साल्ट ट्रेडिङको सेयरमा किन हुँदैछ भारी गिरावट ?

Advertisement

काठमाडौं । कुनै समय तीब्ररुपमा बढेको साल्ट ट्रेडिङ कर्पोरेशनको सेयर पछिल्ला दिनमा भारी गिरावट भइरहेको छ । अस्वाभाविकरुपमा वृद्धि हुँदा हौसियर लगानी गरेकाहरू अहिले उक्त कम्पनीको सेयर एकाएक गिरावट हुँदा हैरान भएका छन् । 

साह्र हजार रुपियाँको हारामारीमा पुगेको साल्ट ट्रेडिङको सेयर अहिले घटेर ११ हजारमा आइपुगेको छ भने यसको प्रवृत्ति हेर्दा अझै गिरावट हुने देखिएको छ । नकारात्मक सर्किट लाग्नेगरी उच्च दरमा सेयर घट्दा ठूलो लगानी गरेर सेयर खरीद गरेका लगानीकर्ता मर्कामा परका छन् भने सेयर मूल्य बढाएर बेच्न लागिपरेको समूहले भने यसबाट राम्रो फाइदा लिन सफल भएको छ । 
 
साल्ट ट्रेडिङको सेयर अघिल्ला दुई दिनमा नकारात्मक सर्किट लाग्यो  भने बुधबार पनि घट्ने क्रम जारी छ । आज कारोबार खुलेको छ मिनेटमै कम्पनीको सेयर मूल्य ५.०५ प्रतिशत (पाँच सय ९५ रुपियाँ)ले घटेर ११ हजार १९७ रुपियाँमा झरेको छ । 

Advertisement

यस कम्पनीले केही दिन अगाडि मात्र लाभांशको घोषणा गरेको थियो । कम्पनीले बोनस सेयर घोषणा गरेसँगै मूल्य समायोजनका क्रममा सेयर मूल्य केही घट्नु स्वाभाविक भए पनि साल्ट ट्रेडिङको गिरावट तीब्र र अस्वाभाविक देखिन्छ । 

साल्ट ट्रेडिङले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट लगानीकर्तालाई २० प्रतिशत बोनस सेयर र पाँच प्रतिशत नगद लाभांश गरी कुल २५ प्रतिशत लाभांश दिने सोमबार घोषणा गरेको थियो । यस सँगै कम्पनीको सेयर भाउ घटेको छ । अघिल्लो आर्थिक वर्ष २०७५–७६ को तुलनामा यस कम्पनीको लाभांश दर घटाएको छ ।

लाभांश घटेसँगै कम्पनीको सेयरमा लगानीकर्ताको आर्कषण घटेको देखिन्छ । कम्पनीले आर्थिक वर्ष २०७५–७६ मा २५ प्रतिशत बोनस र १० प्रतिशत नगद गरी कुल ३५ प्रतिशत लाभांश दिएको थियो । गत वर्ष चैतमा लकडाउन हुनुभन्दा अघिल्लो दिन साल्ट ट्रेडिङ कर्पोरेशनको शेयर मूल्य प्रतिकित्ता दुई हजार चार सय रुपियाँ थियो । 

बोनश सेयर वितरण गरेपछि कम्पनीको चुक्ता पुँजी १९ करोड रुपियाँ पुगेको कम्पनीले जानकारी दिएको छ । 

Advertisement

Advertisement