२०७० को चुनावमा बादलले आफूमाथि बम प्रहार गरेको प्रचण्डको आरोप

Advertisement

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष  पुष्पकमल दाहाल प्रचण्डले २०७० सालको चुनावमा हालको गृहमन्त्री रामबहादुर थापा बादलले आफूमाथि बम प्रहार गरेको आरोप लगाएका छन् । 

रुकुममा आयोजित प्रशिक्षण कार्यक्रममा उनले आफूमाथि बम प्रहार गर्नेलाई गृहमन्त्री बनाएर गल्ती गरेको तर्क गरेका छन् । पार्टीभित्र आफूलाई साथ दिएकालाई अवसर नदिई घेराबन्दी गर्नेलाई पार्टी र सरकारमा अवसर दिएकोमा पछुतो भएको भन्दै प्रचण्डले गृहमन्त्री बादलमाथि गम्भीर आरोप लगाएका हुन् । 

Advertisement

मंगलबार उनले एमालेको सरकारमा गएर मन्त्री खाने आफ्नो पार्टीका चार मन्त्रीलाई साँसद तथा पार्टीबाट निष्काशन गरेका थिए । प्रशिक्षण कार्यक्रममा प्रचण्डले भने, ‘संविधानसभाको निर्वाचन २०७० सालमा मलाई बम प्रहार गर्नेलाई गृहमन्त्री बनाएर गल्ती गरेँ । पार्टीप्रति, लाइनप्रति इमानदार भएर लागेका, दुःख गरेका कार्यकर्ताहरूलाई मैले प्रत्येक नियुक्ति, पार्टीमा नियुक्ति गर्दा र मन्त्री बनाउँदा प्राथमिकता दिनुपर्नेमा अलिकति गल्ती गरेँ ।’

उनले थपे, ‘फटाहा–फटाहा टाइपका मान्छेहरूलाई प्राथमिकता दिएको जस्तो भयो । आगामी दिनमा हिजो युद्ध र आन्दोलनमा इमानदारितासाथ लडेका जनता र कार्यकर्तालाई अगाडि बढाउने संकल्प गर्न चाहन्छु ।’ संविधान र व्यवस्थामाथिको षड्यन्त्र नरोकिएको प्रचण्डको तर्क थियो । 

प्रतिनिधिसभा जोगियो तर षड्यन्त्र रोकिएको छैन भन्दै प्रचण्डले समाजवाद उन्मुख संविधान खतरामा परेको बताए ।  
मुलुकमा निरंकुशतन्त्र ल्याइदिए हुन्छ भन्ने केही शक्तिलाई लागेको तर जनताले त्यस्ता शक्तिलाई परास्त गर्ने उनले तर्क गरे । 

Advertisement

Advertisement