तीन अर्ब ऋणमा डुबेको जहाज कसरी हुँदैछ विस्थापित ? केमा कति गुमायो चिनियाँ जहाजले ?

Advertisement

काठमाडौं । नेपाल वायुसेवा निगमले सात वर्ष अगाडि भित्र्याएको चिनियाँ जहाज अन्ततः ऋण चुक्ता नगर्दै विस्थापित हुने भएको छ । तीन अर्ब ऋणको किस्ता सुरु नहुँदै वायुसेवा निगमले चिनियाँ जहाज विस्थापन गर्ने भएका छ । जहाज विस्थापन गरेपनि निगमले ऋण भने तिर्नेपर्ने हुन्छ ।

निगमले ५६ सिट क्षमताको दुईवटा एमए ६० र १७ सिट क्षमताको चारवटा वाई १२ जहाज भित्र्याउँदा तीन अर्ब १४ करोड ऋण तिर्ने बाँकी छ । यो ऋणको पहिलो किस्ता पनि नतिरी जहाज ग्राउन्डेड गरिएको थियो । निगमले सरकारमार्फत चीनको एक्जिम बैंकलाई दुईवटा एमए–६० को एक अर्ब ६५ करोड आठ लाख ८३ हजार र चार वटा वाई–१२ को एक अर्ब ३६ करोड ९६ लाख ६ हजार ७८२ ऋण तिर्नुपर्ने छ।

Advertisement

अर्थ मन्त्रालयले निगमसँग भएको एमए ६० र वाई १२ ई नामकका जहाजलाई भाडामा लगाउन र भाडामा नलागेको अवस्थामा बिक्री गर्ने राय दिएको छ । अर्थको राय शुक्रबारको वायुसेवा निगम सञ्चालक समितिसमक्ष प्रस्तुत भएको थियो । उक्त राय अनुसार अब चिनियाँ जहाजलाई भाडामा लगाउन र त्यसो हुन नसके बिक्री गर्ने प्रक्रिया अगाडि बढाउन सहमति दिएको वायुसेवा निगमले जानकारी दिएको छ ।

निगमका अध्यक्ष शुशील घिमिरेका अनुसार सरकारले नै दिएको सुझाव र राय अनुसार अब जहाज भाडाको लागि प्रस्ताव आव्हानमा जाने छ । भाडामा गएन भने निगम व्यवस्थापनले नै बिक्रीको प्रक्रिया अगाडि बढाउने जानकारी घिमिरेले दिए । यस अघि बोर्डले गरेको प्रस्तावलाई नै अर्थले स्पष्टसँग राय दिएका कारण त्यसलाई कार्यान्वयन गर्न अब पुनः निगमको सञ्चालक समितिसमक्ष आइरहनु नपर्ने घिमिरेले बताएन । उनका अनुसार अब निगम व्यवस्थापनले नै आवश्यक प्रक्रिया अगाडि बढाउन पाउने र जहाज भाडामा नगए बेच्ने प्रस्ताव प्रक्रिया पनि अगाडि बढाउँछ ।

वायुसेवा निगमले सात वर्ष अगाडि दुईवटा अनुदान र चारवटा सहुलियत ऋणमा किनेको यो जहाजको १५ वर्षे किस्ता बुझाउने समय १५ कात्तिक २०७७ अगाडि नै जहाज ग्राउण्डेड भएको छ । जहाज खरिद गर्न जहाज बिक्रेता कम्पनीसँग भएको सहमति अनुसार पहिलो सात वर्ष किस्ता तिर्नु नपर्ने थियो । तर, जहाज किनेर सञ्चालन सुरु गरेदेखि नै घाटामा गएको भन्दै सञ्चालन नाफामा लैजान नसकेको निगमले अन्ततः जहाज विस्थापन गर्ने भएको छ ।

चिनयाँ जहाजको उडान क्षमता वाई १२ को १७ जना भएपनि यसले मुस्किलले १२ भन्दा बढी बोक्न सक्दैन भने ५६ सिट क्षमताको जहाजले पनि क्षमता भन्दा कम मात्रै बोक्न सक्ने उल्लेख छ । जहाजले मौसम र गन्तव्य अनुसार उडान क्षमता कम हुन्छ ।

जहाज उडाउन नसक्दा निगमलाई सञ्चालन घाटा मात्रै बार्षिक ५७ करोड रुपैयाँ पुगेको गत आवमै पुगिसकेको छ । २०७६ चैत देखि सुरु भएको कोभिडपछाडि निगमले चिनियाँ जहाज उडाएको छैन् । चालू आर्थिक वर्षदेखि औपचारिक रूपमा नै उडान बन्द गरेर राखेको यसको जहाजले विगत ६ वर्षमा मात्रै दुई अर्ब २५ करोड ३७ लाख सञ्चालन घाटा मात्रै व्यहोरेको छ ।

निगमले चिनियाँ जहाज उडाउँदा आम्दानी भन्दा खर्च बढी छ । यो वायुसेवाले हवाई इन्धन, ल्याण्डिङ पार्किङ, नियमित मर्मत, समयसमयमा पाटपूर्जा परिवर्तन गरिहनुपर्ने र हवाई इन्धनमा भएको अधिक खर्चले जहाज उडाउनै नसकेको बताएको छ । जहाजले उड्दा वा थन्कदा दुबै अवस्थामा बीमा र ल्याण्डिङ पार्किङ शुल्क भने अनिवार्य बुझाउनुपर्छ । निगमसँग भएको जहाजको पाइलट  तथा सञ्चालन विभागका कर्मचारीलाई तयारी अवस्थामा राखिरहनुपर्ने हुँदा खर्च मात्रै गराउने तर आम्दानी शून्य भएको निगमले भनाइ छ ।

निमगले ल्याण्डिङ पार्किङमा चार वटा वाई १२ को लागि मात्रै बार्षिक एक करोड ६३ लाख रुपैयाँ तिरिरहेको छ । दुई वटा एमए ६० को लागि यस्तो शुल्क बार्षिक चार करोड ६४ लाख रुपैयाँ छ । यस्तै बीमाको लागि चारवटा वाई १२ ले बार्षिक १३ करोड ३३ लाख तिरिरहनु परेको छ । यस्तो बीमा शुल्क एमए ६० ले भने ६२ करोड १६ लाख तिर्नुपरेको निगमले उपलब्ध गराएको एक तथ्यांकमा उल्लेख छ ।

चिनियाँ जहाजको बीमा शुल्क अन्य आन्तरिक उडानका जहाजको तुलनामा दोब्बर महंगो छ। अन्य जहाजको बीमा कुल रकमको १.५ प्रतिशतदेखि बढीमा । सात प्रतिशतसम्म तिर्नुपर्नेमा चिनियाँ जहाजको भने १२ देखि १५ प्रतिशतसम्म तिर्नुपरेको छ। निगमले ६ वर्षमा एमए–६० को मात्र ६२ करोड १६ लाख र वाई–१२ को ४७ करोड ४७ लाख जम्मा  एक अर्ब ८ करोड ६३ लाख  रुपैयाँ बीमा शुल्क मात्र तिरेको छ।

निगमले चिनियाँ जहाज उडाउँदा सञ्चालन खर्च, इन्धन, मर्मत, आम्दानी गरे अनुसारको कर, तथा अप्रत्यक्ष खर्च गर्नुपर्छ । तर, उडाउन नसकेर थन्काइएका जहाजमा पनि निगमले नियमित खर्च गर्नुपर्छ । जहाज थन्काउँदा अत्यावश्यक मर्मत, पार्किङ र बीमामा खर्च नगरी नहुने हुन्छ । 

Advertisement

Advertisement