सेयर बजारको साप्ताहिक समीक्षाः बजार पुँजीकरण रु. ३७ खर्ब माथि पुग्दै नयाँ रेकर्ड

Advertisement

काठमाडौं । सेयर बजारमा यो साता ऐतिहासिक रेकर्ड कायम भएको छ । सेयर बजार परिसूचक नेप्सेले साताको तेस्रो कारोबारको दिन मंगलबार नयाँ रेकर्ड कायम गर्न सफल भएको हो । 

मंगलबार नेप्से २६७४ दशमलव ४७ विन्दुमा बन्द भएको थियो । यस्तै, नेप्से बुधबार इन्ट्रा डे कारोबारमा २६९४ दशमलव ९८ को उच्च विन्दुसम्म पुग्न सफल भयो । यता बिहीबार पनि सेयर बजारमा सामान्य अंकको सुधार आएर २६७४ दशमलव ३५ विन्दुमा बन्द भयो । 

Advertisement

गत साताको तुलनामा यो साता समग्रमा नेप्से सूचक १ दशमलव ६१ प्रतिशतले वृद्धि भएको छ । गत साता नेप्से २६३१ दशमलव ९० विन्दुमा बन्द भएको थियो । गत साताको तुलनमा यो साता कारोबार रकममा पनि उल्लेख्य सुधार भएको छ । 

बिहीबार सेयर कारोबार रकम छ अर्ब ५६ करोड रुपियाँको भयो भने बजार पुँजीकरण ३७ खर्ब रुपियाँ भन्दा बढि भएको छ । यो बजार पुँजीकरण पनि हालसम्मकै उच्च हो ।

यस्तो छ दैनिक कारोबार रकम 
गत साताको तुलनामा यस साता दैनिक कारोबार रकममा उल्लेख्य सुधार भएको छ । बिहीबार सबैभन्दा थोरै ६ दशमलव ५६ अर्ब रुपियाँको सेयर खरिद बिक्री भएको छ भने आइतबार सबैभन्दा धेरै नौ अर्ब रुपियाँ बराबरको सेयर कारोबार भयो । यस साता औसतमा दैनिक ७ दशमलव १५ अर्ब रुपियाँको सेयर किनबेच भएको देखिन्छ ।

यस्तो छ सामूहिक कारोबार अवस्था 
यस साता सामूहिक कारोबार अवस्था मिश्रित देखिएको छ । समूहगत कारोबार हेर्दा आधा समूहका सुचकहरू बढेको छ भने आधामा गिरावट आएको छ । सबैभन्दा धेरै होटल तथा पर्यटन समूहमा १५ दशमलव ४७ प्रतिशत वृद्धि भएको छ । त्यसपछि, माइक्रो फाइनान्स ६ दशमलव ९१ प्रतिशत र फाइनान्स ६ दशमलव ६७ प्रतिशत वृद्धि भएको छ । ट्रेडिङ समूह भने सबैभन्दा धेरै १५ दशमलव ०५ प्रतिशले घटेको छ । लगानी समूह २ दशमलव ६४ प्रतिशत र निर्जीवन बीमा समूह शुन्य दशमलव ८४ प्रतिशतले घटेको छ । 

धेरै कमाउने कम्पनी 
यस साता एनआइसी एसिया लघुवित्तको सेयर भाउ सबैभन्दा धेरै ६० दशमलव ७६ प्रतिशतले वृद्धि भएको छ । स्वदेशी लघुवित्तसँग मर्जरमा गएका कारण लामो समयसम्म यस कम्पनीको सेयर कारोबार रोक्का रहेको थियो । कारोबार खुल्ना साथै यस लघुवित्तको सेयर भाउ सर्किट लागेर बढ्नेक्रम जारी रहेको छ । 

त्यसै, दोस्रोमा वोमी लघुवित्तको भाउ ३१ दशमलव ९५ प्रतिशत र तेस्रोमा चन्द्रागिरी हिल्सको २८ दशमलव ०५ प्रतिशतले भाउ बढेको छ ।

सबै भन्दा धेरै घटेका कम्पनी 
यो साता अजोड इन्स्योरेन्स कम्पनीको भाउमा सबैभन्दा धेरै गिरावट देखिन्छ । यस कम्पनीको सेयर १८ दशमलव ०४ प्रतिशतले गिरावट आएको छ । बीमा समितिले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव स्थगन गर्न निर्देशन दिएपछि अजोडको भाउमा गिरावट आएको हो । दोस्रोमा साल्ट ट्रेडिङ कर्पोरेसनको भाउ १५ दशमलव ८९ प्रतिशत र तेस्रोमा रैराङ हाइड्रोपावरको भाउ ५ दशमलव ५० प्रतिशतले घटेको छ ।
 

Advertisement

Advertisement