बढ्दो वातावरण प्रदुषणले स्वास्थ्य बीमाको महत्व बढेको छः कोइराला

Advertisement

काठमाडौं । कसलाई कुन बेला के रोग लाग्छ ? त्यसको केही निश्चितता हुँदैन । पछिल्लो समय मानिसको स्वास्थ्य झनै संवदेनशील बन्दै गएको छ । 

स्वास्थ्य बीमा (हेल्थ इन्स्योरेन्स) बीमितले आफ्नै लागि गर्ने हो । यसको मतलब स्वास्थ्य बीमा गरेपछि यसको लाभ बीमित आफैले लिन पाउँछन् । बढ्दो बाताबरण प्रदुषणका कारण पनि स्वास्थ बीमाको महत्व बढ्दो छ । 

Advertisement

स्वास्थ्य बीमा सधैं स्वस्थ्य मानिसकै गरिन्छ । भोलि उसलाई कुनै रोग लाग्यो भने ओषधि उपचारमा यो बीमा सहयोगी हुन्छ । रोग लाग्नु अगावै स्वास्थ्य बीमा गर्न मिल्छ । स्वास्थ्य बीमा गरेका बीमितलाई रोग लागेमा त्यसको पैसा बीमाले व्यहोर्ने हो । तर धेरै जनालाई रोगले आक्रमण गरेपछि स्वास्थ्य बीमाको महत्व महशुस हुनेगर्छ । स्वास्थ्य बीमाका पनि अन्य बीमा जस्तै आफ्ना मापदण्ड छन् । त्यसलाई पूरा गरेमा बीमा कम्पनीले पैसा नदिने भन्ने कुरा हँदैन । 

सुन्दा सामान्य जस्तो लागे पनि धेरै जसोलाई स्वास्थ्य बीमाको बारेमा राम्रोसँग जानकारी भने हुँदैन । कतिपयले केही जानकारी पाएपनि त्यो पूर्ण नहुनसक्छ । अहिले नेपालमा जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी तथा नेपाल सरकारद्धारा सञ्चालित स्वास्थ्य बीमा बोर्डमार्फत स्वास्थ्यसँग सम्बन्धित बीमा हुन्छ । 

एक हिसाबबाट हेर्दा यसले स्वास्थ्यसँग सम्बन्धित् बीमाको आवश्यकता देखाएको छ भने अर्को हिसाबमा तीन वटा निकाय लागेर बीमा सञ्चालन गर्दा नागरिकलाई केही अस्पष्ट पनि हुने गरेको भेटिन्छ ।

जीवन बीमाले निर्जीवन बीमा गर्दैन् भने निर्जीवन बीमाले जीवन बीमा गर्दैन । त्यस्तो गर्न पनि मिल्दैन । तर स्वास्थ्य बीमा भने जीवन, निर्जीवन तथा स्वास्थ्य बीमा बोर्डबाट सञ्चालन पनि भइरहेको छ । हुन त सञ्चालित स्वास्थ्य बीमाका मोडलहरूमा केही भिन्न्ता भने पक्कै छन् । तर नागरिकले फरक फरक निकायबाट सञ्चालन भइरहेका स्वास्थ्य बीमा योजनाका बारेमा भने जानकारी राख्नु नै राम्रो हुन्छ ।  

विश्वमै स्वास्थ्य बीमा व्यवसायिक हिसाबले भन्दा पनि सेवामूलक हिसाबले सञ्चालन गरिएको हुन्छ । सोही कारण स्वास्थ बीमामा बीमाशुल्क पनि त्यति धेरै महङ्गो हुँदैन । 

अहिले नेपाली बीमा कम्पनीकै कुरा गर्दा कम्पनीलाई सो बीमामा नाफा भन्दा पनि नोक्सान नै बढी छ । तर स्वस्थ्य बीमा बीमितको अप्ठ्यारोका लागि गर्ने हो र यसको महत्व सबैले बुझ्न आवश्यक छ । 
हामीले आफै घरमा कसैलाई कुनै ठूलो रोग लाग्दा के कस्ता समस्या आउँछन् ? भन्ने देख्दै सुन्दै आएका छौं । त्यही कष्टमा स्वास्थ्य बीमाले साथ दिने हो । बीमा साथी बन्ने हो । 

स्वास्थ बीमाकै लागि विभिन्न मोडेल
अहिले स्वास्थ बीमा निर्जीवन बीमा कम्पनीले सञ्चालन गरिरहेका छन् । यस्तै, घातक रोगको बीमा जीवन बीमा कम्पनीमा सञ्चालित छ भने सरकारले स्वास्थ्य बीमा बोर्डमार्फत पनि बीमा गराइरहेको छ ।

हामीले ‘स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो’ भन्ने पनि सुन्दै आएका छौं । स्वास्थ अवस्था प्रतिकूल बन्दा कति खर्च लाग्छ भन्ने केही टुंगो हुँदैन । नागरिकलाई रोग लाग्दा राहात होस् भनेरै यी स्वास्थ बीमा सञ्चालन भएका हुन् । 

निर्जीवन बीमा कम्पनीमा स्वास्थ्य बीमा
निर्जीवन बीमा कम्पनीहरूले थोरै बीमाशुल्क उठाएर बीमितको स्वास्थ्य जोखिमको बीमा गर्दै आएका छन् । बीमामा सानो पैसा राख्यो भने आपत पर्दा त्यसले सहयोग गर्ने सर्वमान्य सिद्धान्त रहिआएको छ । सोही सिद्धान्तमा यो स्वास्थ्य बीमा योजना पनि आधारित छ ।

अहिले निर्जीवन बीमा कम्पनीमा करिब तीन हजार रुपियाँसम्मको बिमाशुल्क बुझाँउदा एक वर्षसम्मको जोखिम बहन हुन्छ । बीमितले एक रातभन्दा बढी अस्पतालको भर्ना भएको बिल पेश गर्दा पैसा पाउने व्यवस्था पनि छ ।

वर्षको दुई, तीन हजार रुपियाँ मात्र खर्च गर्दा त्यसले एक वर्षसम्म स्वास्थ्य जोखिम बहन गर्छ । रोग लाग्दा कुन बेलामा कति खर्च लाग्छ भन्ने कसैलाई थाहा हुन्न । तर रोग लागिहालेको खण्डमा बीमाले पैसा दिने कुरा चाहीं निश्चित हुन्छ । 
 
अहिले सरकार स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीले स्वास्थ्य बीमा सञ्चालन गरिरहेको छ । सो बीमा अनुसार कुनै पनि कार्यालयमा कार्यरत कर्मचारीले सामूहिकरुपमा स्वास्थ्य बीमा गर्न मिल्ने व्यवस्था छ । जसमा १० जनाभन्दा बढी संख्यामा रहेका बीमितको मात्रै बीमा हुन्छ । 

बीमा गर्न बीमितले तीन हजार रुपियाँ हाराहारीको बीमाशुल्क बुझाउँछन् । सोमध्ये जो कोहीलाई उपचार खर्च चाहिएमा एक लाख रुपैयाँसम्म बीमा कम्पनीले व्यहोर्छ । तर बीमा कम्पनीले व्यहोर्ने भनेको बीमाशुल्क नगद दिनेभन्दा पनि बीमितको एक लाख रुपियाँसम्मको औषधि उपचार खर्च व्यहोर्ने हो । 

स्वास्थ्य बीमा बोर्ड 
सरकार आफैले विपन्न नागरिकका लागि स्वास्थ बीमा कार्यक्रम सञ्चालन गरिरहेको छ । उक्त स्वास्थ्य बीमा बोर्डले गर्ने बीमा र व्यवसायीक बीमा कम्पनीले गर्ने बीमाको मोडल उस्तै छ । पहिलो कुरा त दुवै बीमा योजना नागरिकको हितका लागि ल्याइएको हो । त्यस्तै, यी दुई योजनाको काम गर्ने पद्दती उस्तै छ । तर नियामक चाहीं फरक । 

सरकारमार्फत सञ्चालित स्वास्थ्य बीमा बोर्डबाट बीमा गर्दा तीन हजार पाँच सय रुपियाँ बीमाशुल्क बुझाउनुपर्छ । बीमा कम्पनीहरूले सोभन्दा केही कम रकम लिएर पनि बीमा गराउँदै आएका छन् । त्यस्तै, स्वास्थ्य बीमा बोर्डबाट बीमा गर्दा पनि एक वर्षकै जोखिम बहन हुन्छ भने पाँच सदस्य भएका परिवारले यस योजनामा समावेश हुन सक्नेछन् । तर बीमा कम्पनीले गराउने स्वास्थ्य बीमा योजनामा १० जनाभन्दा धेरैले पनि सहभागी हुनसक्छन् । 

बीमाशुल्क बुझाउँदा समूहमा बुझाउनु पर्ने तथा जोखिम बहन भने व्यक्तिगत रुपमा समेत हुने स्वास्थ्य बीमाको सुन्दर पक्ष हो ।

जीवन बीमा कम्पनीमा स्वास्थ्य बीमा
जीवन बीमा कम्पनीहरूले स्वास्थ्य बीमा त गर्दैनन् तर नागरिकको घातक रोगको बीमा गर्छन्  । बीमाशुल्क बुझाएपछि घातक रोग लागेमा नागरिकले बीमांक पाउँछन् । जीवन बीमा कम्पनीहरूले सम्झौता गरेअनुसारको घातक रोग लागे मात्रै बीमितले पैसा पाउँछन् । 

जीवन बीमा कम्पनीमा घातक रोगको बीमा गराउँदा तीन महिनापछि रोग लागे मात्रै बीमांक पाइने व्यवस्था छ । यस्तै, निर्जीवन बीमा कम्पनीहरुले स्वास्थ्य बीमा गर्दा पनि एक महिनापछि रोग लागे मात्रै बीमांक पाइने व्यवस्था छ । 

(राष्ट्रिय बीमा कम्पनीका मुख्य व्यवस्थापक सुभाष कोइरालासँग कर्पोरेट नेपाल डटकमले गरेको कुराकानीमा आधारित)
 

Advertisement

Advertisement