दुई पुनर्बीमा कम्पनी थप्नु पर्ने अध्ययन समितिको निश्कर्ष, कुनले पाउलान् लाइसेन्स ?

Advertisement

काठमाडौं । नेपालमा हाल एकमात्र पुनर्बीमा कम्पनी(नेपाल पुनर्बीमा कम्पनी) छ । बीमा समितिमा अरु ४ वटा प्रस्तावित कम्पनीले दर्ताको लागि आवेदन दिएका छन् । काठमाडौँ, जेन्यूयन, प्रुडेन्सियल र अन्नपूर्ण रि लाइसेन्स कुरेर बसेका हुन् । नयाँ पुनर्बीमा कम्पनी थपिएला कि नथपिएला भन्ने विषय अहिले चर्चामा छ । 
 
यता, बीमा समितिले भने अध्ययनपछि मात्रै लाइसेन्स दिने भन्दै ३ सदस्यीय अध्ययन टोली गठन गरेको थियो । सो समितिले गत बुधबार बीमा समितिमा अध्ययन प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा २ वटा कम्पनीलाई मात्र लाइसेन्स दिनु उपयुक्त हुने निश्कर्ष सहित सुझाव दिइएको श्रोतले जनाएको छ । 

बीमाशुल्क स्वदेशमै रहने सम्भावना
बीमा बजारमा नयाँ पुुनर्बीमा कम्पनी थपिनु नथपिनुले ठूलो अर्थ राख्छ । पुनर्बीमा कम्पनी थपिदा नेपाली बीमाशुल्क स्वदेशमै रहने सम्भावना बढ्छ भने विदेशी व्यवसाय पनि भित्रने बाटो खुल्छ । ‘अध्ययन समितिले नयाँ पुनर्बीमा कम्पनीको आवश्यताका र औचित्यको खोजी गरेको छ र मुलुकले कतिवटा कम्पनी धान्न सक्ने भन्ने कुराको शुक्ष्म विश्लेषणसहित प्रतिवेदन तयार गरी सुझाव दिइएको छ’–श्रोतले भन्यो ।  

Advertisement

प्रतिवेदनमा के छ ? 
अध्ययन समितिले तयार गरी बीमा समितिमा बुझाएको प्रतिवेदनमा  एक मात्र पुनर्बीमा कम्पनीमा नेपाल सीमित हुन नहुने देखाएको गोप्य स्रोतले जानकारी दिएको छ । कर्पोरेट नेपालले पाएको जानकारी अनुसार २ वटा पुनर्बीमा कम्पनीलाई लाइसेन्स दिन शिफारिस गरिएको छ । कुन कम्पनीलाई लाइसेन्स दिनु उपयुक्त छ भन्ने बारेमा भने श्रोतले बताउन चाहेन । 

अध्ययन प्रतिवेदनमा नेपाल पुनर्बीमा कम्पनीको वर्तमान अवस्थाको बारेमा विस्तृत रुपमा उल्लेख गरिएको छ ।  पुनर्बीमा कम्पनीले भोग्दै आएका समस्या पनि प्रतिवेदनमा उल्लेख छ । नयाँ पुनर्बीमा कम्पनी थप्दा नेपाली बजारमा प्रतिष्पर्धा बढ्ने बजारको निष्कर्ष छ । 

वर्तमान अवस्थामा पुनर्बीमाका क्षेत्रमा नेपाल अन्तर्राष्ट्रिय बजारमा रेटेड छैन । तर, नयाँ पुनर्बीमा कम्पनीको स्थापना गरी बजारमा प्रतिष्पर्धा सिर्जना गर्ने तथा पुनर्बीमाको क्षेत्रमा नेपालको क्षमता बढाउनु पर्छ भन्ने अध्ययन प्रतिवेदनमा समावेश छ ।  

यता, बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले अध्ययन प्रतिवेदन माथि यही साता छलफल हुन सक्ने बताएका छन् । ‘अहिले हामीले पाएको अध्ययन प्रतिवेदनमा छलफल भएको छैन, मिलेसम्म यसै साता सो अध्ययन प्रतिवेदनमा छलफल हुनेछ, सोही प्रतिवेदनलाई आधार बनाएर निश्कर्ष निकाल्ने कुरा छँदैछ, सोही कारण नयाँ पुनर्बीमा कम्पनी ल्याउने विषयमा अन्य कुराहरु प्रक्रियामै छन्, बीमा समितिका अध्यक्ष सिलवालले कर्पोरेट नेपालसँग भने । उनले भने– ‘यस बारेमा अन्तिम निर्णय भने बोर्डले गर्नेछ ।’

शर्माको संयोजकत्वमा अध्ययन समिति

बीमा समितिले गत फागुन १७ गते बीमा विज्ञ भोजराज शर्माको संयोजकत्वमा अध्ययन समिति गठन गरेको थियो । समितिमा शिखर इन्स्योरेन्स कम्पनीका सीईओ दीपप्रकाश पाण्डे र चार्टर्ड एकाउण्टेन्ट सुजन आचार्य छन् ।

तलका लिंक पनि क्लिक गर्नुहोलाः

नयाँ पुनर्बीमा कम्पनी थप्ने गृहकार्य, सीईओहरु उत्साहित, आउला त विदेशी बीमा शुल्क ?

पुनर्बीमा कम्पनीको संभाव्यता अध्ययन गर्न बनाइएको समिति सुरुमै विवादमा

Advertisement

Advertisement