एउटै फ्रिक्वेन्सी भएका टावर नजिक हुँदा नेटवर्कमा समस्या, तराईमा मुख्य समस्या

Advertisement

काठमाडौं । नेपाल टेलिकमले एउटै फ्रिक्वेन्सी भएका टावर नजिकै भएमा दूरसञ्चारको नेटवर्कमा अवरोध भई ग्राहकले सहजरुपमा टेलिफोनमा कुरा गर्न नसक्ने जनाएको छ । फ्रिक्वेन्सी नजुधेको अवस्थामा भने टावर नजिक वा टाढा जता भए पनि नेटवर्कमा असर नपर्ने कम्पनीको भनाई छ ।

सेवा प्रदायकहरूले नजिकका टावरमा एउटै फ्रिक्वेन्सीको प्रयोग गरेमा नियामक दूरसञ्चार प्राधिकरणले कारबाही गर्नुपर्ने प्रावधान पनि छ । अन्य मुलुकमा कुनै पनि कारणले टेलिफोनको नेटवर्कमा समस्या आए, कुरा गर्दागर्दै लाइन काटिए सेवा प्रदायकले उपभोक्तालाई क्षतिपूर्ति दिनुपर्ने व्यवस्था भए पनि नेपालमा भने त्यस्तो व्यवस्था छैन् । 

Advertisement

तराई भेगमा नेटवर्क गढबढी हुनुलाई सामान्य रुपमा नै लिईन्छ । धेरैजसो नेटवर्कमा गडबडी नै हुने भएकाले ग्राहकहरू नेटवर्कमा आउने समस्यासँग अभ्यस्त जस्तै देखिन्छन् । 

नेटवर्क गडबडीको समस्या तराई भेगमा मात्र नभई मुलुकका अन्य स्थानमा समेत हुनेगर्छ । तर प्रविधिकहरूले नेटवर्कको गडबडीमा अरु पनि कारणहरू हुनसक्ने बताएका छन् । फरक यति हो, कुनै स्थानमा नेटवर्क धेरै गडबड भएको हुनसक्छ भने कतै कम । तर यसमा सेवा प्रदायकहरू नै दोषी छन् भन्न पनि खोजेको होइन् ।

अवैध रुपमा फ्रिक्वेन्सी सञ्चालन भएका छन् भने त्यस्ता क्रियाकलाप रोकिनुपर्छ । ग्राहकहरूले एउटा टावरको नजिकै अर्को टावर राख्दा नेटवर्कमा समस्या आएको बताउँदै आएका छन् ।

‘नेपालको तराई भेगमा भारतीय जिएसएमका कारण नेटवर्कमा अवरोध हुन्छ’, नेपाल टेलिकमका एक प्राविधिकले जानकारी दिए । उनले नेपाल–भारत सीमाका जिल्लामा नेटवर्कको समस्या धेरै हुने गरेको स्वीकार समेत गरे । 

त्यस्तै, नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले दुई वटा टावर नजिकै भएरभन्दा पनि त्यसमा रहेको फ्रिक्वेन्सीको आधारमा नेटवर्कमा असर पुग्ने जानकारी दिएका छन् ।

उनी भन्छन्, ‘एउटै फ्रिक्वेन्सीका दुई वटा टावरहरू नजिकै रहेमा त्यसले नेटवर्कमा बाधा पुर्याउँछ, तर फ्रिक्वेन्सी फरक छ भने टावरको दूरीले नेटवर्कमा असर पार्दैन । फ्रिक्वेन्सी जुधेको छ कि छैन ? त्यसलाई दूरसञ्चार प्राधिकरणले निरीक्षण गर्छ । गैरकानुनीरुपमा टावरहरू निर्माण भएको पाईएमा सेवा प्रदायकहरूलाई कारबाही पनि हुन्छ ।’

सेवा प्रदायकलाई तोकिएको छ मेजाहर्ज

नेपाल टेलिकमले दिएको जानकारी अनुसार सीडीएमएका लागि आठ सय ५० मेगाहर्ज तोकिएको छ ।  यस्तै, वाईम्याक्सका लागि २३ सय मेगाहर्ज तोकिएको छ भने जीएसएमका लागि न्यूनतम ९ सयदेखि २१ सयसम्म तोकिएको छ । गार्ड व्याण्डको भने आठ सय ९० देखि नौ सय १५ मेगाहर्ज तोकिएको छ ।

सेवा प्रदायकहरूलाई सुरुमै फ्रिक्वेन्सी रोज्न दिइन्छ ।नेपाल टेलिकमले फ्रिक्वेन्सी जुधेर नेटवर्कमा गडबडी हुने सम्भावना न्यून हुने जनाएको छ । 


  

Advertisement

Advertisement