नीतिगत एवं प्रक्रियागत झन्झट हटाउन म लागिरहेको छु, तपाईंहरूले साथ दिनुहोलाः ओली

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले रोजगारीका अवसर सिर्जना, उत्पादन र उत्पादकत्व वृद्धिलाई केन्द्रमा राखेर काम गर्न उद्यमी– व्यवसायीलाई आह्वान गरेका छन् । नेपाल चेम्बर अफ कमर्शको ७०औँ वार्षिक साधारणसभामा बिहीबार उनले रोजगारीका अवसरका साथै उत्पादन र उत्पादकत्व बढाउनेतर्फ स्रोत परिचालन गर्नुपर्ने बताए । 
     
अन्य उद्यमी–व्यवसायीलाई पनि उत्पादकत्व वृद्धिका निम्ति अभिप्रेरित गर्न तथा त्यसकै लागि लगानी बढाउन आग्रह गर्दै ओलीले नीतिगत एवं प्रक्रियागत झन्झट झेल्ने परिस्थितिको अन्त्य गर्न आफू लागिपरेको बताए । उनले भने, “प्रक्रियाको जञ्जालबाट सरलीकरणतर्फ जान जरुरी छ, एकद्वार प्रणालीलाई प्रभावकारी बनाउँछौँ, प्रशासनिक झन्झट पनि अन्त्य गछौं ।”, 

उद्योगी–व्यवसायीले व्यहोर्नुपरेका कठिनाइबारे जानकार रहेको भन्दै ओलीले  त्यस्ता व्यवधान चिरेर छाड्ने बताए । एकद्वार प्रणालीलगायत सरकारले उद्योग तथा लगानीमैत्री वातावरण बनाउन अवलम्बन गरेका सुधारका कार्यक्रमलाई अझ सरल र सहज तुल्याइने उनले बताए ।      

Advertisement

प्रधानमन्त्री ओलीले अत्यावश्यक उपभोग्य वस्तु मात्र आयात गर्न तथा निर्यातमूलक सामग्रीको उत्पादन बढाउन सुुझाउँदै आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनबाटै व्यापार असन्तुलन घटाउन सकिने बताए । “देश निर्माण गर्ने सङ्कल्प र आत्मविश्वासका साथ अघि बढ्नुहोस्, तपाइँहरुलाई सघाउन सरकार तयार छ”, उनले भने– “राष्ट्रको औद्योगिक विकासका लागि सरकार स्पष्ट दृष्टिकोणका साथ अघि बढिरहेको तथा त्यसलाई कार्यान्वयन गर्न निजी क्षेत्रको साथ र सहयोग अपरिहार्य छ ।” 

देशको विकास र विकासको समुचित प्रतिफल नेपाली जनतामा पुर्याउने वर्तमान सरकारको लक्ष्यलाई साकार पार्न आफू क्रियाशील रहेको ओलीको कथन थियो ।     
राष्ट्रको विकास तथा आर्थिक उन्नयनका लागि नीति, कार्यक्रम, योजना र लक्ष्य निर्धारण गर्ने मात्र नभई विषयगत रुपमा पनि लक्ष्य बनाएर सरकार अघि बढिरहेको बताउँदै उनले कोरोना भाइरस पुनः प्रकट भएकामा चिन्ता व्यक्त गरे । 

ओलीले सबैलाई सचेत रहन तथा सावधानी अपनाउन आग्रह गर्दै सरसफाइ र व्यक्तिगत स्वास्थ्यमा विशेष ध्यान दिन आग्रह गरे । देशलाई पुनः ठप्प पार्ने बाध्यात्मक परिस्थिति सिर्जना नहोस् भन्नेतर्फ सम्पूर्ण नेपाली जनता जागरुक हुनुपर्ने ओलीको भनाई थियो ।      
     
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले देशको आर्थिक विकासका लागि अग्रपङ्तिमा रहेर काम गरिरहेको निजी क्षेत्रको प्रवद्र्धनमा सरकारले सघाउने बताए । सरकारका लागि विश्वासिलो साझेदार तथा नेपाली जनताका लागि उन्नत भविष्यको सारथीका रुपमा चेम्बरले आफ्नो परिचय बनाएको उनले बताए । 

चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले कोभिड सङ्कटका कारण मुलुकको अर्थतन्त्र नराम्ररी प्रभावित भएको तथा यसले गति लिन नसकेको बताउँदै पर्यटनलगायत कतिपय क्षेत्रमा भएको खर्बौं लगानी जोखिममा परेको उद्यमी–व्यवसायीका पीडा सुनाए । “३९ खर्ब ४३ अर्बको हाम्रो अर्थतन्त्रको आकार आफैँमा त्यति ठूलो नभएकाले अर्थतन्त्रलाई कोरोना र यस्तै महामारीबाट जोगाउन साधन स्रोतको अभावभन्दा पनि इच्छाशक्ति जरुरी देखिन्छ,” श्रेष्ठले भने ।     
।     

प्रधानमन्त्रीद्वारा छ उद्यमी सम्मानित     
     
प्रधानमन्त्री ओलीले मुलुकको उद्योग वाणिज्य क्षेत्रको विकासमा उल्लेखनीय योगदान गरेबापत छ जना उद्यमी–व्यवसायीलाई सम्मान गरे । उनले चेम्बरका छ जना पूर्वअध्यक्षको स्मृतिमा स्थापना गरिएका ती सम्मान प्रदान गरेका हुन ।     
     
प्रधानमन्त्रीले ‘ईश्वरलाल लाइफ टाइम एचिभमेन्ट अवार्ड’ पञ्चकन्या समूहका अध्यक्ष प्रेमबहादुर श्रेष्ठ, वनवारीलाल मित्तल स्मृति सम्मान सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीका अध्यक्ष चिन्तामणि न्यौपाने तथा महिला उद्यमीतर्फको जनकदास श्रेष्ठ स्मृति सम्मान इन्दिरा सापकोटालाई प्रदान गरे । उद्यमी सापकोटालाई उनले नगद रु एक लाख ५० हजार पनि प्रदान गरे ।     
     
त्यसैगरी ओलीले गोल्यान समूहका अध्यक्ष पवनकुमार गोल्यानलाई कृषि क्षेत्रको विकासमा गरेको योगदानको कदर गर्दै राजबहादुर चिपाली स्मृति सम्मान, भाटभटेनी सुपर मार्केटका अध्यक्ष मीनबहादुर गुरुङलाई जुद्धबहादुर श्रेष्ठ स्मृति सम्मान तथा विशाल ग्रुपका अध्यक्ष जगदीश अग्रवाललाई इन्द्रभक्त स्मृति सम्मान प्रदान गरे । रासस

Advertisement

Advertisement