आफूलाई लोडसेडिङको मतियार भन्नेलाई उर्जामन्त्रीको प्रश्न– ९९ बुँदे कार्ययोजना कस्ले ल्याको ?

Advertisement

काठमाडौं । नेकपा (एमाले)का मनोनित नयाँ केन्द्रीय सदस्य तथा उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री टोपबहादुर रायमाझीले अब सांसद र मन्त्री पद गएपनि आफूहरुले प्रधानमन्त्री केपी ओलीको साथ नछोड्ने स्पष्ट पारेका छन् । 

शनिबार रिपोर्टर्स क्लबमा रायमाझीले आफूहरुको लागि मन्त्री र सांसद पद ठूलो नभएको भन्दै सही विचार, सिद्धान्त र निष्ठाको राजनीति गर्ने र त्यो प्रधानमन्त्री ओलीसँग रहेकोले ओलीको साथ कुनैपनि हालतमा नछाड्ने स्पष्ट पारे । उनले भने, ‘मन्त्री र सांसद पद जान्छ भन्ने हामीलाई चिन्ताको विषय होईन, ज्यान त छँदैछ नि । हामीलाई केही चिन्ता छैन् ।’

Advertisement

रायमाझीले प्रधानमन्त्री ओलीले देशको विकास र समृद्धिको लागि सही एजेण्डा बोकेकोले आफूहरु एमाले पार्टीभन्दा पनि ओलीको विचारको पछि लागेको तर्क गरे। उनले तत्कालिन् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा अन्तरविरोध चर्किनुको कारण विचार र सिद्धान्तभन्दा पनि अर्को पक्षले पद र प्रतिष्ठाको लागि मात्रै विरोध गरेको टिप्पणी गरे । 

मन्त्री रायमाझीले अब आफूहरु कुनै पनि हालतमा नेकपा (माओवादी केन्द्र) मा नफर्किने दाबी गरे । उनले माओवादी केन्द्रलाई ‘डोरी जलिसकेको र अब गाँठोमात्रै बाँकी छ’को संज्ञा दिए । रायमाझीले प्रधानमन्त्री ओलीलाई तत्कालिन नेकपा (आफ्नै पार्टी)बाट सरकार र पार्टी चलाउन अवरोध गरिएको पनि आरोप लगाए । देशलाई अस्थिरतरताबाट बचाउनको लागि बाध्य भएर प्रधानमन्त्री ओलीले संसद् विघटन गरेको भएपनि अदालतबाट आफूहरुले मुद्दा हारेको रायमाझीले सुनाए । अर्को नेकपाको नामको विषयमा पनि आफूहरुले मुद्दा हारेको रायमाझीले सुनाए । 

उनले आफूले मोहनविक्रम सिंहको पार्टीबाट राजनीति सुरु गरेको भन्दै यो बीचमा विभिन्न कम्युनिष्ट घटक हुँदै माओवादीसम्म आईपुगेको र अहिले माओवादीबाट एमाले भएको सुनाए । आफू सही विचार र नीतिको राजनीति गर्ने व्यक्ति भएकोले अहिले ओलीले बोकेको विचार सही भएकोले यता लागेको पनि रायमाझीले स्पष्ट पारे । तर, कम्युनिष्ट पार्टी छोडेर कांग्रेस वा राप्रपामा भने नजाने उनले विश्वास दिलाए । रायमाझीले अब माओवादी केन्द्रमा कुनैपनि हालतमा फर्कने सम्भावना नरहेको दोहोर्याए । 

तपाईंले क्यान्टोनमेन्टको १९ अर्ब भ्रष्टाचार भएको कुरा उठाउनुभएको थियो, अहिले त मन्त्री हुनुहुन्छ, जनतालाई यो विषयमा अलिक प्रष्ट पारिदिनुहोस न भनेर पत्रकारले सोधेको प्रश्नमा मन्त्री रायमाझीले आफूले क्यान्टोनमेन्टको भ्रष्टाचारको कुरा प्रशंगबस उठाएको पनि स्पष्ट पारे । बुटवलमा आयोजित पूर्वजनमुक्ति सेनाहरुको भेला कार्यक्रममा प्रशंगवश त्यो कुरा उठेकोले आफूले पनि ‘यो विषय उठेको छ र यसको खोजीनीति हुनुपर्छ’ भनेको उनले सुनाए । 

रायमाझीले भने, ‘उहाँहरुले त्यो भेलामा यो कुरा उठाउनुभयो । व्यापक रुपमा यो विषय उठाउनुभयो । पहिले पनि उठिराखेकै थियो । त्यो उठिसकेपछि त्यहाँको एउटा नेताको हिसाबले मैले भन्नपर्ने कुरा आयो । हो, मैले भनेको कुरा के हो भने यस विषयमा कुनै न कुनै निकायबाट खोजबिज हुनेछ । मैले यत्ति भनेको हो । मैले आँफै उब्जाएर भनेको होईन । उठेको प्रश्नको मैले यसरी जवाफ आयो ।’
त्यसो भए क्याबिनेटले अब १९ अर्बको खोजी गर्दैन् ? भनेर पत्रकारले सोधेको अर्को प्रश्नमा उनले भने, ‘हामी त्यसको अध्ययनमा छौं । अब त्यो विभिन्न निकायबाट खोजी नीति होला, प्रश्न उठेको छ । त्यसको औचित्य र आवश्यकताको आधारमा त्यसलाई अगाडि बढ्छ होला ।’

फरक प्रसँगमा उनले आफूमाथि लोडसेडिङ गराएको आरोप लगाउने गरिए पनि त्यसमा कुनै सत्यता नभएको जिकिर गरे । बरु, आफू पहिलोपटक उर्जामन्त्री हुँदा ९९ बुँदे मास्टर प्लान ल्याएको र सोही गुरुयोजना अनुसार लोडसेडिङ अन्त्य गर्न मद्दत पुगेको दाबी गरे । उनले अब लोडसेडिङ हुने कुनै पनि सम्भावना नहरेको जिकिर गरे । आगामी भदौबाट नेपाल उर्जामा पूर्ण आत्मनिर्भर हुनेपनि उनले घोषणा गरे । 
 

Advertisement

Advertisement