पहिला डेपुटी गभर्नरको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरौं, अनि गभर्नर....: डा. निलम ढुँगाना

Advertisement

काठमाडौं । डा. निलम ढुँगाना तिम्सिना । अर्थात नेपाल राष्ट्र बैंककी पहिलो महिला डेपुटी गर्भनर । मुलुकको वित्तीय क्षेत्रलाई नियमन र व्यवस्थापन गर्ने महत्वपूर्ण ठाउँमा पुगेकी डा. ढुँगानामाथि काम गरेर आफ्नो क्षमता देखाउनुपर्ने चुनौति थपिएको छ । सानैदेखि अध्ययनमा उत्कृष्ट नजिता ल्याउँदै विद्यावारिधिसम्म गर्न सफल भएकी डा. जीवनको यात्रा आरोहअवरोहपूर्ण छ ।

ढुँगानाका बुबा माध्यमिक शिक्षाको निरीक्षक थिए । आमा स्कुलको शिक्षिका । आमा र बुबा दुवै शिक्षासेवी भएकाले उनलाई पढ्नुपर्छ, ठूलो मान्छे हुनुपर्छ भन्ने उत्प्रेरणा सानैदेखि भयो । घरमा बाताबरण सहज भएकोले र पढाईमा जेहेन्दार भएकाले डा. ढुँगानाले एकपछि अर्को कक्षा सजिलै चढ्दै गइन् । गाउँघरमा छोरीचेलीहरुले पढ्नेलेख्ने अनुकुल परिस्थिति त्यति धेरै नहुँदा पनि उनलाई त्यो खालको असहजता कहिल्यै आएन् । 

Advertisement

आमाबुबा धेरै पढेर सरकारी सेवामा लाग्नुपर्छ भनेर प्रेरणा दिइरहने र पढ्न प्रोत्साहित गरिरहने भएकाले डा. ढुँगाना पढ्न लेख्न अब्बल रहिन् ।  छोरी भएकाले घरधन्दा गर्नैपथ्र्यो । तर, पढाईलेखाईमा सम्झौता गर्नुपरेन् । ‘मैले घरको काम र पढाईलाई व्यालेन्स गर्दै अध्ययन जारी राखें’, उनी भन्छिन् । कलेज नै पढ्दासम्म पनि ढुँगानालाई सरकारी जागिर, त्यसमाथि राष्ट्र बैंकको अफिसर हुन्छु भन्ने सोच राखेकी थिइनन् । 

निलमको विद्यालय तहको अध्ययन आफ्नै गाउँ दमकको स्कुलमा भयो । आईकम पनि गाउँकै दमक क्याम्पसमा भएपछि बल्ल उनी बीकम अध्ययन गर्न विराटनगरको महेन्द्र मोरङ क्याम्पस पुगिन । उनले एमबीएका पनि विराटनगरबाटै पूरा गरिन् । कमर्स नै पढ्ने निलमको सानैदेखिको योजना होइन् । गाउँमै कमर्स क्याम्पस खुलेकाले सोही विषय समातिन् । छोराहरुलाई जस्तो काठमाडौं आएर रोजेको विषय पढ्न एउटा चेलीलाई त्यति सहज पनि थिएन् । 

उच्च शिक्षा हासिल गर्न निलम ढुँगानाले मेहनत गर्दै थिइन् । कलेज अध्ययनकै क्रममा उनलाई क्याम्पस पढाउने अवसर प्राप्त भयो । ‘मैले जुन क्याम्पसबाट पोष्ट ग्राजुयट गरें, त्यहीं पढाउन सुरु गरें’, ढुँगाना भन्छिन्, ‘जागिर सुरु गर्नुभन्दा अघिसम्म निकै आरोपअबरोह खेप्नुपर्यो । सहजताका दिनहरु गुजार्नुपर्यो ।’ यद्यपि श्रीमानबाट राम्रो साथ र माया पाएकाले सफलताको सिँढी चढ्न कठिनाई महशुस नभएको उनले बिगत सुनाइन् ।

डा. ढुँगानाले विराटनगरमा स्नाकोत्तर तहकालाई एकाउन्ट बिषय पढाउँदा उनका श्रीमान सोही कलेजमा अर्थशास्त्र पढाउँथे । श्रीमानका विद्यार्थीहरु सरकारी सेवामा निकै रुची राख्ने खालका थिए । उनीहरुले नै भने, तपाईं यत्रो ट्यालेन्ट मान्छे, राष्ट्र बैंकमा कर्मचारी मागेको छ, जाँच दिनु न ।’ त्यो सुझाव उनलाई ठिकै लाग्यो । ‘नत्र पत्रपत्रिका हेर्ने त्यति चलन पनि त्यो बेलामा थिएन्’, उनी सुनाउँछिन्, ‘यस्तो सरकारी जागिरमा चासो पनि हुँदैन्थ्यो ।’ 

श्रीमानका विद्यार्थीहरुले कुरा ननिकाल्दासम्म ढुँगानालाई राष्ट्र बैंक मात्रै होइन्, कुनै पनि सरकारी जागिरतर्फ चासो गएको थिएन् । सरकारी जागिर खान निकै कठिन होला भन्ने उनलाई लाग्थ्यो । त्यसमाथि राष्ट्र बैंक आउने त उनले कल्पनासमेत गरेकी थिइनन् । उनी भन्छिन्, ‘म कलेज पढाउनमै रमाएको थिएँ, राष्ट्र बैंकको जागिर खान्छु भन्ने त मैले एक रति पनि सोचेको थिइन् ।’ उनको पढाई विद्यार्थीहरुले निकै मन पनि पराउँथे । ट्युशन पढ्न आउन विद्यार्थीहरु हत्ते गर्थे । अरु क्याम्पसहरुले पनि बलाउँदा डा. ढुँगानामाथि निकै प्रेसर पनि बढ्दै गएको थियो । उनी भन्छिन्, ‘एकाउन्टेन्सीको निकै डिमाण्ड बढ्दै गएर होला, मलाई समय मिलाउनै कठिन हुँदै गएको थियो, मेरो पफमेन्स सबैतिर राम्रै भइरहेको थियो ।’ 

श्रीमानले पढाएका विद्यार्थीहरुकै सहयोगमा उनले २०५२ सालमा राष्ट्र बैंकको सहायक निर्देशक पदको फर्म भरिन र अध्ययन सामग्रीहरु पनि उनीहरुले नै संकलन गरेर दिए । खासै तयारी बिना नै हतार हतार ढुँगाना जाँच दिन काठमाडौं आइन् । तर, त्यो बेलाको राजनीतिक अस्थिरताका कारण परीक्षा नै हुन सकेन् । काठमाडौंबाट फर्किने क्रममा उनले सडकमा अधिकृत परीक्षाको गाइड फेला पारिन् । त्यही गाइड पढिन् । अरु पनि अध्ययन सामग्रीहरु संकलन गर्दै तयार गरिरहेको सन्दर्भमा २०५४ सालमा पुनः राष्ट्र बैंकले सहायक निर्देशकको पदका लागि विज्ञापन खोल्यो । 

त्यो बेलामा दरखास्त आव्हान अहिले जस्तो हरेक बर्ष हुँदैन्थ्यो । ढुँगानाले पहिलो पटक जाँच दिँदा परीक्षा नखुलेको ८ बर्षभन्दा बढि भइसकेको थियो । राष्ट्र बैंकको अधिकृतस्तरको जागिर खान खोज्नेहरु २०४६ सालदेखि नै आवेदन दिन पाएका थिएनन् । धेरै बर्षदेखि पदपूर्ति नभएकाले राष्ट्र बैंकमा जनशक्तिको पनि कमी भइसकेको थियो ।

राष्ट्र बैंकको परीक्षाको नजिता सार्वजनिक गर्यो । तर निलम ढुँगानालाई थाहै थिएन् । नजिता सार्वजनिक भएको केही दिनपछि अर्कैले जानकारी दिएपछि उनमा खुशीको सीमा रहेन् । राष्ट्र बैंकले असारमा जाँच लिएर असोजमा नजिता सार्वजनिक गरेको थियो । लिखितमा नाम निस्किएको चाल पाएपछि उनलाई पत्रिका खोज्न हतार भयो । पत्रिका फेला पारेर हेर्दा आफ्नो नाम पनि देखिन् । राष्ट्र बैंकमा कार्यरत र बाहिरका गरी कुल ४९ जना प्रवेश गरेको उक्त समयमा निलमको नाम १५औं नम्बरमा थियो । 

डा. ढुँगानाले जाँच दिँदा महिला सहभागिता निकै न्यून थियो । राष्ट्र बैंकभित्र पनि थोरै मात्रै महिलाहरु कार्यरत थिए । राष्ट्र बैंक प्रवेश गरेपछि काम गर्न सहज हुन्छ कि हुन्न होला ? भन्ने एक खालको कौतुहलता थियो । तर, प्रवेश गरिसकेपछि काम गर्न कुनै अप्ठ्यारो भएन् । सबै सहकर्मीहरुको सहयोग, समन्वय, सिनियरहरुको मार्गनिर्देशनमा उनले काम गर्दै गइन् । राष्ट्र बैंकको उपनिर्देशक, निर्देशक पदका लिखित परीक्षा पनि एकै पटकमा पास गर्दै माथि चढ्दै गइन् । आज उनी राष्ट्र बैंकको डेपुटी गभर्नर जस्तो उपल्लो तहमा पुग्ने पहिलो महिला बन्न सफल भएकी छन् । 

सहायक निर्देशक रहेकै बेलामा ढुँगानालाई अष्ट्रेलिया अध्ययन गर्न जाने अवसर प्राप्त भयो । नेपालमा एबीए गरेकी उनले अष्ट्रेलिया गएर अर्थशास्त्रमा राम्रो नजितासहित एमए अध्ययन पूरा गरिन् । जागिरकै दौरान उनले विद्यापारिधि पनि गरिन् । निलम भन्छिन, ‘जागिर र अध्ययन दुवै अघि बढाउन मैले निकै नै संघर्ष गर्नुपर्यो । धेरै मानिसहरु विदा लिएरै घर बसेर अध्ययन गर्छन् । तर, मैले दिउसो जागिर, राति राति पढेर भए पनि पीएचडी गरें । 

महिलालाई घर पनि सम्हाल्नुपर्ने बाध्यता हुन्छ । जागिर खाँदै घर सम्हाल्ने कुरा त्यति सहज नभए पनि डा. ढुँगानाले घर पनि सम्हाल्दै गइन् । यसमा पनि उनले श्रीमानको साथको स्मरण गरिन् । ‘घरव्यवहार उहाँले पनि हेर्ने भएकाले मलाई सहज भएको हो, नत्र गाह्रो थियो’, डा. ढुँगानाको जवाफ थियो, ‘सानोभन्दा सानो कुरामा सघाउनुहुन्छ । जबकी उहाँ पनि क्याम्पसमा प्राध्यापन गर्नुहुन्छ ।’ 

कुनै पनि संस्थामा सेवा गरेपछि त्यसको उच्च तहमा पुग्ने इच्छा हुनु स्वाभाविक हो । राष्ट्र बैंकको कार्यकारी निर्देशक हुनुअघिसम्म डा. ढुँगानालाई डेपुटी गभर्नर हुन्छ नै भन्ने लागेको थिएन । उनी भन्छिन्, सानो तहमा हुँदा आफूभन्दा माथिल्लो तहमा पुग्नेतर्फ मात्रै ध्यान जान्छ । तयारी पनि त्यसैका लागि हुन्छ । पहिला नै निकै माथि नै पुग्छु भन्ने मलाई थिएन् । सायद अरुलाई पनि त्यही हुन्छ होला । जब कार्यकारी निर्देशक भएँ, त्यसपछि भने आशा पलायो । कार्यकारी निर्देशकको अवधि सात बर्षको हुन्छ । त्यो अवधिमा त डेपुटी गभर्नर पद खाली हुन्छ । राष्ट्र बैंक भित्रबाटै हुने कुरा भएकाले मेरो पनि संभावना छ भन्ने लागेको थियो ।’

राष्ट्र बैंकको कार्यकारी निर्देशक भइसकेपछि डेपुटी गभर्नरका लागि त्यो व्यक्ति योग्य हुन्छ । डा. ढुँगाना योग्यता र क्षमता पनि भएकी एउटा उम्मेदवार थिइन् । सत्र जना योग्य उम्मेदवारहरुमध्ये वरिष्ठतामा उनी तेस्रो नम्बरमा थिइन् । त्यसमाथि एक मात्रै महिला उम्मेदवार । हरेक क्षेत्रमा समावेशिताको आवाज उठिरहेको बेला ढुँगानालाई सरकारको पनि साथ मिल्यो । गभर्नर महाप्रसाद अधिकारीले उनको नामसमेत सिफारिस गरेर पठाएपछि उनी निकै आशावादी भएकी थिइन् । 

पहिलो महिला डेपुटी गभर्नर भएर इतिहास रचेकी ढुँगानामाथि अब पहिलो महिला गभर्नर हुने चुनौति थपिएको छ । डा. ढुँगाना भन्छिन्, पहिला अहिलेको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरौं, त्यसले गभर्नर पनि हुने आशार तयार गर्ला नि त ।’ गभर्नरको जिम्मेवारी आयो भने कुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्नसक्ने क्षमता आफूसँग रहेको उनको आत्मविश्वास छ । 
 

Advertisement

Advertisement