काठमाडौं । कोरोना महामारीपछिको एक वर्षमा समग्र वाणिज्य बैंकहरूको खराब कर्जा स्थिर रहेको छ भने विकास बैंकहरूको भने बढेको देखिएको छ । कोरोना सुरु हुनु अगाडिको तथ्यांकको तुलनामा कोरोना सुरु भएपछिको एक वर्ष पछि अर्थात गत फागुनमा नेपाल राष्ट्र बैंकले जारी गरेको तथ्यांकमा फाइनान्स कम्पनीको भने औषत खराब कर्जा वृद्धिदर घटेको देखिएको छ ।
तथ्यांक अनुसार यो वर्ष २०७७ को फागुन मसान्तसम्मको तथ्यांकमा क वर्गका बैंकहरूको १.७१ प्रतिशत, ख वर्गकाको १.९३ प्रतिशत र ग वर्गकाको ६.६४ प्रतिशत रहेको छ ।
यस्तो तथ्यांक गत वर्ष २०७६ को फागुनमा क वर्गका बैंकको खराब कर्जा १.७१ प्रतिशत, ख वर्गकाको १.२१ प्रतिशत र ग वर्गका वित्तीय संस्थाको यस्तो खराब कर्जा औषतमा ६.६७ प्रतिशत रहेको थियो ।
तथ्यांकले क वर्गका वाणिज्य बैकहरू गत वर्षकै अवस्थामा यो वर्ष पनि रहेका छन् । गत वर्षकै तथ्यांकमा स्थिर रहेकोले वाणिज्य बैंकहरू कुनै पनि गत वर्ष भन्दा कम वा बढी खराब कर्जामा नरहेको यस्तो तथ्यांकले देखाउँछ । विकास बैंकहरूको भने ०.७२ प्रतिशतले खराब कर्जा बढेको छ । फाइनान्सहरूको चाहिँ यो वर्षको फागुनमा ०.०३ प्रतिशतले खराव कर्जा घटेको तथ्यांकले देखाएको छ । औषतमा विकास बैंकहरूको थोरै खराब कर्जा बढ्दा समग्र वित्तीय संस्थाको औषत तथ्यांकमा भने बढेको देखाएको छ ।
समग्रमा भने बैैंक तथा वित्तीय संस्थाको खराब कर्जा शून्य दशमलव शून्य सात प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको फागुन २०७७ सम्मको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाको खराब कर्जामा बृद्धि भएको देखिएको हो । तथ्यांक अनुसार २०७६ फागुन मसान्तको तुलनामा २०७७ को फागुनमा बैंक तथा वित्तीय संस्थाको खराब कर्जा औषतमा १.८४ प्रतिशत रहेको छ । अघिल्लो वर्ष २०७६ फागुन मसान्तसम्मको तथ्यांक अनुसार यस्तो कर्जा औषतमा १.७७ प्रतिशत रहेको थियो ।
कोरोना महामारीपछि बैंक तथा वित्तीय संस्थबाट लिएको ऋण जोखिममा पर्दै गएको, महामारीबाट अति प्रभावित क्षेत्रसहितको ऋण जोखिम बढ्न सक्ने अनुमान गरिएको थियो । तथ्यांकले कुनै पनि बैंकहरूको अवस्था खराब नदेखाएको नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बताए । ढकाल भन्छन्, ‘शून्य दशमलव शून्य सात प्रतिशत खराब कर्जा बढ्नु भनेको सामान्य हो भने यसबाट त्यति धेरै आत्तिनुपर्ने अवस्था छैन ।’ कोरोना अघि जुन अवस्थामा बैंक तथा वित्तीय संस्था थिए त्यहीँ अवस्थामा छन भनेर बुझ्न सकिन्छ भने न्यून संख्यामा भएको घटबढको मापन सामान्य हुने पनि ढकालको तर्क छ ।
राष्ट्र बैंकले जारी गरेको यस्तो तथ्यांक औषतमा सार्वजनिक भएको तथ्यांक हो । कुनै बैंकको बढी र कुनैका कम भएको भएपनि राष्ट्र बैंकले तोकेको सीमा पाँच प्रतिशतभन्दा कममा नै रहेको ढकाल बताउँछन् । यही सिमाभित्र बैंक तथा वित्तीय संस्था रहेको दाबी उनको छ ।
नेपाल बैंकर्स एशोसिएसनका सीईओ अनिल शर्मा कोरोनापछि कुनै पनि बैंक तथा वित्तीय संस्थाको अवस्था नराम्रो नभएको बताउँछन् । कोराना अगाडिकै अवस्थामा अहिले पनि सबै वित्तीय संस्था स्वास्थ्य नै रहेको तर्क शर्माको छ ।
शर्माले भने ‘हालसम्म कुनै पनि वित्तीय संस्थालाई कोरोनाले खराब कर्जा बढाएर समस्या भएको अवस्था छैन् । कुनै संस्थाको औषतमा एक महिनामा कम र बढी भएको अवस्थामा अर्को महिनामा पुनः रिकभरी हुने गरेको छ ।’ बैंकहरूको कर्जा खराव हुन नदिने विषयमा विशेष सचेतना अपनाउने र रिकभरीको काम पनि सँगसँगै भइरहेकोले पनि शर्मा बताउँछन् ।
शर्माका अनुसार कोरोना महमारीपछिको गत असारसम्मको तथ्यांकबाट कुनैमा समस्या भएको छैन् । महमारीको असर लामो समय गएकाले चालू आवको अवस्थापछि मात्रै वास्तविक अवस्था आउन सक्ने भएकोले अहिले नै झिनो अंकमा देखिएको खराब कर्जाको बृद्धिदरलाई आधार बनाएर पूर्ण विश्लेषण गरिहाल्न नमिल्ने तर्क पनि शर्माको छ ।