सर्वोच्चको फैसला मन त परेको छैन, तर स्वीकार्छौः प्रचण्ड–माधव समूह

Advertisement

काठमाडौं । सर्वोच्च अदालतले खारेज गरिदिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहले सर्वोच्चको आइतबारको फैसलालाई माग दाबीभन्दा बाहिर गएर राजनीतिप्रेरित फैसला भन्दै असन्तुष्टि जनाएको छ । प्रचण्ड–माधव समूहको सोमबार बसेको स्थायी कमिटि बैठकले सर्वोच्चको फैसलाको आलोचना गर्दै स्वीकार गर्ने निर्णय गरेको छ । 

उक्त समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले आफूहरु आफ्ना अलग अलग पार्टी माओवादी केन्द्र र एमालेमा रहने र सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरावलोकनमा जाने निर्णय स्थायी कमिटिले गरेको बताए । सर्वोच्चले नेकपालाई खारेज गर्दै एमाले र माओवादी केन्द्रमा फर्किन फैसला सुनाएपछि प्रचण्ड–माधव समूह निराश भएको छ भने केपी ओली समूह खुशी भएको छ । 

Advertisement

करिव तीन बर्षअघि माओवादी केन्द्र र एमाले एक भएर नेकपा बनेका थिए । तर, सोही नाममा दर्ता भएको ऋषि कट्टेल नेतृत्वको नेकपाले निर्वाचन आयोगको पार्टी दर्तासम्वन्धी निर्णयको विरोधमा सर्वोच्चमा रिट दायर गरेका थिए । 

छलफलले उक्त फैसला राजनीतिक प्रकृतिको रहेको भन्दै असहमति जनाउँदै पुनरावलोकनका लागि निवेदन दिने निर्णय गरेको श्रेष्ठले जानकारी दिए । उनले असहमति भए पनि सर्वोच्चको फैसला कार्यान्वयन गर्नुपर्ने भएकाले नेकपाको रुपमा यो स्थायी कमिटी बैठक अन्तिम हुनसक्ने पनि बताए । श्रेष्ठले भने, ‘यस प्रकारको बैठक यो अन्तिम पनि हुन सक्छ, सर्वोच्च अदालतको फैसला कार्यान्वयनको चरणमा जाने नै भयो ।’

Advertisement

Advertisement