काठमाडौंको वायु प्रदूषणले फोक्सोमा गम्भीर असर गर्नसक्ने

Advertisement

काठमाडौं । काठमाडौं उपत्यकामा केही दिनदेखि बढेको वायु प्रदूषणले मानव स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने चिकित्सकहरूले औंल्याएका छन् । काठमाडौंको आकाशलाई ढाकेको तुवालो सोमबार झन बढेपछि मानिसहरूमा चिन्ता बढेर गएको छ भने चिकित्सकहरूले सावधानी अपनाउन आग्रह गरेका छन्। सम्वन्धित क्षेत्रका विज्ञहरूले यो प्रदुषण केही दिन अझै रहने बताएका छन् ।

मौसमविद् डा. अम्बरिस पोखरेलले अहिलेको प्रदुषण हावा लाग्न थालेपछि आफै जाने बताउँदै नहटुन्जेल सावधानी अपनाउनुपर्ने बताएका छन् । उनले प्रदुषण नहटुन्जेल आँखा, नाक मिचेर हिड्ने, बस्ने बानी बसाल्न आग्रह गरेका छन् । 

Advertisement

उपत्यकाभित्र आकाशै ढाक्नेगरी तुवाँलो लाग्नुका कारण यहाँको वायु प्रदूषण  मापदण्डभन्दा पाँचगुणा खराब हुनु, यस पटक हिउँदमा वर्षा नहुनु र वायुमण्डलमा धुवाँ तथा धूलोको मात्रा बढी हुनु, हावाको गति स्थिर रहनु, यस बर्ष वन क्षेत्रमा बढि डढेलो लाग्नु जुस्ता कारण रहेको वातावरण विभागको भनाई छ । 

अहिलेको वायु प्रदूषण धूमपानभन्दा खतरनाक रहेको चिकित्सकहरूको भनाई छ । अहिलेको जस्तो वायु प्रदूषणले विशेषतः मानिसको फोक्सो र आँखामा सङ्क्रमण हुनसक्ने भन्दै उनीहरूले सावधानी अपनाउन आग्रह गरेका छन् ।  

छातीरोग विशेषज्ञ डा. सुबोधसागर ढकालले बीबीसीलाई बताएअनुसार उपत्यकामा अहिले देखिएको प्रदूषणको मात्रा विश्व स्वास्थ्य सङ्गठनको मापदण्डका हिसाबले हेर्ने हो भने निकै खराब तहको रहेको छ। त्यसले गर्दा विशेषगरी छाती, घाँटी, फोक्सो र नाकसम्बन्धी विभिन्न सङ्क्रमण हुने जोखिम बढाएको छ ।

यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यको ख्याल गर्न, घरबाहिर ननिस्किन, अनावश्यक रूपमा सवारीसाधन नचलाउन, फोहोर नचलाउन र धूलो र धुवाँ उत्पन्न हुनेखालका निर्माण कार्य नगर्न सबेलाई आग्रह गरेको थियो ।

Advertisement

Advertisement