धुम्बाराहीको आनन्दनगर सहकारीमा झण्डै रु. ५० करोड ठगी, टोलका एक हजारभन्दा बढि पीडित

Advertisement

काठमाडौं । धुम्बाराहीस्थित आनन्दनगर बचत तथा ऋण सहकारी संस्थामा स्थानीयले बचत तथा सेयरको रुपमा राखेको झण्डै ५० करोड रुपियाँ संस्थाका सञ्चालकहरुले हिनामिना गरेका छन् । 

उक्त रकम फिर्ता गर्न पटक पटक मौका दिए पनि अटेर गरेपछि पीडितहरुले उनीहरुविरुद्ध ठगी मुद्दा समेत हालेका छन् । आनन्दनगरका एक बासिन्दाले भने, ‘एउटै टोलका वासिन्दा हुन भनेर हामीले रकम फिर्ता गर्न मौका दिगौं, आग्रह गर्यौं, सम्झायौं । स्थानीयहरु आक्रोसित भएर विरोधमा उत्रिँदा पनि सम्झाएर अप्रिय घट्ना हुन दिएनौं । रकम फिर्ता गर्नुको सट्टा अहिले आलटाल गर्ने काम भएको छ ।’
 
अधिकांश स्थानीय बासिन्दा सदस्य तथा निक्षेपकर्ता रहेको उक्त सहकारीका सञ्चालकहरुले ठूलो रकम दुरुपयोग गर्दा संस्थाका ९९९ जना निक्षेपकर्ता र ६७९ जना सेयरधनी पीडित भएमा छन् । पीडितहुनेमा पूर्वउपराष्ट्रपति परमानन्द झा, नेपाल सरकारका पूर्वसचिव श्याम मैनालीदेखि साना पेशा व्यवसाय गर्ने न्यून आयस्तरका मानिसहरुसम्म छन् । 

Advertisement

गत बर्ष सदस्य र निक्षेपकर्ताहरु विरोधमा उत्रिएपछि डराएर सात जनाले आफ्नो घरजग्गा संस्थाको नाममा दृष्टी बन्धक राख्न तयार भए पनि छ जनाले आनाकानी गर्दै आएको, पीडितहरु थकित हुँदै गएपछि ठगहरु विस्तारै पलायन हुने, राजनीतिक संरक्षण खोज्दै हिँडने, पीडितहरुलाई धम्क्याउने, आफ्नो घरजग्गा दृष्टी बन्धक नराखियोस् भन्दै पुनरावेदन गर्नेसम्म काम गरेका छन् । 

स्थानीय भन्छन्– जतिसुकै राजनीतिक संरक्षण र जालझेल गरे पनि जनताको पैसा ठगेर भाग्ने अवस्था उनीहरुको छैन् । सञ्चालक समितिबाट हटाउँदैमा उनीहरुको सम्पत्ति लिलाम पाइँदैन भन्ने ठगहरुको मागलाई पुनरावेदन अदालतले पक्कै सदर नगर्ला । 

यस कार्यमा संलग्न हुने मुख्य दोषीहरुमा संस्थाका पूर्वअध्यक्ष बद्रीप्रसाद ओझा (उनको मृत्यु भइसकेको), निवर्तमान अध्यक्ष नरेन्द्रबहादुर कार्की, निवर्तमान उपाध्यक्ष शम्भुराज आचार्य, निवर्तमान सचिव प्रदीप पौडेल, निवर्तमान कोषाध्यक्ष प्रदीप खड्का र सञ्चालक समितिका निवर्तमान सदस्यहरु होतराज शर्मा, लक्ष्मण प्रधान, शारदा पन्त, केशव घिमिरे, दिपुराज उपाध्याय छन् । 

के के गरियो ?  
२०६५ सालदेखि सञ्चालनमा रहेको आनन्दनगर सहकारी सस्थाबाट व्यक्तिगतरुपमा जग्गा किन्न, कम्पनीको सेयर किन्न, आफू खुशी ऋण दिन तत्कालिन सञ्चालक सदस्यहरुबाट करोडौं रुपियाँ अपचलन भएको देखिन्छ । सर्वसाधारण जनताको रकम फिर्ता गर्नुपर्ने दबाब बढेपछि टाढिँदै आएका उनीहरुले रकम पचाउने नियतले हालै उच्चअदालतमा परमादेशको आदेशमार्फत कानूनी निकायबाट सो सम्बन्धमा कुनै कारवाही, अनुसन्धान, छानवीनसमेत गर्न नपाउने गरी रोक लगाउन माग गरेका छन् ।

गत वर्षबाट बचतकर्ताहरूले आफ्नो रकम भुक्तानी माग्दा पाउन छोडेपछि संस्थाभित्रको बदमासी बाहिर आउन थालेको थियो । त्यसपछि संस्थाका व्यवस्थापक भारततर्फ भागेका थिए, निजलाई प्रहरीमार्फत झिकाई छलफल गर्दा संचालकहरू सम्पूर्ण र कर्मचारीहरू सबै मिलि आर्थिक बर्ष २०६८–६९ देखि गलत लेखापरीक्षण प्रतिवेदन तयार पार्दै ठगी हुँदै आएको तथ्य खुलेको थियो । पीडितहरूले उनीहरूविरुद्द जाहेरी दिने तयारी गरेपछि तत्कालिन संचालकहरूले आफ्नो जिम्मेवारीमा निज व्यवस्थापकलाई प्रहरीबाट निकाली पीडितहरूको रकम भुक्तानी गर्ने आस्वासन दिएका थिए ।  

यस विषयमा मिति २०७६ फागुन २३ गते सम्पन्न साधारण सभामा तत्कालिन सञ्चालक र पूर्वसंचालक समेत गरी सात जनाले कानपा ४ आनन्दनगर र धुम्बाराहीस्थित घरजग्गा पीडितहरूको रकम भुक्तानी गर्ने सुरक्षाका लागि स्थानीय तहका प्रतिनिधिः वडा अध्यक्ष र सदस्यहरू समेतको उपस्थितिमा दृस्टी बन्धक गरिदिने सर्तमा मन्जुर गरी मालपोत कार्यालयमा गई २०७६ चैत्र ६ दृष्टी बन्धक पनि गरे । 

केही संचालकहरूले सम्पूर्ण रकम माघ मसान्तसम्म भुक्तानी गर्ने लिखित र मौखिकरुपमा पटक पटक प्रतिवद्धता गरे पनि हालसम्म १० प्रतिशत रकम मात्र पीडितहरूले दामासाही हिसावले प्राप्त गरेका छन् । रकम भुक्तानी गर्न आग्रह गर्दा आनाकानी गर्ने, आफूहरूको  सम्पर्कभन्दा बाहिर रहने, अदालतमा मुद्दा गरेर समय लम्ब्याउने र सकेसम्म रकम फिर्ता नगरी पचाउने योजना बनाएको पीडितहरुको भनाई छ । 

कुन कुन वर्षबाट ठगी भयो ? भन्नेबारे अनुसन्धानात्मक लेखापरीक्षण ३ वर्ष आठ महिना अवधिको सम्पन्न भई प्राप्त प्रतिवेदनमा तत्कालिन सञ्चालक र कर्मचारीसमेतको मिलिभगतमा रकम अपचलन र दुरुपयोग भएको उल्लेख छ । 

पीडितहरुलाई विश्वास दिलाउन संस्था नाफामा गएको नक्कली विवरण तयार गरी साधारण सभामा मुनाफाको केही प्रतिशत र यातायात खर्च समेत दिई, साँझमा भोजको समेत आयोजना गरी निक्षेप तथा सेयर लगानी बढाउन आग्रह गर्ने काम केही वर्षदेखि हुँदै आएको थियो । 

सस्थाको नामको र व्यक्तिगत चेक भुक्तानी नै नमिल्ने गरी काट्ने जस्ता चेकको अनादर र बकिङ कसुरसम्बन्धी अपराध उनीहरुबाट सहजै हुँदै आएको थियो । बैंकिङ कसूरमा संस्थाका व्यवस्थापक लोकनाथ सापकोटा हाल प्रहरी हिरासतमा रहेका छन् ।,सञ्चालकहरूले दिएका चेकहरूमा समेत सोही समस्या रहेकाले पीडितहरू भुक्तानी नपाएर अप्ठेरोमा पर्दै आएका थिए । 

व्यवस्थापकसँग सञ्चालकले मिलिभगत गरी ठगिएको रकम कर्मचारीको जिम्मामा पार्ने र आफूले गरेको ठगीबाट उन्मुक्ति पाउने प्रपञ्च रचेर व्यवस्थापकविरुद्द आपसी समझदारीमा ३९ करोडको चेक काटन लगाई सोको भुक्तानी हुननसक्ने परिस्थिति बनाई अदालतमा चेक अनादर मुद्दा दर्ता गरेको समेत पीडित पक्षको भनाई छ । 

विभिन्न मितिका संचालक समितिको निर्णय  र गत फागुनको विशेष साधारणसभाबाट ठगीमा संलग्न सञ्चालकहरूले स्वतःस्फुर्तरुपमा यो रकम भुक्तानी गर्ने पदीय र नैतिक जिम्मेवारी आफूहरूको भएको स्वीकार गरी माइन्युटमा सही गरेको देखिन्छ । माइन्युटको प्रतिलिपिको अंश तल)

साथै, धितो बिना करोडौं रुपियाँ ऋण दिएको लेखापरीक्षणबाट देखिएको छ । राखिएका धितोहरू पनि सस्थामा रिकर्ड नराखी ऋण भुक्तानी भएको, त्यस्तो धितोहरु ऋण भुक्तानी भइसकेको भन्दै सम्बन्धित मालपोत कार्यालयमा पत्राचार गरी फुकुवा गर्ने काम भएको प्रतिवेदनले औंल्याएको छ । 

ऋणी नरेन्द्र चन्दको धितो राखिएको नवलपरासीको जग्गा फुकुवा गरी बिक्री समेत भएको छ । चन्दबाट रु ६४ लाखको कागज बनाई तनहुँको डुम्रे नजिक नाला भन्ने स्थानमा संचालकमध्येका प्रदिप पौडेलका नाममा करीव दुई रोपनी घडेरी पास गर्ने काम भएको छ । पौडेलले पटक पटक सो जग्गा सहकारी कै भएको स्वीकार गर्दै आपसी सल्लाहमा नरेन्द्रका श्रीमती र भाईको नामबाट लिखत बदर मुद्दासमेत हाल्न लगाएका थिए । 
 
रकम अपचलनमा संलग्न सञ्चालकहरुले लामो समयदेखि करीव २० करोड रुपिया व्यक्तिगत खातामा राखी अपचलन गर्दै आएका देखिन्छ । उनीहरुले सस्थामा रकम नै जम्मा नगरेका केही व्यक्तिहरूको नाममा मोटो रकम प्रविस्ट गरी संस्थालाई ठग्दै आएका पनि देखिएको लेखापरीक्षणबाट देखिएको हो । 

सञ्चालकहरुले ऋण प्रवाह गर्दा प्रक्रिया नपुर्याई, अचल सम्पती धितो  र व्यक्ति  जमानी समेत नराखी प्रायः सबै ऋण असुली नहुने परिस्थिति सिर्जना गरेको संस्थाका सदस्यहरुको भनाई छ । ऋणीहरूसँग रकम माग गर्ने मनोवल समेत उनीहरुमा नदेखिएको भन्दै एक सदस्यले हालसम्म एक वर्षमा उठेको रकम पीडितहरूकै क्रियाशिलताबाट उठेको बताए । 
 
उनीहरुले संस्थाको कार्य क्षेत्रभन्दा बाहिरकालाई पटक पटक ऋण प्रवाह गर्ने गरेको देखिन्छ । धुलिखेलका रविन्द्र श्रेष्ठलाई मोटो रकम ऋण प्रवाह गरी सोको धितोको रुपमा हरिवन नगरपालिका सर्लाहीको तीन बिघा जग्गा सस्थाका अध्यक्ष नरेन्द्रबहादुर कार्कीको नाममा राखिएको देखिन्छ । सो जग्गा लखन्ती खोलाको बगर भेटिएको छ । 

छानबिनका क्रममा सञ्चालकहरुको सात जटा डायरी पनि भेटिएको छ । उक्त डायरीमा सस्थाको रकम अपचलन गर्न संलग्न संभावित धेरै व्यक्तिको नाम लेखिएको ती सदस्यले बताए । डायरीमा उनीहरुले बुझिलिएको रकम समेत उल्लेख गरिएको छ ।

सस्थाका उपाध्यक्ष, व्यवस्थापक र स्थानीयवासी राजेन्द्र पाण्डेले हेटौडास्थित पोलिप्याक्स फ्याक्ट्रीको छ करोडको सेयर सहकारी कै रकम अपचलन गरी खरिद गरेको पनि खुलेको छ । पीडितहरुका अनुसार यो विषय उठान गरेपछि उनीहरुले सो सेयर सस्थालाई दिने करारनामा ४ नम्वर वडामा गई पारित गरिदिएका छन् । अहिले राजेन्द्र पाण्डेले सो सेयर दिन आनाकानी गर्दै आएको पीडितले बताए । 

त्यस्तै, शम्भु आचार्यले सस्थाको रकम समेत अपचलन गरी पोलिप्याक्सका अध्यक्ष निगेन्द्र न्यौपानेसँग मिलिभगत गरी काभ्रेको भैसेपाटीमा जग्गा प्लटिङ गरी सो जग्गामध्ये केही आफ्नै श्रीमतीको नाममा पास गरेको, सोही जग्गा सहकारीमा राखी ५० लाख रुपियाँ संस्थाबाट ऋण लिएको, पछि सो जग्गा बिक्री गरेको बुझिन आएको छ । 

तत्कालिन सञ्चालकहरूले दशैंमा नयाँ नोटहरू सहकारीको रकमबाट सटही गरी लैजाने तर त्यो रकम भुक्तानी नगरेको पनि देखिएको छ । नारायणी केसीले उनको पदावधि समाप्त भएपछि पनि सस्थाको सानिमा बैंकमा रहेको ००१००००५१९९०१ बाट २० लाख रुपियाँको चेक काटेको तर बचतकर्ताले सो रकम भुक्तानी पाउन नसकेको देखिएको छ । 

हाल तीन वर्ष आठ महिनाको मात्र लेखापरीक्षण गरिएकोले अझै कतिपय बदमासी खुल्न बाँकी रहेको संस्थाका सदस्य बताउँछन् । वर्तमान सञ्चालक समितिले बाँकी अवधिको लेखापरीक्षण गराई यथार्थ विवरण तयार पर्ने उनीहरु बताउँछन् । 

संस्थाबाट ठगिनेमा मानवअधिकारवादी, प्राध्यापक, अधिवक्ता,  मन्दिर, पुस्तकालय, टोल सुधार समिति, सडक सफा गर्ने गरिव निमुखाहरूसमेत छन् । तत्कालिन सञ्चालकहरूले पदावधि सकिएपछि पनि चेकमा सही गर्दै रकम अपचलन गरेको भन्दै पीडितहरुले संगठितरुपमा यस्तो ठगी गर्नेहरुलाई कडाभन्दा कडा कारवाही गरी आफूहरुको रकम अशुलउपर गर्नुपर्ने बताउँछन् । 

Advertisement

Advertisement