मनमोहन अस्पताल चरम आर्थिक संकटमा,  ठमेल आउटलेट बन्द, पाण्डेलाई निकाल्न चर्को दबाब

Advertisement

काठमाडौं । नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेडले सञ्चालन गरेको मनमोहन मेमोरियल सामूदायिक अस्पताल चरम आर्थिक संकटमा परेको छ । दुई हजार ६२१ जना शेयर सदस्य रहेको यो सहकारी सञ्चालन भएको १५ वर्षसम्म लगानीकर्ताले एक रुपियाँ प्रतिफल पाएका छैनन् भने भएकै हस्पिटलले सेवा पनि दिन नसकेका कारण संस्था चरम आर्थिक संकटमा फसेको छ । जसका कारण सहकारीमार्फत मनमोहन अस्पतालमा लगानी गरेका सर्वसाधारणदेखि बैंक तथा वित्तीय संस्थासम्मको लगानी जोखिम चुलिदैँ गएको छ ।

सहकारी संस्थाले यसको सबैभन्दा ठूलो प्रोजेक्टको रूपमा २०७० सालदेखि स्वयम्भूमा तीन सय बेड क्षमताको मनमोहन मेमोरियल सामूदायिक अस्पताल सञ्चालन गरेको छ । योसँगै ठमेल, सोल्टीमोड, धादिङ, झापासहितका आउटलेटमा गरेको लगानी पनि समस्यामा छ । 

Advertisement

संस्थाले सञ्चालन गरेको यसका आउटलेटबाट लाभ लिन नसकेको र सरकारले मनमोहन मेमोरियल मेडिकल कलेजलाई हालसम्म सम्बन्धन नदिएका कारण सहकारी संस्था बार्षिक १५ करोड रुपियाँ भन्दा बढीको घाटामा छ । यो संस्थाको लेखापरीक्षण प्रतिवेदन अनुसार गत आर्थिक वर्ष २०७६–७७ को एक वर्षमा मात्रै १५ करोड २४ लाख ८९ हजार ४४३ रुपियाँ घाटामा रहेको छ । यस्तो घाटा अघिल्लो वर्ष २०७५–७६ मा पाँच करोड १८ लाख ६४ हजार ६७६ रुपियाँ थियो ।

मेडिकल कलेज सञ्चालन गर्न दिने गरी सरकारले नै लेटर अफ इन्ट्रेस (एलओआई) दिएपछि अर्बौंको लगानी भएको र सञ्चालन गर्ने समयमा आइपुगेपछि सम्बन्धन नदिएपछि समस्या परेको नेपाल स्वास्थ्य सेवा सहकारी संस्थाका सचिव डा. रामकुमार अधिकारीले बताए । अधिकारीले कर्पोरेट नेपालसँग भने ‘सरकारले सम्बन्धन नदिएकै कारण अर्बौंको सम्पती खेर गइरहेको छ भने बैंक तथा वित्तीय संस्थाको ऋण तिर्न नसक्ने अवस्थामा पुगिसकिएको छ।’

अधिकारीले आगामी असारसम्म पनि सरकारले मनमोहन मेमोरियल अस्पताल किनिदिने वा मेडिकल कलेजलाई सम्बन्धन नदिने हो भने यसका दुई हजार ६२१ लगानीकर्ता अनसनमा बस्नुपर्ने बस्नुपर्ने स्थितिमा पुगेको बताए । 

डाक्टर अघिकारीले भने ‘सरकारले अझै बेवास्था गरिरहे असारपछि सहकारीले अस्पताल सञ्चालन गर्न नसक्ने हुँदा बाध्य भएर हामी आमरण अनसनमा बस्नुपर्ने हुन्छ ।’ उनी थप्छन्, ‘सरकारले अझै बेवास्था गरिरहे असारपछि सहकारीले सञ्चालकसहित हामी आफैं बाध्य भएर  आमरण अनसनमा बस्नुपर्ने अवस्थामा पुगेका छौं।’ 

अहिलेसम्म लगानीकर्तालाई कुनै प्रतिफल नदिइ जसोतसो बैंक ऋणको किस्ता तिर्न सकेको भए पनि कोभिड १९ महमारीपछि भने अस्पतालको आर्थिक अवस्था दयनीय हुँदै गएको  छ। अहिले १५ करोड घाटामा रहेको यो संस्था चालू आर्थिक वर्षपछि भने बार्षिक २५ करोड भन्दा बढीले घाटामा जाने अनुमान अधिकारीले गरे ।

मेडिकल कलेज सञ्चालन संस्थाले बैंक तथा वित्तीय संस्थाबाट सवा दुई अर्ब ऋण लिइएको छ । उक्त ऋण चुक्ता गर्न अब भौतिक सम्पति नै बेच्नुबाहेकको कुनै विकल्प नै नभएको निष्कर्ष सहकारीले निकालेको छ । सहकारीले गत २५ पुस २०७७ का लागि तय गरेको १४ औं र १५ औं बार्षिक सभा गर्न तयार गरेको प्रतिवेदन अनुसार संस्थाको भौतिक सम्पत्ति बेचेर ऋण तिर्ने र सानो आकारमा सञ्चालन गर्ने भन्ने उल्लेख छ ।

आर्थिक समस्या टार्न सम्पति बिक्रीका लागि तयार रहेको र आव्हान पनि गरिसकेको भए पनि हालसम्म यसका कुनै पनि क्षेत्रको सम्पत्ति खरिद गर्ने कुनै निकाय इच्छुक नभएको अधिकारी बताउँछन् ।  उनका अनुसार स्वयम्भूमा र दहचोकमा रहेको मेडिकल कलेज तथा अस्पतालको भवनसहितको सम्पत्ति बिक्री गर्ने पहिलो प्रयास भएको छ । यो बाहेक अन्य विकल्प पनि तय गरेर भौतिक सम्पत्ति बेचेरै ऋणको दायरा कम गर्ने प्रयास थालिसकिएको छ । यसको कुनै ठाउँको सम्पत्ति बेच्ने र ऋण घटाउने गरी योजना अगाडि बढिरहेको उल्लेख छ ।

स्वास्थ्य सहकारीले स्वयम्भूमा रहेको भवनसहितको संरचना करिब दुई खर्ब ८८ करोड ७१ लाख रुपियाँ अनुमान गरिएको छ । ४५८ आना जमिनसहितको भवनलाई बिक्री गर्ने र यसका अन्य आउटलेट भने चलाउने विकल्प पनि संस्थाले अगाडि सारेको छ । सरकारले सम्बन्धन पनि नदिने र सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेपछि बिक्री गर्न खोज्दा पनि बिक्री नहुने अवस्थामा पुग्नु अहिलेको ठूलो समस्या भएको पनि अस्पताल स्रोतको भनाइ छ । 

ठमेल आउटलेट बन्द 
नेपाल स्वास्थ्य सेवा सरकारी संस्थाले सञ्चालन गरेको पहिलो आउटलेट ठमेलको १०० शैय्याको मनमोहन मेमोरियल सामूदायिक अस्पताल बन्द भएको छ । १ जेठ २०६३ देखि सञ्चालनमा आएको यो अस्पताल आर्थिक संकटमा परेकै कारण १ कात्तिक २०७७ देखि औपचारिक रूपमै बन्द छ । सरकारले कोभिड १९ महामारीको जोखिम रोकथाम तथा न्यूनीकरण गर्न ११ चैत २०७७ देखि गरेको लकडाउन (बन्दाबन्दी)पछि यो अस्पताल सञ्चालनमा आउन सकेन् ।

ठमेलसँगै झापाको मनमोहन मेमोरियल पूर्वाञ्चल क्षेत्रीय सामूदायिक अस्पतालको पनि लाइसेन्स नवीरकण भएको छैन् । स्वास्थ्य सेवा सहकारीको पहिलो आउटलेट मनमोहन मेमोरियल सामूदायिक अस्पताल अब कहिल्यै नखुल्ने गरी बन्द भएको छ । अस्पतालका सम्पूर्ण सेवा स्वयम्भूमा सारिएको सूचना ठमेलमा टाँस गरिएको छ । यो अस्पतालको लाइसेन्स ३२ असार २०७५ पछि नवीकरण भएको छैन् । त्यहीँ कारण पनि अस्पताल हाल औपचारिक रूपमै बन्द छ । अस्पतालमा कार्यरत करिब ८० जना कर्मचारी सबैलाई अस्पताल व्यवस्थापनले एकपछि अर्को बहाना बनाउँदै निकालेको छ ।

अस्पताल प्रशासनले २०७६ फागुनदेखि नै कर्मचारीलाई तलब दिएको थिएन् । कर्मचारीले आफूले काम गरेको संस्थाले सेवा सुविधा र तलबभत्ता माग गरेर ११ साउन २०७६ देखि १७ दिनसम्म गरेको रिले अनसनपछि जम्मा दुई महिनाको मात्रै तलब पाएका थिए । उक्त अस्पतालमा कार्यरत कर्मचारीलाई ६ महिनाभित्र खाइपाई आएको सबै तलब र सेवा सुविधा दिने गरी व्यवस्थापनले सम्झौता गरेको भएपनि आफैंले काम गरेको समयको पैसा लिन श्रम ऐन अनुसार श्रम अदालत नै जानुपरेको अस्पतालका कर्मचारी युनियनका सचिव निर्मणमणि पोखरेलले बताए । कर्मचारीले कानूनअनुसार पानुपर्ने सुविधा माग गरेको भएपनि एक वर्षको संघषंपछि कात्तिक २०७७ मा तलब पाएको बताउँदै उनले श्रम ऐन अनुसारको सेवा सुविधाका लागि संघर्ष भने चलिरहेको बताए ।

अस्पताल व्यवस्थापकले भने कर्मचारीलाई तलब नै नदिन निकाल्ने प्रयास पटक पटक गरेको त्यहाँ कार्यरत कर्मचारी बताउँछन् । अस्पतालले कर्मचारी कटौती गरेको ३५ दिने सूचना २५ माघ २०७६ देखि हुलाकमा पठाएको भए पनि कतिपय कर्मचारीले भने एक वर्षसम्म पनि त्यसको जानकारी नपाएको अर्का कर्मचारी वर्षा जोशीले बताइन् । उनले भनिन्, ‘अस्पतालले पाउनुपर्ने तलब पनि ९० प्रतिशत शेयरमा रूपान्तरण गर्ने प्रस्ताव गरेको थियो । यस्तो प्रस्ताव अस्वीकार गरेको र कर्मचारीले पाउनुपर्ने तलब भत्ता, श्रम ऐन अनुसारको सबै सेवा सुविधा दिनुपर्ने माग अझै उठाइरहेका छौं ।’

नयाँ सञ्चालक चयनमा बिवाद
सहरकारी संस्थाले २५ पुस २०७७ मा तय गरेको साधारण सभासँगै हुने सञ्चालक समितिका लागि तय हुने नयाँ सञ्चालक समितिको लागि विवाद भएको छ । सहकारीको १५ वर्षदेखि नेतृत्व गर्दै आएका हालका अध्यक्ष राजेन्द्र पाण्डेले पुनः नेतृत्व दाबी गरेका छन् । पाण्डले बर्षोदेखि एकलौटी चलाइरहेको यो सहकारीमा नयाँ सञ्चालक समिति अध्यक्ष ल्याउन खोज्दा विवाद भएको छ । पाण्डेले पुनः आफू र मतहतका सदस्यलाई नै राख्ने गरी सेटिङ गरेको आरोपसहित यसका केही शेयर सदस्यले विरोध गरेका छन् । उक्त विरोधपछि पटकपटक सर्दै आएको नयाँ सञ्चालक समितिको निर्वाचन आगामी २१ चैतलाई तोकिएको सहकारी संस्थाले जानकारी दिएको छ ।

वागमती प्रदेश सभा सदस्य तथा धादिङका एमाले नेता पाण्डे अध्यक्ष रहेको यो सहकारीले सञ्चालन गरेको अस्पताल तथा यसका आउटलेट एकपछि अर्को समस्यामा पर्दै गएका छन् । पाण्डे राजनीति गर्दै हिँड्ने र संस्था राम्रोसँग चलाउन पनि नसक्दा दुई हजार ६२१ जनाको लगानी डुब्ने अवस्थामा पुगेको सहकारीकै एक सञ्चालक बताउँछन् । राजनीति गर्नेले संस्था चलाउन हुँदैन भनेर आफूले भनेर यस पटकबाट सचिव पद छोडेको र पाण्डेलाई पनि संस्था ओगटेर नबस्न दिएको सुझाव नमानेका कारण विवाद भएको सहकारी संस्थाका सचिव डा. रामकुमार अधिकारी बताउँछन् ।

सरकारीमा १५ वर्ष अगाडि एक लाख ११ हजार लगानी गरेका ठमेलका एक पर्यटन व्यवसायी गणेश सिंखडका अनुसार पाण्डेको नेतृत्व क्षमता कमजोर भएको र संस्थालाई आफू अनुकुल सञ्चालन गर्दा पछिल्लो समय एकपछि अर्को समस्या आइरहेको बताउँछन् । सिंखडाले भने ‘लगानीकर्ताले अहिलेसम्म एक रुपियाँ प्रतिफल नपाउने, संस्था घाटामा जाने तर यसका अध्यक्षसहितका सीमित व्यक्तिले मात्रै लाभ लिइरहेने गरी काम गरेको देखिन्छ ।

सहकारीमा अहिलेसम्मका विकृति रोक्न र आगामी दिनमा संस्थालाई जोगाउन पनि यसको सम्पत्ति बेचर ऋणमुक्त हुने अनि बाँकी संरचना चलाउन नयाँ व्यक्तिले नेतृत्व गर्नुपर्ने बताउँछन् । संस्थामा पाण्डेलाई हटाएर नेतृत्व गर्न सिंखडा तयार बसेका छन् । संस्थाले आगामी २१ चैत २०७७ का लागि तय गरेको सञ्चालक समितिको निर्वाचनका लागि अध्यक्षमा दावेदारी पेश गरेका छन् । संस्थाको गतिविधिसहितको विषयमा सम्पर्क गर्न खोज्दा अध्यक्ष पाण्डे सम्पर्कमा आउँन चाहेनन् ।

Advertisement

Advertisement