औषधिको खपत घट्यो, के होला थपिंदै गरेका ३७ नयाँ कम्पनीको भविष्य ?

Advertisement

काठमाडौं । नेपालमा गत वर्षको चैतदेखि कोरोना महमारी न्यूनिकरण गर्न गरिएको बन्दाबन्दीसँगै औषधिको खपत घटेको छ । चालू आर्थिक वर्षको ८ महिनामा औषधिको आयातमा पनि कम भएको छ । औषधिको खपत गत वर्षको सोही अवधिको तुलनामा ६ प्रतिशतले घटेको देखिन्छ । चैतदेखि सरकारले कोभिड–१९ को संक्रमण नियन्त्रण तथा न्यूनीकरण गर्न गरेको बन्दाबन्दीपछि दैनिक गतिविधि घटेको र त्यसको प्रभाव स्वरूप औषधिको खपत पनि कम हुन पुगेको औषधि व्यवसायी बताउँछन् । व्यवयासीको अनुसार सचेतनाले रोग कम लागेको र औषधिको खपत पनि घटाएको देखिएको हो ।

कोरोनो महामारीसँगै सबै मानिस घरभित्रै बसेको र कोभिड संक्रमण हुन सक्छ भनेर अपनाएको सचेतनाका कारण अरू रोग पनि कम लागेकाले औषधिको खपत नै कम हुन पुगेको नेपाली औषधि उत्पादकको बुझाइ छ । कोभिड लागेपछि सबै औषधि कम्पनीको उत्पादन र खपत पनि घट्यो भने बाहिरबाट आउने औषधि पनि कम भएकोले पनि घटेको हुनसक्ने तर्क नेपाल औषधि उत्पादक व्यवसायी संघको छ ।

Advertisement

औषधि व्यवसायी थोक विक्रेता संघका महासचिव गणेश नेपाल एक वर्षदेखि औषधिकाके व्यापार मात्रै कम र माग पनि कम नै भएको बताउँछन् । उनले भने ‘गर्मी महिनामा औषधिको बढी खपत हुने गरेको भएपनि गत वर्षदेखि भने गर्मीमै औषधिको कारोबार अपेक्षा भन्दा बढीले नै घटेको छ ।’ सरकारले आगामी आर्थिक वर्ष २०७८/ ८९ को बजेटमार्फत नेपाली औषधिको प्रवद्र्धन गर्ने र यसको आयात घटाउने रणनीति लिनुपर्ने सुझाव नेपाल औषधि उत्पादक संघले दिएको छ ।

संघले सरकारलाई औषधिको आयात घटाउन, नेपाली औषधिको प्रयोग बढाउन, नेपालमै उपलब्ध औषधि विदेशबाट महंगो शुल्कमा ल्याउन नपाइने व्यवस्था गर्न सुझाव दिएको छ । हाल नेपालमा ८० प्रतिशतसम्मको औषधि उत्पादन हुने भएकाले सरकारले नीतिगत व्यवस्था गरेर कडाइ गरेको अवस्थामा नेपाल औषधिमा आत्मनिर्भर हुने सक्ने दावी व्यवसायीको छ ।

नेपाल औषधि उत्पादक संघका पूर्वअध्यक्ष दीपकप्रसाद दाहाल नेपालमै वार्षिक ६० अर्ब रुपैयाँको औषधिको बजार रहेको बताउँछन् । त्यसमध्ये अहिले पनि आधा हिस्सा विदेशीकै रहेको छ हालका अनुसार नेपाल औषधिमा आत्मनिर्भर उन्मुख हुँदै गएकोले भएपनि सरकारले नै प्रवद्र्धन नीति लिन नसक्दा बर्षेनी २६ अर्ब रुपैयाँसम्मको औषधि आयात हुने गरेको छ । गत आर्थिक वर्ष २०७६/७७ मा नेपालमा रु.२८ अर्ब १८ करोड २५ लाख १८ हजारको औषधि आयात भएको तथ्यांकले देखाउँछन् ।

 दाहालले कार्पोरेटनेपालसँग भने ‘सरकारले नेपाली व्यवसायीबाट लिएर करिब ६० प्रकारका औषधि निःशुल्क प्रयोग गर्न दिइरहेको छ । यही व्यवस्थासँग जोडेर नेपालमा उपलब्ध औषधि बाहिरबाट आयातमा रोक लगाउने हो भने नेपाली बजार बढ्ने र औषधिजस्तो अत्यावश्यक वस्तुमा गरिएको खर्च बाहिरबाट रोकिन्छ ।’ उनले भने ‘औषधि उत्पादक संघले आगामी बजेटमा सरकारलाई सम्बोधन गर्नुपर्ने विषय बुँदागत रूपमा दिइएको छ । सरकारले औषधि उत्पादकको माग सम्बोधन गरेको अवस्थामा नेपालको औषधिको बजार अपेक्षाभन्दा ठूलो गतिमा बढ्ने र बाहिरबाट आउने आयात पनि घट्ने हुन्छ ।

भन्सार विभागको तथ्यांक अनुसार नेपालमा चालू आर्थिक वर्षको ८ महिना (साउन—फागुन)सम्ममा १९ अर्ब १६ करोड ३२ लाख रुपैयाँको औषधि आयात भएको थियो । यो औषधि आयात हुँदा सरकारलाई ९४ करोड ७९ हजार रुपैयाँ राजश्वसमेत संकलन भएको विभागको तथ्यांकमा उल्लेख छ । तथ्यांकमा हेर्ने हो भने गत वर्ष ८ महिनामा नेपालमा औषधि आयात २० अर्ब ५२ करोडले रुपैयाँको औषधि आयात भएको पनि विभागको तथ्यांकमा उल्लेख छ ।

यो तथ्यांकले विगत एक वर्षदेखिको कोरोना महामारीपछि नेपालमा औषधिको आयात भने करिब ६.६२ प्रतिशतले घटेको देखिन्छ यसको अर्थ नेपालमा औषधिको खपत नै कम भएको भन्ने बुझिन्छ । समग्रमा नेपालमा देखिएको आयातलाई हेर्ने हो भने औषधि ११ औं स्थानमा रहेको पनि विभागको तथ्यांकले देखाउँछ । 

नेपालले वार्षिक ६ अर्ब रुपैयाँ जतिको कच्चा पदार्थ आयात गर्दै आएको छ। त्यसबाट  ३० अर्ब रुपैयाँसम्मको औषधि उत्पादन हुने गरेको पूर्वअध्यक्ष दाहाल बताउँछन्। नेपाली औषधिको खपत बढ्दै गएको र नेपाली उत्पादकले बजार विस्तार गरेकाले पनि विदेशबाट आयात घटाउन सहयोग गरेको उनी बताउँछन् । औषधिको आयात बिस्तारै घट्दै जान थालेको छ भने आगामी वर्ष अझै घटाउने गरी नेपाली औषधि उद्योगले उत्पादन बढिरहेको पनि उनले जानकारी दिए ।

१०४ उद्योगमा ६७ मात्रै सञ्चालनमा
बजारमा औषधिको खपत तत्काललाई घट्न थालेको देखिएपछि दीर्घकालिन रूपमा र औषधि बजार बढाएर आत्मनिर्भरमा जाने भने थप कम्पनी प्रयासरत छन् । हाल बजारमा ७६ कम्पनीले उत्पादन थालेको र अझै ३७ कम्पनी थप हुने तयारीमा रहेको औषधि उत्पादक संघले बताएको छ ।

नेपालमा हालसम्म औषधि व्यवस्था विभागबाट कुल १०४ वटा नेपाली औषधि कम्पनीले उत्पादन अनुमति लिएका छन् । यसमध्ये हालसमम ६७ वटा उद्योगले नेपालमा औषधिको उत्पादन गरिरहेका छन् । १० वटा नयाँ कम्पनीले उत्पादन तयारी गरेरहेको छन भने बाँकीले आवश्यक तयारी सुरु गरिरहेको बुझाइ दाहालको छ । 

विभागका अनुसार नेपालमा विभिन्न ४९ वटा शीर्षकमा औषधि आयात हुन्छ । गत महिना संसारका १४८ मुलुकबाट ३५४ पटक औषधि आयात गरिएको छ । एउटै प्रयोजनका र नामबाट धेरैवटा औषधि आउने भएकाले कुन औषधि बढी आयो भनेर तथ्यांकमा भन्न नसकिने भन्सार विभागको भनाइ छ । विभागले राख्ने तथ्यांकमा सबै देशबाट आउने औषधि हुनेगर्छ भने एन्टिबायोटिक औषधि चाहिँ सबै प्रकारका एन्टिबायोटिक सूचीमा आउने गरेको तथ्यांकमा उल्लेख छ । 
 

Advertisement

Advertisement