ढल्कोका विद्युतीय रिक्सामा एनसीसी बैंकको क्यूआर कोड सेवा, चालकहरू उत्साहित

काठमाडौं । ढल्कोका विद्युतीय रिक्सा चालकहरूलाई नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैँकले  क्यूआर कोड हस्तान्तरण गरेको छ । अन्य क्षेत्रमा क्यूआर कोडको प्रयोग बढिरहेको बेला एनसीसीले ढल्कोको श्रमिक यातायात अटो रिक्सा प्रा.लि.सँग सहकार्य गर्दै चालकहरूलाई क्यूआर कोड हस्तान्तरण गरेको हो । 

विद्युतीय रिक्सामा एनसीसीले सुरु गरेको क्यूआर कोड भुक्तानी सेवामा नेपाल ट्रेड युनियन महासंघ, श्रमिक यातायात अटोरिक्सा प्रालिको सहकार्य रहेको छ । कार्यक्रममा नेपाल राष्ट्र बैकका कार्यकारी निर्देशक भुवन कँडेलले विद्युतीय भुक्तानी अहिलेको आवश्यकता बनिसकेको बताए । 

उनले भने, ‘स्वस्थ र पारदर्शी बैंकिङ कारोबारमा पनि यसले सघाउ पुर्याउँने छ ।’ प्रदुषणमुक्त सवारी अटो रिक्सामा प्रदुषणमुक्त भुक्तानी सुरुवात भएको कँडेलले बताए । 

एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश अर्यालले सवारी साधनमा क्यूआर कोड राख्दा ग्राहकहरूले पर्स बोक्ने झन्झट नहुने बताए । उनले भने, ‘ग्राहकले तिरेको पैसा एनसीसी बैकमा जम्मा हुन्छ । त्यो पैसा एकातिर सुरक्षित हुन्छ भने अर्कोतिर व्याज समेत आउँछ ।’ 

अर्यालले क्यूआरकोडको प्रयोग व्यापक बन्दै गएको र भोलिका दिनमा रिक्सा चालकले पानीका बोतल किन्नदेखि तरकारी किन्नसमेत क्यूआरकोडको सहायता लिनसक्ने बताए । चालकहरूलाई बिना धितो ऋण दिन पनि एनसीसी बैंक तयार रहेको उनले बताए । 

काठमाडौं महानगरपालिका १७ नम्बर वडाका वडाध्यक्ष नवीन मानन्धरले चालकहरू आफ्नो अनुशासनमा रहनुपर्ने र सम्बन्धित निकायले पनि चालकको गन्तव्य क्षेत्र विस्तार गर्नुपर्ने बताए । उनले हाल १५० को संख्यामा ढल्कुमा विद्युतीय रिक्सा सञ्चालनमा रहेको बताए । 

श्रमिक यातायात अटो रिक्सा प्रालिका अध्यक्ष डम्बर राणाका अनुसार पाईडलबाट सुरु गरेका व्यवसायी अटो रिक्सामा प्रवेश हुँदासम्म कुनै निकायको सहयोग नपाएको बताए । उनले एनसीसी बैंक आफूहरूको सहयोगी बनेर आएको बताए । 

राणाले भने, ‘पाईडल मारेर रिक्सा चलाउनुपर्ने चालक आज विद्युतीय रिक्सासम्म बल्ल–बल्ल आईपुगेका छन् । कुनै पनि वित्तीय संस्थाको सहयोग चालकहरूलाई भएको थिएन् । अहिले एनसीसी बैंकको सहयोग पाएका छौं । हामीले स्वदेशमा उत्पादन हुने बिजुली प्रयोग गरी प्रदुषणमुक्त रिक्सा चलाएका छौं । यसलाई पर्यटन क्षेत्रमा आवद्ध गराउन जरुरी छ ।’ उनले चालकहरूलाई क्यूआर कोड प्रयोग विधिसमेत सिकाउन आवश्यक रहेको बताए । 

नेपाल ट्रेड युनियन महासंघका सचिव सोम तामाङ्ले श्रमिक वर्गलाई लक्षित गरी एनसीसी बैंकको क्यूआर कोड कार्यक्रम ल्याइएकाले यसबाट चालक र ग्राहक दुवै लाभान्वित हुने बताए । 

चालकहरू उत्साहित
एनसीसी बैंकले क्यूआर कोड हस्तान्तरण गरेसँगै विद्युतीय रिक्सा चालकहरूमा उत्साह देखिएको छ । कोरोनाको कहर कायमै रहेको बेलामा पैसा नछोइकन कोरोबार हुने भएकाले चालकहरू उत्साहित देखिएका हुन् ।

मकवानपूरस्थित बकैयाका अटो चालक विजय तामाङले कर्पोरेट नेपालसँग भने, ‘क्यूआरकोड हालसम्म प्रयोग गरेकै त छैन । अब नयाँ कुराको प्रयोग गर्न पाउँदा खुशी लागेको छ ।’

कोशीपारी गोठपानीका विद्युतीय रिक्सा चालक सूर्यमान तामाङले क्यूआरकोड जस्ले प्रयोग गर्छ, उसले नै लाभ उठाउँछ भन्ने अनुमान गरेका छन् । उनले भने, ‘मैले त चलाएको छैन, क्यूआरकोड चलाउँदा चलाउनेलाई फाईदा नै होला जस्तो लाग्छ । अब म पनि यसको बारेमा बुझ्छु ।’