मान्छे पहिला स्मार्ट बनौँ, त्यसपछि बन्छ स्मार्ट शहरः भीम उपाध्याय

नेपालको राजनीतिक प्रणाली र कर्मचारीतन्त्रमा शुद्धिकरण आजको एक नम्बर मुद्दा हो । यसलाई नजरअंदाज गर्नु नर्कमा बास बसिरहन अभिशप्त हुनु  हो ।

स्मार्ट समाज वा शहर बन्नका लागि मान्छे पहिला स्मार्ट बन्नुपर्छ वा बन्ने चाहना हुनुपर्छ । जेमा पनि डिजिटल प्रविधिको चुस्त सदुपयोग गरेर मानिसका सेवा सुविधा प्रभावकारी उपलब्ध हुने र तत्कालै सेवाग्राहीका माग बमोजिमका सेवा आपूर्ति हुने प्रणाली स्मार्ट प्रणाली हो । तिब्र गतिमा आफूतिर हुत्तिदै आएको अनिश्चित भविष्यलाई तत्क्षण सम्बोधन गर्दै सिस्टमले सम्हाल्दै सहज पार्ने प्रणाली स्मार्ट हो ।

कति मान्छे तिनका सीप र दक्षताका लागि योग्य हुन्छन्, कति मान्छे तिनका नविन आईडियाका निम्ति योग्य ठहरिन्छन् । आईडिया छ भने विश्वमा जहाँबाट पनि सीप खोज्न सकिन्छ र पाईन्छ पनि । तर आईडिया खोज्न सकिन्न, त्यो सिर्जना हुनुपर्छ । ग्वॉजे दिमाग र बिनासीपका सरकारले स्मार्ट सहर,  स्मार्ट मुलुक, स्मार्ट शासन प्रशासन प्रणाली कहिल्यै बनाउन सक्दैन ।

जागरूक, तीब्र गतिशील, प्रविधि गतिवान, प्रम्प्ट रेस्पोन्सिप सरकारबिना यो जमानामा कुनै पनि देश गुहेपोखरी मात्र बन्दै जाने हो । नेपाल यसको नमूना बन्दै गएको प्रष्ट छ ।

बिदेशी मुलुकको अनुदान सहयोग बिनास्वार्थ कसैले दिन्नन् । कुनै मुलुकले त्यो लिने नलिने त्यसमा आफ्नो स्वार्थ कति हो त्यो निर्णायक हुन्छ । घिच्नैपर्छ भन्न मिल्दैन । मुलुकमा घिचाउने र घिच्ने तर्क गरिरहनु नै वाहियात हो । अनुदान लिने नलिने सरकारको कार्यक्षेत्र हो, संसदको काम हैन । सरकार निर्माणकर्ता संसदलाई परियोजनाहरू बनाउदा निरन्तर सधैं विश्वासमा लिनु सरकारको जिम्मेवारी हो। संसदको विश्वास नलिएको दिनमा वा गुमाएको दिनमा लोकतन्त्रमा सरकार चट् हुन्छ । 

बिदेशी मुलुकको अनुदान वा सहयोगले मुलुक बन्छ  भन्नु भ्रम हो । बिकास गर्ने हो भने बिदेशी लगानी र स्वदेशी पुँजि, श्रोत, जनशक्ति र श्रमको अधिकतम उपयोग गर्नुपर्छ । ईतिहास मेटाएर रमाउनेहरूको ईतिहास पनि भविष्यमा मेटाईने निश्चित छ । बिकसित मुलुकहरूमा जे को पनि ईतिहासको संरक्षण र जगेर्ना गरिएको हुन्छ । जहॉ पनि जेको पनि म्युजियम स्थापित हुन्छन्,  जो ज्ञानका केन्द्रहरू हुने गर्छन् ।

म्युजियम हेरेपछि सिर्जनात्मकता ट्रिगर हुन थाल्छ । नेपालमा राजनीति दाउपेचको बिकृत ईतिहास मात्र भेटिन्छन् । समाज बिकासका पक्षहरूका कुनै म्युजियम वा ईतिहासको सम्बर्धन वा जगेर्ना गरेको पाईदैन । भत्काउप्रसाद र तोडफोडबरादुरको केही ईतिहास मात्र जिवित छन्, त्यो ईतिहास पनि चाँडै तोडिने छन्। 
तन्नम् देशको लक्षण यस्तै हुने गर्दोरहेछ । जसको ईतिहासको जगेर्ना छैन, उसको वर्तमान र भविष्यको जगेर्ना पनि हुनेछैन ।

ज्ञानीहरू सधैं आफूलाई अज्ञानी ठान्छन्, मूर्खहरू सधैं आफूलाई विद्वान  ठान्छन् । अहिलेको मुलुकको शिक्षा प्रणालीले यही अज्ञानी बैज्ञानिक डाक्टर–पगरीधारीहरू उत्पादन गर्दै गरेको छ ।
(लेखक उपाध्याय नेपाल सरकारका अवकाश प्राप्त सचिव हुन् ।)