कसरी हुन्छ अन्तर्राष्ट्रिय बजारमा बुक विल्डिङमार्फत आईपीओ निष्कासन ?

Advertisement

काठमाडौं । बुक विल्डिङमार्फत प्राथमिक सेयर निष्काशन (आईपीओ) प्रक्रियामा अहिले चर्चाको विषय बनेको छ । नेपाल धितोपत्र बोर्डले रियल स्टेटका कम्पनीलाई पुँजी बजारमा भित्राउनको लागि बुक विल्डिङमार्फत आईपीओ निष्कासनमा जोड गरिरहेको छ । यसै क्रममा पहिलो पटक यस विधिबाट सर्वोतम सिमेन्ट उद्योगले आईपीओ निष्काशन प्रक्रिया अघि बढाईसकेको छ ।

अन्तर्राष्ट्रिय बजारमा बुक विल्डिङमार्फत आईपीओ निष्कासनको अभ्यास कस्तो छ त ? 
अमेरिका 
संगठित संस्थाले निष्काशन तथा बिक्री प्रबन्धकको सहयोगमा विवरणपत्र तयार गरी युएस सेक्यूरिटिज एक्सचेन्ज कमिशनमा विवरणपत्र स्वीकृतिका लागि निवेदन दिन्छ । संगठित संस्था र निष्काशन तथा बिक्री प्रबन्धकबीच कम्पनीको बुक भ्यालु, बजारको अवस्था, तत्कालिन अन्य सार्वजनिक निष्काशनको मूल्य लगायतको आधारमा मूल्यको सीमाका सम्बन्धमा पनि आवश्यक अध्ययन र छलफल हुन्छ । 

Advertisement

युएस सेक्युरिटिज एक्सचेन्ज कमिशनले प्रारम्भिक विवरणपत्रको अध्ययन गरी जारी गरेको प्रतिक्रियाको प्रतिउत्तरसहित तयार पारिएको विवरणपत्रमा सार्वजनिक निष्काशनको मूल्य सीमासमेत तोकी संशोधित विवरणपत्र दर्ता गरिन्छ ।

 माथिल्लो (अधिकतम) र तल्लो (न्यूनतम) मूल्यको सीमाको फरक साधारणतया दुई अमेरिकी डलर (१२–१४) कायम गरिन्छ । विभिन्न शहर तथा अन्य देशमा सम्वन्धित् कम्पनीले छलफल (रोडसो)को आयोजना गर्छ । रोडसो गर्नुको उद्देश्य ठूला लगानीकर्तालाई सार्वजनिक निष्काशन गर्न लागेको संगठित संस्थाको विषयमा जानकारी दिनु हो । साना लगानीकर्ताका लागि उक्त जानकारी कुनै वेभ पोर्टलमार्फत् दिने व्यवस्था छ । 

यस अवधिमा निष्काशन तथा बिक्री प्रबन्धक (जसलाई बुक कर्नर पनि भनिन्छ)ले अर्डर बुममार्फत् लगानीकर्ताको अडर लिने गर्छ । रोडसोको अवधि ८ देखि १० दिन हुन्छ । यस अवधिपछि निष्काशन तथा बिक्री प्रबन्धक र संगठित संस्थाबीचको छलफलबाट हिट रेट (रोडसोमा सहभागी लगानीकर्तामध्ये आवेदन दिने लगानीकर्ताको संख्या), धितोपत्र खरिदका लागि भएको माग र सोबमोजिम वितरण गर्न मिल्ने धितोपत्रको संख्याको अवस्थालाई आधार मानी मूल्य निर्धारण गरिन्छ । 

चीन 
चीनमा आईपीओ निष्काशन निश्चित मूल्य, बुक विल्डिङ र अक्सन विधि गरी तीन तरिकाबाट हुन्छ । निश्चित मूल्यमा आईपीओ निष्काशन गर्दा निष्काशनकर्ता र प्रत्याभूतिकर्ताले मूल्य निर्धारण गरी धितोपत्र नियामन निकाय चाईना सेक्युटिज एण्ड रेगुलेटरी कमिशन (सीएसआरसी)बाट स्वीकृति लिई जारी गर्दछन् । 

अक्सन विधिबाट आईपीओ निष्काशन गर्दा धितोपत्रको मूल्य निर्धारण निष्काशनकर्ता र प्रमुख प्रत्याभूतिकर्ताले मूल्य आम्दानी अनुपात प्रक्षेपण गर्ने सुत्रमा आधारित भई आधार मूल्य तयार गर्ने र आधार मूल्यलाई न्यूनतम् अक्सन मूल्य राखी लगानीकर्ताले धितोपत्र खरिदका लागि अक्सन गर्नुपर्ने प्रावधान रहेको छ ।

बुक विल्डिङ विधिबाट प्राथमिक निष्काशन गर्दा सर्वप्रथम निष्काशनकर्ता र प्रमुख प्रत्याभूतिकर्ताले मूल्य आम्दानी अनुपात प्रक्षेपण गर्ने सुत्रमा आधारित भई धितोपत्रको मूल्यको अन्तर तयार पारी संभाव्य संस्थागत र साना लगानीकर्ताबाट आशयपत्र माग गर्ने र सो आधारमा मूल्य समायोजन गरी बिक्री खुला गर्ने गरिएको देखिन्छ ।

यी तीनै विधिबाट सार्वजनिक निष्काशन गर्दा धितोपत्रको निष्काशन मूल्य सीएसआरसीबाट स्वीकृति लिनुपर्ने प्रावधान चीनमा रहेको छ । धितोपत्रको मूल्य निर्धारण गर्दा पिई मल्टिपिलरलाई प्रमुख सुचकको रुपमा हेरिने र पिई मल्टिपिलर १५ देखि २० को बीचमा हुनुपर्ने प्रावधान रहेको छ । पिई मल्टिपिलरको गणना गर्दा संगठित संस्थाको प्रक्षेपित आम्दानीलाई आधार मानिने गरेको देखिन्छ । 

भारत 
भारतमा धितोपत्र जारी गर्ने संगठित संस्थाले बुक विल्डिङका लागि इलेक्ट्रोनिक विल्डिङ भएको एक वा एकभन्दा बढी स्टक एक्सचेन्जसँग सम्झौता गर्नुपर्ने व्यवस्था रहेको छ  । 

निष्काशन तथा बिक्री प्रबन्धकले स्टक एक्सचेन्ज तथा धितोपत्र नियामक सेवीबाट अनुमतिप्राप्त धितोपत्र दलाल व्यवसायीलाई लगानीकर्ताबाट धितोपत्र खरिदको बोलकबोल निवेदन तथा अर्डर लिने प्रयोजनका लागि नियुक्त गर्छ । नियुक्त भएको धितोपत्र दलाल व्यवसायीले लगानीकर्ताबाट निवेदनमार्फत् प्राप्त आर्थिक दायित्व पूरा गर्न सक्षम हुनुपर्ने व्यवस्था छ । 

विवरणपत्रको मस्यौदामा प्रतिधितोपत्रको मूल्य नखुलाई निष्काशन गरिने रकम वा धितोपत्रको संख्या खुलाउनुपर्ने तथा निष्काशनकर्ता कम्पनीले विवरणपत्रमा धितोपत्रको न्यूनतम मूल्य वा न्यूनतम र उच्चतम मूल्यको सीमा तोक्छ । 

धितोपत्रको न्यूनतम मूल्य वा न्यूनतम र उच्चतम मूल्य सीमा नतोकिएको सन्दर्भमा दुई दिनभन्दा अघि उक्त मूल्यसम्बन्धी विवरण प्रवाह गर्ने उद्घोषणसहित उक्त मूल्य प्रकाशन गरिने पत्रिकाको नाम र उक्त मूल्य राखिने वेभसाइटको जानकारी विवरणपत्रमा उल्लेख गर्नुपर्छ । 

निष्काशनकर्ता कम्पनीले धितोपत्रको मूल्य सीमा तोक्ने भएमा उच्चतम मूल्य सीमा न्यूनतम मूल्य सीमाभन्दा १२० प्रतिशतभन्दा बढी हुनुहुँदैन् । बोलकबोल अवधिमा मूल्य सीमा परिवर्तन गर्न पाइने र उक्त सीमा परिवर्तन गर्दा न्यूनतम मूल्य २० प्रतिशतसम्म घटबढ गर्न पाइने र सोही बमोजिम १२० प्रतिशतमा नबढ्ने गरी उच्चतम सीमा हुनुपर्ने छ । 

उक्त परिवर्तनको जानकारी सार्वजनिक रुपमा स्टक एक्सचेन्ज, संगठित संस्थाको वेभसाइट र निष्काशन तथा बिक्री प्रबन्धकमार्फत् प्रवाह गरिनुपर्ने तथा सोहीबमोजिम बोलकबोल अवधिसमेत बढाउनुपर्ने व्यवस्था रहेको छ । 

आवेदन साथ आवेदन भएको सम्पूर्ण रकम चुक्ता गरिनुपर्ने र बोलकबोल प्रक्रिया स्टक एक्सचेन्जको इलेक्ट्रोनिक लिङकेड बिडिङ प्रणालीमार्फत् हुन्छ । हरेक दिनको अन्त्यमा धितोपत्रको मागको अवस्था स्टक एक्सचेन्जको वेभसाइटमार्फत् जानकारी गराउनुपर्छ । सर्वसाधारण लगानीकर्ताले बोलकबोल अवधि नसकिएसम्म बोलकबोल रद्द वा पुनरावलोकन गर्न सकिने तर योग्य संस्थागत लगानीकर्ता र गैरसंस्थागत लगानीकर्ताले बोलकबोल रद्द वा पुनरावलोकन गर्न नपाउने व्यवस्था छ । 

सर्वसाधारण लगानीकर्ताले कट–अफ मूल्यमा बोलकबोल गर्न सक्छ । यसरी बोलकबोल गर्दा माथिल्लो सीमा बराबरको रकम बुझाउनुपछ । अगत या मूल्य यकिन भएपश्चात् बाँकी रकम फिर्ता हुन्छ । प्राप्त बोलकबोलबमोजिम निष्काशनकर्ता कम्पनीले सम्पूर्ण धितोपत्र बिक्री हुने मूल्य (कट अफ मूल्य) पत्ता लगाई सो र सोभन्दा माथिको मूल्यमा आवेदन दिने लगानीकर्तालाई अगत या मूल्यमा धितोपत्र बाँडफाँड गर्नुपर्ने व्यवस्था रहेको देखिन्छ । 

बंगलादेश 
निष्काशनकर्ता कम्पनी वा निष्काशन प्रबन्धकले योग्य संस्थागत लगानीकर्तालाई बुक विल्डिङका लागि गरिने रोडसोको समय र स्थान तोकी कम्तिमा १० दिन अगाडि लिखितरुपमा र कम्तिमा ५ राष्ट्रिय दैनिक पत्रिकामा सुचना प्रकाशित गरी जानकारी गराउनुपर्छ । 

प्रस्तावित निष्काशनको आकार, पछिल्लो तीन वर्षको लेखापरीक्षण भएको वित्तीय विवरण, अन्तर्राष्ट्रिय मान्यताबमोजिमको मूल्यांकन विधिअनुसार निष्काशन प्रबन्धकले तयार गरेको मूल्यांकन प्रतिवेदन समेटिएको प्रारम्भिक विवरणपत्र लगानीकर्ताको जानकारीका लागि उपलब्ध गराउनुपर्छ । प्रारम्भिक विवरणपत्रमा निष्काशन मूल्य उल्लेख गर्नुनपर्ने व्यवस्था रहेको छ । 

रोडसो सकिएपछि संस्थागत लगानीकर्ताबाट प्राप्त सल्लाह सुझावबमोजिम प्रारम्भिक विवरणपत्रमा सुधार गर्नुपर्ने भएमा गर्ने र प्रारम्भिक विवरणपत्रमा समेटिएको मूल्यांकन प्रतिवेदनमा मूल्यांकनको औचित्य र आधार उल्लेख गर्नुपर्छ । 

निष्काशनकर्ता कम्पनीले विवरणपत्र र अन्य आवश्यक कागजातसहित बंगलादेश सेक्युरिटिज एक्सचेन्ज कमिशन (बीएसईसी)मा निष्काशन स्वीकृतिका लागि निवेदन पेश गर्नुपर्छ । विवरणपत्र र अन्य कागजातको अध्ययन गरी उपयुक्त ठहरिएमा बुक विल्डिङ विधिमार्फत् योग्य संस्थागत लगानीकर्तालाई बोलकबोल प्रक्रियामा सहभागी गराउने कार्यका लागि बीएसईसीले स्वीकृति प्रदान गर्ने व्यवस्था रहेको छ । 

रोडसोमा सहभागी भएका योग्य संस्थागत लगानीकर्ताहरू धितोपत्रको मूल्य र लिन कबुल गरेको धितोपत्रको संख्या तोकी विद्युतीय प्रक्रियामा सहभागी हुन्छ । तर निष्काशन कम्पनीसँग कन्फिक्ट अफ इन्ट्रेस्ट हुने संस्था बोलकबोल प्रक्रियामा सहभागी हुन पाउँदैन । 

कुनै पनि योग्य संस्थागत लगानीकर्ताले निष्काशन हुने धितोपत्रको १० प्रतिशतभन्दा बढी धितोपत्रका लागि प्रस्ताव पेश गर्न नपाउने व्यवस्था रहेको छ । ७२ घण्टाका लागि बोलकबोल खुला रहने र बीएसईसीको स्वीकृतिमा समयावधि थप गर्न सकिने व्यवस्था छ । बोलकबोल स्टक एक्सचेन्जको स्वचालित सफ्टवेयर प्रणालीमार्फत् गरिन्छ । बोलकबोलकर्ताको नाम उल्लेख नगरिकन धितोपत्रको संख्या र कबोल गरिएको रकम उक्त सफ्टवेयरमा देखिनुपर्नेछ । सो कुरा सबैले हेर्न सक्ने व्यवस्था स्टक एक्सचेन्जले गरेको छ । 

योग्य संस्थागत लगानीकर्ताले कबोल गरेको रकमको न्यूनतम २० प्रतिशत रकम तोकिएको बैंक खातामा जम्मा गर्नुपर्छ । बोलकबोलकर्ताले एक पटकसम्म आफ्नो प्रस्ताव सच्याउनसक्ने व्यवस्था रहेको छ । बोलकबोलको समय सकिएपछि सम्पूर्ण धितोपत्र बिक्री हुने अन्तिम मूल्यलाई निष्काशन मूल्य मानिने र उक्त मूल्यमा १० प्रतिशत छुट दिँदा आउने मूल्य (नजिकको पूर्ण अंक)मा सर्वसाधारणलाई धितोपत्र जारी गरिने व्यवस्था रहेको छ ।

निष्कासन मूल्यमा आवेदन दिने लगानीकर्तालाई समानुपातिकरुपमा धितोपत्र बाँडफाँड गरिने र  निष्काशनकर्ता कम्पनी र निष्काशन प्रबन्धकले बोलकबोलको अवस्था, कट–अफ प्राईज, धितोपत्र बाडफाँड भएका योग्य संस्थागत लगानीकर्ता र तिनीहरूले पेश गरेको मूल्य तथा धितोपत्रको संख्या उल्लेख गरिएको विवरणपत्र तयार गरी बोलकबोल अवधि सकिएको पाँच कार्य दिनभित्र बीएसईसीमा सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गर्ने प्रयोजनार्थ स्वीकृतिको लागि पेश गर्नुपर्छ । 

बीएसईसीमाले आवश्यक अध्ययन गरी उक्त विवरणपत्र स्वीकृत गर्ने र योग्य संस्थागत लगानीकर्ताले कबोल गरेको बुझाउन बाँकी रकम सर्वसाधारणलाई निष्काशन शुरु हुनु अगावै चुक्ता गरिसक्नुपर्ने र पूरै रकम भुक्तानी नगरेमा धरौटीवापत राखिएको रकम जफत गरी बीएसईसीमालाई बुझाई उक्त धितोपत्र सर्वसाधारणमा जारी गरिन्छ । 

पाकिस्तान 
बुक विल्डिङ्ग विधिमार्फत् निष्काशन गर्दा निष्काशन संख्याको ७५ प्रतिशत संस्थागत लगानीकर्ताका लागि र बाकीँ २५ प्रतिशत धितोपत्र सर्वसाधारण लगानीकर्तालाई छुट्याइने व्यवस्था रहेको छ ।

सर्वसाधारण लगानीकर्तालाई छुट्याइएको धितोपत्र पूर्ण रुपमा विक्री नभएमा बुक विडिङमा सहभागी हुने संस्थागत लगानीकर्ताले पाउन सक्ने गरी बुक विडिङ विधिमार्फत् निष्काशन गर्दा नै शत प्रतिशत धितोपत्रका लागि निष्काशन खुला गरिने र सोको ७५ प्रतिशतमात्र बाडफाँट गरिने व्यवस्था छ । 

पछि सर्वसाधारण लगानीकर्तालाई छुट्याइएको धितोपत्र पूर्ण रुपमा विक्री नभएमा आवेदन दिएका संस्थागत लगानीकर्तालाई बाडफाँट गरिने (यस्तो अवस्थामा सर्वसाधारणलाई जारी गरिने धितोपत्रको प्रत्याभूति गर्न नपर्ने) व्यवस्था रहेको छ ।

बुक विल्डिङ विधिमार्फत् निष्काशन गर्दा निष्काशन संख्याको ७५ प्रतिशत संस्थागत लगानीकर्ताका लागि र बाकीँ २५ प्रतिशत धितोपत्र सर्वसाधारण लगानीकर्तालाई छुट्याइने व्यवस्था रहेको छ । 

सर्वसाधारण लगानीकर्तालाई छुट्याइएको धितोपत्र पूर्ण रुपमा विक्री नभएमा बुक विडिङमा सहभागी हुने संस्थागत लगानीकर्ताले पाउन सक्ने गरी बुक विल्डिङ विधिमार्फत् निष्काशन गर्दा नै शत प्रतिशत धितोपत्रका लागि निष्काशन खुला गरिने र सोको ७५ प्रतिशतमात्र बाडफाँट गरिने व्यवस्था रहेको छ । 

पछि सर्वसाधारण लगानीकर्तालाई छुट्याइएको धितोपत्र पूर्ण रुपमा विक्री नभएमा आवेदन दिएका संस्थागत लगानीकर्तालाई बाडफाँट गरिने (यस्तो अवस्थामा सर्वसाधारणलाई जारी गरिने धितोपत्रको प्रत्याभूति गर्न नपन व्यवस्था रहेको छ । 

सर्वसाधारणलाई जारी गरिने धितोपत्रको एक वा एकभन्दा बढी प्रत्याभूतिकर्ता मार्फत प्रन्याभूति गरिनुपर्ने र योग्य संस्थागत लगानीकर्तालाई गरिने धितोपत्रको प्रन्याभूति गर्न सकिने र निष्काशनकर्ता कम्पनीको सहायक कम्पनी वा कनफीक्ट अफ इन्टे«स्ट भएका अन्य संस्थाले यो प्रक्रियामा सहभागी हुन नपाउने व्यवस्था रहेको छ । 

निष्काशनकर्ता कम्पनीले निष्काशन तथा बिक्री प्रबन्धकको परामर्शमा धितोपत्रको न्यूनतम मूल्य वा न्यूनतम र अधिकतम मूल्यको सीमा तोक्नुपर्दछ । यसरी मूल्य सीमा तोक्दा अधिकतम मूल्य सीमा न्यूनतम मूल्यको ४० प्रतिशतभन्दा बढी हुनुहुदैन उक्त मूल्यको मूल्यांकन विधि र आधारका सम्बन्धमा विवरणपत्रको “मूल्यांकन खण्ड” मा जानकारी प्रवाह गर्नुपर्ने व्यवस्था रहेको छ । 

निष्काशनकर्ता कम्पनीले उक्त विवरणपत्र सेक्यूरिटिज एक्स चेन्ज कम्यूसन  अफ पाकिस्तान (एसईसीपी) स्वीकृतिका लागि निवेदन दिनुपर्ने र एसईसीपीबाट स्वीकृत भइसकेपश्चात् निष्काशन तथा बिक्री प्रबन्धकले स्टक एक्सचेन्जबाट विवरणपत्र प्रकाशन तथा बोलकबोल अवधिको स्वीकृति लिनुपर्दछ । 

एसईसीपीले स्वीकृत गरेको विवरणपत्र कम्तीमा एउटा अंग्रेजी र एउटा उर्दू पत्रिकामा प्रकाशन गर्नुपर्ने व्यवस्था रहेको छ । विवरणपत्र स्वीकृत भएपश्चात् उक्त विवरणपत्रमा बोलकबोलको मिति राखी निष्काशनकर्ता कम्पनी, निष्काशन तथा बिक्री प्रबन्धक, स्टक एक्सचेन्ज, केन्द्रीय निक्षेप कम्पनी तथा राफसाफ कम्पनीको वेभसाइटमा राख्नुपर्ने व्यवस्था रहेको छ । 
बोलकबोल प्रक्रिया विद्युतीय माध्यबाट संचालित सफ्टवेयरमा स्वच्छ, प्रभावकारी र पारदर्शी तरीकाले संचालन गर्नुपर्ने व्यवस्था छ ।  विवरणपत्र स्वीकृत भएपश्चात् धितोपत्रको न्यूनतम मूल्य सीमा परिवर्तन गर्न नपाउने प्रभधान रहेको छ । 

बोलकबोलमा सहभागी हुने संस्थागत लगानीकर्ताको बोलकबोलका लागि नाम दर्ता गर्ने कार्य विड कलेक्सन सेन्टर मार्फत् बोलकबोल शुरु हुनुभन्दा तीन कार्य दिन अगाडिदेखि बोलकबोल गर्न पाउने अन्तिम दिनको कार्यालय समय सकिनुभन्दा दुई घण्टा अगाडिसम्म गर्न पाउने व्यवस्था छ ।  विड कलेक्सन सेन्टर कम्तिमा मुख्यमुख्य शहरमा राख्नुपर्ने व्यवस्था रहेको छ । 

बोलकबोलकर्ताको विवरण सफ्टवेयरमा प्रविष्ट भइसकेपछि स्टक एक्सचेन्ज वा केन्द्रीय निक्षेप कम्पनी वा राफसाफ कम्पनीले बोलकबोलकर्ताको युजर आईडी र पासवर्ड बोलकबोलकर्तालाई प्रदान गर्नुपर्ने र बोलकबोलकर्ताले सफ्टवेयरमार्फत् बोलकबोल गर्ने तथा बोल मूल्य बढाउन सक्ने व्यवस्था रहेको छ । 
श्रोत नेपाल धितोपत्र बोर्ड 

Advertisement

Advertisement