बैंकहरूको अनियमितता सार्वजनिक गर्ने घोषणा  गरेका कँडेलको पहिलो निशानामा कुन बैंक ?

Advertisement

काठमाडौं । इन्जिनियर दिपेन्द्र कँडेलले बैंकहरूको अनियमितता सार्वजनिक गर्ने क्रममा पहिलो बैंक सेन्चुरी कमर्सियल बैंक परेको बताएका छन् । उनले घर कर्जा दिने क्रममा सेन्चुरी बैंकले अनियमितता गरेको दाबी गर्दै सात दिनभित्र उक्त बैंकले जवाफ नदिए सो बैंकविरुद्ध अभियान सञ्चालन गर्ने चेतावनी दिएका छन् । 

कँडेलले हाउजिङ कम्पनीसहित त्रिपक्षीय करार सम्झौताअनुसार सेन्चुरीले स्वीकृत ऋण रकम उपलब्ध गराउन आनाकानी गरेको, एउटा बैंकले पहिलो नै उक्त घरजग्गा धितो राखेर ऋण दिएको ठाउँमा सेन्चुरीले त्यसमाथि अर्को ऋण स्वीकृत गरेको, ऋणीलाई समयमा सही सुचना नदिने र प्रदान गरिएका कागजपत्रहरू पनि नक्कली हुने गरेको दाबी गरेका छन् । 

Advertisement

त्रिपक्षीय समझदारीअनुसार स्वीकृत एक करोड ३१ लाख रुपियाँ ऋण रकममध्ये २० लाख रुपियाँ उपलब्ध गराउन आग्रह गर्दा बैंकले रकम दिन नमानेको र उल्टै डेभलपर्स ग्रिनसिटी प्रालिसँग मिलेर ग्राहकविरुद्ध जालसाची गरेको भन्दै उनले ग्रिनसिटीमार्फत घर निर्माण गरी खरीद गर्न २०७५ पुस २९ गते ऋणीले एक करोड ३१ लाख ऋण लिएकोमा ऋणीले नियमितरुपमा ऋण तिर्दै आएको तर बैंकले सम्झौताअनुसार उपलब्ध गराउनुपर्ने बाँकी ऋण रकम दिन आनाकानी गरेको बताएका छन् । 

कुल एक करोड ३१ लाख रुपियाँ स्वीकृत ऋणमध्ये एक करोड रुपियाँ पहिलो किस्तामा दिएको र दोस्रो किस्तावापतको २० लाख रुपियाँ माग गर्दा ‘पत्र पठाउनु, हामी पैसा पठाइदिन्छौं’ भनेपछि ऋणीले पत्र पठाएको, तर पत्र गएपछि पैसा पठाउन नमिल्ने भन्दै आलटाल गर्ने र अर्कोतर्फ हाउजिङ कम्पनीमार्फत एक हप्ताभित्र घर पास गर्न भन्दै ऋणीलाई दबाब दिने काम बैंकले गरेको भन्दै कँडेलले यसबाटै बैंकको नियत खराब देखिने बताए । 

घर पास गर्न दबाब दिने उद्देश्यले ऋणीलाई बिना जानकारी हाउजिङ कम्पनीलाई पठाइएको पत्रमा लेखिको व्यहोरा न्यूनस्तरको र अस्पष्ट रहेको, पटक पटक पठाइएका पत्रहरूमा गरिएको हस्ताक्षरमा कर्मचारीको नाम उल्लेख नगरेबाट पनि बैंकको बदमासी झल्किने उनले बताए । बैंकमा गएर दिनुपर्ने ऋण पनि नदिने, पुनःमूल्यांकन पनि गर्न नमान्ने, थप धितो चाहिए जज्जा छ, हाउजिङ कम्पनीलाई दिनुपर्ने स्वीकृत ऋण रकम दिनुस् भन्दा बैंकले नमानेपछि ऋणी समस्यामा परेको कँडेलले बताएका छन् । 

हप्तौं बित्दा पनि बैंकले थप रकम नदिने तर हाउजिङ कम्पनीले ऋणीलाई दबाब दिने काम गरेको भन्दै उनले त्यसपछि ऋणीले बाध्य भएर आफू कानुनी उपचारमा जाने भनेर बैंकलाई पत्र पठाएको जानकारी दिए । त्यसपछि सेन्चुरी बैंकको कानुन शाखाबाट फोन गरेर ऋणीसँग माझी माग्ने काम भएको र एक पटक आएर मिलापत्र गर्न आग्रह भएको जानकारी पनि कँडेलले दिएका छन् । तर ऋणीले पत्र पठाएर राखेका प्रश्नहरुको लिखित जवाफ दिन नमानेको उनको भनाई छ । 

ऋणीले हाउजिङ कम्पनीसँग खरीद गर्न लागेको घर निर्माण सम्पन्न नै नभई पास गर्न दबाब दिने काम बैंकबाट भएको, निर्माण सम्पन्न नै नभएको घर भोगचलन गरेको भनेर बैंकले पत्रमा लेखेको भन्दै कँडेलले ऋणीलाई घराबन्दी गरेर समस्यामा पार्ने र फाइदा लिने नियत देखिएको आरोप लगाए । 

उनले कोरोना भाइरस (कोभिड १९) र लकडाउनका कारण सिर्जित विषम परिस्थितिमा ऋणीहरुलाई अनावश्यक दबाब नदिन तथा कालोसुचीमा राख्ने काम नगर्न राष्ट्र बैंकले गरेको परिपत्रलाई उपेक्षा गर्दै बैंकले एक हप्ताभित्र ऋणीको नाममा घर नामसारी गर्न डेभलपर्स कम्पनीलाई दबाब दिने कुरा गलत भएको बताए । 

बैंकले त्रिपक्षीय सम्झौताको प्रतिलिपि ऋणीलाई दिन आनाकानी गरेको भन्दै डभलपर्स कम्पनीसँग मात्रै गोप्य साँठगाँठ गरेबाट ऋणीहरू सशंकित भएको बताए । यता सेन्चुरी बैंकका उपप्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) मनोज न्यौपानेले भने आफूहरुले सकारात्मक हिसावले नै डेभलपर्स कम्पनीलाई पत्र पठाएर ऋणलाई हकहस्तान्तरण गर्न ताकेता गरेको तर ऋणी पक्ष आबेगमा आएको बताउँछन् । यद्यपि उनले डेभलपर्स कम्पनीलाई पठाएको बोधार्थ ऋणीलाई नपठाइनुमा आफूहरुको कमजोरी भएको स्वीकार गरे । 

न्यौपानेले त्रिपक्षीय सम्झौताबमोजिम समयमा घर निर्माण सम्पन्न गरेको भए त्यसको पुनःमूल्यांकन गरेर सम्वन्धित घरधनीको नाममा घरजग्गा पास गर्न ताकेता गर्ने कुरा बैंकको स्वाभाविक काम हो भने । यदि ऋणीलाई समस्या नै परेर तिर्न बाँकी रकम भुक्तानी गर्न समस्या भएको थियो भने आफूहरु समय बढाउन तयार थियौं, तर ऋणी पक्ष आबेगमा आएको उनको दाबी छ । 

Advertisement

Advertisement