्री भयो ।

कारोबार दैनिकबाट ।

Advertisement

Advertisement