प्रधानमन्त्रीले मेलम्चीमा देखाएको तमासा अब माथिल्लो तामाकोशीमा हेर्न पाइन्छः गगन

Advertisement

काठमाडौं । नेपाली काँग्रेसका सांसद गगन थापाले उदघाटन र शिलान्यासको नाममा प्रधानमन्त्री केपी आली र वर्तमान सरकारले तमासा देखाएको बताएका छन् । संसदमा बोल्दै बिहीबार उनले १५–२० बर्ष ढिलो गरी सम्पन्न गरेको मेलम्ची खानेपानी आयोजनामा प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्या भण्डारीले तमासा गरेको भन्दै अब यो तमासा माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा हेर्न पाइने बताए । 

थापाले सरकार बनेको तीन वर्षमा केके काम भए ? भन्ने बहस गर्न आफूहरू तयार रहेको भन्दै भने, ‘तथ्य र तथ्यांकमा टेकेर बहस गर्न म तपाईंलाई संसदमा निम्तो दिन चाहन्छु ।’ उनले उदघाटन र शिलान्यास गर्दै चमत्कार भयो भन्दैमा विकास नहुने भन्दै मेलम्ची आयोजना ढिलो भएकोमा काठमाडौंवासीसँग प्रधानमन्त्रीसहित जिम्मेवार सबैले माफी माग्नुपर्ने बताए । 

Advertisement

नेता थापाले २०७३ सालमै सक्नुपर्ने माथिल्लो तामाकोशी बल्ल सकिन्न लागेको बताउँदै २०७१ सालमै ८० प्रतिशत काम सक्किएको उक्त आयोजना भूकम्प र नाकाबन्दीका कारण केही समय लागे पनि २०७५ वा २०७६ सालमै सक्किनुपर्नेमा अझै पूर्णरुपमा नसक्किएको बताए । वैशाखबाट पहिलो युनियन सञ्चालन हुन लागेको माथिल्लो तामाकोशीमा पनि उदघाट्नका नाममा मेलम्चीमा जस्तै तमासा हेर्न पाइने उनले बताए । 

नेता थापाले भने, ‘गज्जबै भयो, चमत्कारै भयो, प्रधानमन्त्री त कस्तो कस्तो ! फ्याट्ट पानी झारिदिनुभयो । बिजुली बालिदिनुभयो भनेर कविता सुन्न पाइने छ ।’ कोही फाष्ट ट्राक, बुढीगण्डकी, पश्चिम सेती, कर्णाली कोरिडोर, कोशी कोरिडोर, बबई सिंचाईलगायतका बर्षौंदेखि थला परेका आयोजनाहरूको कोही कुरा नगर्ने तर बर्षौं ढिलो गरी बनाइएका आयोजना मैले गरें, चमत्कार गरें भनेर प्रचार गर्ने ? भन्दै उनले भौतिक पूर्वाधारको विकासका लागि हाम्रा संरचना, कानुन, कार्यशैली, निर्माण व्यवसायीमा समस्या रहेको बताए । 
 

Advertisement

Advertisement