काठमाडौं । हवाई उद्योग विकासको गति कम हुँदा नयाँ जहाज थप गर्ने काम न्यून भएसँगै नेपालमा करोडसम्म खर्चेर पढेका पाइलट बेरोजगारी बढ्न थालेका छ । पाँच सातवर्ष अगाडिसम्म नेपालमा पाइलट पढ्न गएका जनशक्तिले काम नपाउने अवस्था आएपछि नेपालबाट बाहिर जानेको संख्या नै कम भएको थियो । पछिल्लो समय पाइलट पेशामा आकर्षण देखेर र राम्रो कमाईको स्रोत हुन्छ भन्दै एक करोडसम्म खर्च गरेर पढेका पाइलट फेरि बेरोजगार हुन थालेका छन् ।
नेपालबाट विभिन्न देशमा पाइलट पढ्न गएका २५६ जना मध्ये १५३ जना नफर्किएको नेपाल नागरिक उड्डयन प्राधिकरणको हवाई उड्डयन सुरक्षा विभागले जानकारी दिएको छ । उड्डयन सुरक्षा विभाग प्रमुख राजु श्रेष्ठका अनुसार सन् २०१७ देखि सन् २०२१ सम्ममा २५६ जनाले विदेशमा पाइलट पढ्न जान अनुमति लिएर गएकामा हालसम्म जम्मा १०३ जना मात्रै फर्फिएका छन् । यसमध्ये ९७ जना नियमित उडानका जहाजका पाइलट छ भने बाँकी ६ जना मात्रै हेलिकप्टरका पाइलट रहेको श्रेष्ठले कर्पोरेटनेपाललाई जानकारी दिए ।
‘नेपालबाट पढ्न विदेश गएका पाइलट नेपाल फर्किएर प्राधिकरणले लिने कमर्सियल पाइलट लाइसेन्स (सीपीएल)को परीक्षामा सहभागि हुँदैनन् तबसम्म को आए आएन भन्ने पनि थाहा हुँदैन्,’ श्रेष्ठले भने । करोडसम्म खर्च गरेर पढ्न जाने पाइलट नेपाल नफर्किने र फर्किएपछि पनि सीपीएल परीक्षा पास नभएसम्म पाइलट नहुने श्रेष्ठ बताउँछन् । उनले भने ‘तालिम लिएर बसेका र लाइसेन्स लिएका पाइलटले पनि अवसर पाएनन् भने त्यसको महत्व हुँदैन् ।’
वायुसेवा सञ्चालक संघका सचिव राजु न्यौपानेका अनुसार नेपालबाट पाइलट पढ्न जादाँ ५०/६० लाखदेखि एक करोड रुपैयाँसम्म नै खर्च हुन्छ । तर, पनि नेपालमा अवसर नपाइने र पढ्न गएर पनि नफर्कने तथा यहाँ आएपछि पाँच वर्ष भित्रमा अवसर नपाए लाइसेन्स पुनः नवीकरण गर्नुपर्छ । यसका लागि पुनः तालिम लिनुपर्ने भएकोले पाइलट बन्न पनि खर्चालु भएको पनि न्यौपाने बताउँछन् ।
न्यौपानेका अनुसार एउटा जहाजमा तीन जना पाइलट भए पुग्छ । अहिले पाइलट तालिम लिन गएका र फर्किए गरी करिब ३ सय जना रहेको अनुमान छ । न्यौपानेका अनुसार यत्तिका धेरै पाइलट सबैले अवसर पाउन ५० वटा जहाज चाहिने अवस्था छ । नेपाली वायुसेवा कम्पनीमा जहाज थप त्यति धेरै हुन सकेको छैन भने पाइलटको अवसर पनि कम पाउने गरेको बुझाइ मनाङ एयरका प्रवन्धकसमेत रहेका न्यौपानले बताए ।
पाइलट तालिममा कोरोना महामारीपछि थप समस्या भएको छ भने बाहिर गएर पढ्नेको पढाइ नसकिने तथा गएका व्यत्तिले पढ्न नपाएका पनि हुन सक्छन् । न्यौपाने भन्छन्, ‘तालिम लिएका, सिनियर पाइलटको खाँचो हुने र उनीहरूको आवश्यकता सधै हुने भएपनि नयाँ र कोपाइलट नभएइसकेको हकमा भने अवसर पाउनै गाह्रो भएको न्यौपानेको भनाइ छ ।
नयाँ पाइलटलाई सम्बन्धित वायुसेवाले लिनुपर्ने, तालिम दिनुपर्ने हुन्छ । हाल विदेशमा गएर जम्मा २०० घण्टा पाइलटको तालिम लिएका व्यक्तिले प्राधिकरणबाट सीपीएल परीक्षा पास गरेमा पाइलटको लाइसेन्स पाउँछन् । तर, ति पाइलटले बल्ल वायुसेवा जाने वाटो खुल्ने हो ।
यसका लागि सम्बन्धित वायुसेवाले ती पाइलटलाई लिनुपर्ने हुन्छ । नेपालबाट पाइलटको तालिम लिन जानेमा सबैभन्दा बढी आकर्षण फिलिपिन्स, दक्षिण अफ्रिकादेखि अमेरिकासम्म नै रहेको छ । तुलनात्मक रुपमा कम खर्च गर्नेलाई फिलिन्सि र बढी खर्च हुने मुलुकमा अमेरिका पर्ने गरेका छन् ।