पटक पटक मन्त्रीले कमिशन माग्दा पनि नदिएपछि सरुवा गरिएको खुलासा

Advertisement

काठमाडौं । वैदेशिक रोजगार विभागका महानिर्देशक (डिजी)ले लगेर सम्वन्धित् मन्त्रीलाई कमिशन नखुवाएसम्म टिक्न नसक्ने अवस्था रहेको खुलासा गरेका छन् । कर्पोरेट नेपालसँगको कुराकानीमा उनले हालको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीलाई कमिशन बुझाउन नसकेकाले आफ्नो सरुवा भएको बताए । 

दाहालको विभागबाट लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालयमा सरुवा गर्ने निर्णय भइसकेको छ । उनले आफूलाई मन्त्रीले पटक पटक पैसा बुझाउन दबाब दिएको तर आफूले अस्वीकार गर्दै आएको बताउँदै अन्ततः आफूलाई सोही कारण विभागबाट सरुवा गरिएको बताए । 

Advertisement

महानिर्देशक दाहालले कमिशन नबुझाएको र वैदेशिक रोजगारीभित्रको ठगी तथा बिकृति हटाउन सम्झौताहिन काम गरेकाले आफूलाई यसअघि नै पटक पटक सरुवा गर्ने काम भएको बताउँदै अहिले अरुलाई सरुवा गरेको मेसोमा आफूलाई पनि विभागबाट सरुवा गरेको बताए । 

उनले वैदेशिक रोजगारीका क्षेत्रमा व्यक्तिगत र संस्थागतरुपमा निकै ठूलो ठगी हुने गरेको पनि सुनाए । दाहालले पछिल्लो समयमा ओरेन्टेशनका नाममा दर्जनौ संस्थाबाट सोझा सिधा जनतामाथि ठगी भइरहेको भन्दै केहीलाई आफूहरूले बन्द पनि गरिदिएको बताए । स्वास्थ्य परीक्षणका नाममा पनि त्यस्तै ठूलो संगठित ठगी भइरहेको उनले खुलासा गरे । 

दाहालले विदेश पठाइदिन्छौं भन्दै लाखौं रुपियाँ ठगी गर्ने क्रम लामो समयदेखि जारी रहेको बताउँदै यसलाई नियन्त्रण गर्ने काम कतैबाट नभएको बेला आफूले त्यसमा कडाई गरेको र आफै त्यस्ता ठगहरूको निशानामा रहेको बताए । 

वैदेशिक रोजगारीका नाममा ठगी नरोकिनुमा नेता र कर्मचारी दुवै खराब हुनुको परिणती भएको दाहालको ठहर छ । पैसाको प्रलोभनमा नेतादेखि कर्मचारीहरू जस्तोसुकै खराब काममा पनि मौन बस्ने प्रवृत्ति रहेको उनले बताए । 

दाहाल भन्छन्, ‘देखादेखी पैसा उठाइन्छ । खुलेआम पैसा उठाइन्छ । व्यवसायका नाममा ठगी धन्दा बर्षौंदेखि चल्दै आएको छ । कामदारको खरीदबिक्री भइरहेको छ । एउटाले अर्कोलाई ठग्न प्रोत्साहन गरिरहेको छ । अहिल हामीले थुप्रै प्रमाण संकलन गरेका छौं ।’

सबैभन्दा दुःखको कुरा ठगिनेले न्याय पाउँदैनन् भन्दै उनले भने, ‘जब तपाईंले यो कुर्सीमा बसेर न्याय दिन थाल्नुहुन्छ, तब तपाईं यहाँ टिक्नुहुन्न् ।’ उनले आफू विभागमा १४ महिना टिक्नुलाई अनौठोरुपमा लिएको बताए । 

आफूलाई विगत सात–आठ महिनादेखि सरुवा गर्ने प्रयास भइरहे पनि ग्रहदशा नमिलेर सरुवा गर्न उनीहरू असफल हुँदै आएको बताउँदै दाहालले मानिसहरु इमान्दार नहुँदा वैदेशिक रोजगारीसम्वन्धी निकायमा काम गर्नेहरू बदनाम हुँदै आएको बताए । उनले भने, ‘कामका लागि वैदेशिक रोजगारीमा जाने ३५ लाखलाई सोध्नुहोस्, कसैले पनि गालीभन्दा केही गर्दैन् । त्यो किन भयो भने विगतमा हामी कोही पनि इमान्दार भएनौं । 

आफू आएपछि वैदेशिक रोजगारी विभागको कामलाई डिजिटलाइज गर्ने र प्रभावकारी अनुगमन गरी समस्या पहिचान गर्ने, बिकृति नियन्त्रण गर्ने काम गरेको बताए । उनले भने, ‘यो बीचमा साउनदेखि यता हामीले यति धेरै क्षतिपूर्ति दिगौं, संस्थागतरुपमा लगभग १० करोड रुपियाँ बराबर छ । अझै एक–डेढ करोड पाइपलाइनमा छ । झण्डै सय जना मानिसहरू पक्राउ गरी कारवाही गरें ।’ 

इच्छाशक्ति भयो भने धेरै काम गर्न सकिन्छ भन्दै तर प्रतिरोध गर्न निकै गाह्रो रहेको बताए । माथिकालाई काम गर्ने इच्छाशक्ति भएको कर्मचारीभन्दा चाकडी गर्ने कर्मचारी चाहिन्छ भन्दै वैदेशिक रोजगार विभागमा घुस नखाने कर्मचारी निकै थारै मात्रै पाइने बताए । उनले भने, ‘मैले १४ महिनामा धेरै प्वालहरु थुनिसकेको थिएँ । अरु १४ महिना बस्न पाएको भए नियमनमा ल्याउन सकिन्थ्यो । तर त्यो संभावना कम छ ।’

दाहालले वैदेशिक रोजगारीमा मौलाएको ठगीले लामो समय लगाएर जरा गाडेकोले यसलाई उखेल्न पनि केही समय लाग्छ भन्दै कतार प्रहरीमा भर्ना गर्ने नाममा हुन लागेको सिण्डिकेट र ठगीलाई आफूहरूले रोक्न सफल भएको दाबी गरे । यस क्षेत्रलाई व्यवस्थित गर्न सरकारको नीति पनि स्पष्ट हुनुपर्ने र सम्वन्धित देशका दूतावासहरूले पनि सहयोग गर्नुपर्ने उनले बताए । नेपाली दूतावासहरू दर्शक जस्तो बनेको उनको तर्क छ । ‘सरकार दर्शक बन्न हुँदैन, फिल्डमा उत्रिनुपर्छ’, उनले भने । 

महानिर्देशक दाहालले कामदार, म्यानपावर कम्पनी, सम्वन्धित देशको कम्पनी र दूतावास पारदर्शी नभएसम्म विभाग पनि सुधार हुन्न भन्दै म्यानपावर कम्पनीहरू संस्थागत ठगीमा लागेको बताए । ठगी गर्ने कार्यमा लाग्ने एजेन्टहरूको संख्या ठूलो रहेको उनले बताए । 

माल्टा, कोरिया, मकाउ, पोल्ड जान भन्दै १० देखि १५ लाख रुपियाँसम्म अशुल्ने गरिएको दाहालले बताए । उनले भने, ‘भित्रभित्रै पैसा उठाएको छ, पठाएको छ, तर सरकार केही गर्न सक्दैन् । न सरकार ती देशमा श्रम स्वीकृति खोल्न पहल गर्छ, न नियमनमा कठाई गर्न दिन्छ । यसलाई नियमन गर्न विभागलाई जिम्मेवारी दिनुपर्यो ।’ 

विभागलाई काम गर्न स्वतन्त्र छोडिदिने र नचटपटाईकन काम गर्न बाध्य पार्ने हो भने धेरै बिकृति नियन्त्रण हुने थियो भन्दै दाहालले विभागका महानिर्देशकसँग कुनै नेताले पैसाको अपेक्षा गर्न नहुने बताए । उनले भने, ‘डिजीले पैसा उठाएर दिन्छ भन्ने अपेक्षा गर्नुभएन् । मुख्य कुरा डिजी बिक्री हुनुभएन् । यति पैसा लिएर वैदेशिक रोजगार विभागमा डिजी ल्याउँछु । यति पैसा ऊबाट अशुल गर्छुभन्ने प्रवृत्ति जब अत्य हुन्छ, तब डिजीले धेरै काम गर्नसक्छ ।’ 

मैले यदि रकम अशुल गर्दै हिँडेको थिएँ भने के मैले यसरी शिर ठाडो गरेर तपाईंहरूसँग कुरा गर्न सक्थे ? भन्दै दाहालले प्रश्न पनि गरे । आफूलाई धेरै मानिसले १४ महिनादेखि हेरिरहेको र कुनै सानो गल्ती गरेको थिएँ भने अहिले सजाय भोगाइसकिन्थ्यो भन्दै उनले आफूले गरेको कुनै बदमासीको प्रमाण देखाउन पनि चुनौति दिए । 

दाहालले आफूले गरेको स्टिङ अपरेशन ९९.९९ प्रतिशत सफल भएको र त्यस्ता अपरेशनमा बदमासी गर्ने कर्मचारीलाई कारवाही पनि गरेको सुनाउँदै म सम्झौता गर्ने व्यक्ति भएको भए अहिले पनि बाणिज्य तथा आपूर्ति विभागमा महानिर्देशक रहिरहन्थें भने । धेरै डिजी र कर्मचारीहरूले डिल गर्दै फाइदा उठाउने भएकाले कुरा दाहाल पनि त्यही नै होला भन्ने धेरैलाई लाग्नु स्वाभाविक भए पनि आफू गलत कुरामा कहिल्यै सम्झौता नगर्ने व्यक्ति भएको बताए । यद्यपि आफ्नो यही स्वाभावका कारण कुनै दिन आफूलाई कुनै फेक केशमा फँसाउनसक्ने बताउँदै तर डराएर गलत सम्झौता भने नगर्ने बताए । 

महानिर्देशक दाहालले भने, ‘कसेसम्म पैसामा फँसाउने, नभए महिलाहरूसँग जोडेर नैतिक पतन गराउन प्रयास हुनसक्छ । यो मानिस खराब हो भन्दै सामाजिकरुपमा बदनाम गराउन सकियो भने त्यस्ता व्यक्ति समूहको अभिष्ट पूरा हुन्छ ।’ मन्त्री र नेताहरू दलालबाट मुक्त हुन सक्यो भने मात्रै यो देश बन्छ भन्दै उनले अनि मात्रै विभागका डिजीहरूले पैसा उठाएर मन्त्री र नेतालाई बुझाउनुपर्ने अवस्था अन्त्य हुने बताए । दलालहरूले कर्मचारीहरूलाई किनबेचको बस्तु बनाएर सरुवा बढुवा गर्दा त्यसको मार सर्वसाधारण कामदारहरूलाई पर्ने दाहालले बताए । 

उनले भने, ‘यहाँ रुँदै आउँछन् । पीडा पोख्छन् । मैले त्यस्ता पीडितहरूलाई निर्वाधरुपमा पहुँच दिएको छु विभागमा । उनीहरूको कुरा सुनेर अधिकतम् न्याय दिने प्रयास गरेको हुन्छ । सबैले त्यो गर्दैनन् । म टेलिफोन सबको उठाउँछु । कुरा सुन्छु । विभागले गर्नुपर्ने दायित्व के के हो त्यो पूरा गर्न मैले कसर बाँकी राख्दिन् । 

महानिर्देशक दाहालले म्यानपावर कम्पनी र त्यसका सञ्चालकहरूको सम्पत्ति सम्पत्ति शुद्धीकरण विभागले हेर्नुपर्ने बताए । मन्त्री र नेताले वैदेशिक रोजगारीमा जानेहरूबाट एक रुपियाँ पनि कमिशन नखाने, दलालहरूबाट टाढा रहने र डिजीबाट कुनै अपेक्षा नगर्ने प्रतिवद्धतासहित माथिबाट सुधार थाल्ने हो भने तल पनि सजिलै सुधार आउने उनको विश्लेषण छ । 

दाहालले गरिवी र बेरोजगारीका कारण विदेशिन बाध्य भएका युवाहरूलाई शोषण धन कमाउने काम बन्द हुनुपर्छ भन्दै विदेशिन बाध्य युवाहरूलाई काम गर्न बाहिर पठाउँदैमा रोजगारी दिएँ भन्ने म्यानपावर कम्पनीको तर्क कुतर्क भएको बताए । म्यानपावर कम्पनी कुनै समाज सेवाका लागि गरिएको होइन् भन्दै इच्छा नभए अर्को पेशा अपनाउन सुझाव दिए । ‘उहाँहरूले घुर्की लगाउन मिल्छ ? राज्यले उहाँहरूलाई बाध्य बनाएर म्यानपावर व्यवसायी बनाएको हो र ? ठगीका घटना आएका आएै छन्, जनताले ठग भन्दैनन त ?’ दाहालले प्रश्न गरे । 

महानिर्देशक दाहालले आफूले रातभरी नाउ खियाउँदा पनि नाउँ जहाँको त्यहीं छ भन्दै नाउ खोल्न सकेपछि मात्रै गन्तव्यतर्फ अघि बढ्न सकिने तर्क गरे । गौरिशंकर चौधरी माओवादी केन्द्र छोडेर हालै एमालेमा प्रवेश गरेका नेता हुन् । माओवादीले कारवाही गरेका कारण बिहीबार मन्त्री पद गुमाएका उनले आजै मात्र श्रम तथा वैदेशिक रोजगार मन्त्रालयमा पुनर्निनियुक्ति पाएका छन् । 

Advertisement

Advertisement