ट्र्याक्टर दुर्घटनामा पाँचको मृत्यु, १९ घाइते

Advertisement

चितवन । राप्ती नगरपालिका–११ आमपानीस्थित चिउँडे खोलामा ट्र्याक्टर दुर्घटना हुदा पाँच जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार थाकलटारबाट ढलानको काम गर्ने मजदुर बोकेर चिउँडे खोलातर्फ जाँदै गरेको ना १ त ६३८२ नम्बरको ट्र्याक्टर आइतबार साँझ ७ः३० बजे पुलबाट झण्डै २०० मिटर तल खसेको हो ।

Advertisement

घाइतेको उद्धार गरी अस्पताल ल्याइएकामध्ये पाँचको मृत्यु भएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए ।  घाइतेको भरतपुर अस्पताल र पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये आठको अवस्था गम्भीर रहेको उनले जानकारी दिए । 

मृत्यु भएका चार जनाको सनाखत
यसैबीच, पूर्वी चितवनको राप्ती नगरपालिका–११ मा मजदूर बोकेको ट्र्याक्टर दुर्घटना हुँदा मृत्यु भएका पाँचमध्ये चारजनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सनाखत हुनेमा राप्ती नगरपालिका–५ का ३५ वर्षीय खडक लामा, खैरहनी नगरपालिका–९ का ४० वर्षीय मगन महतो, ५० वर्षीया छनिया महतो र राप्ती नगरपालिका–४ का ४५ वर्षीय सीताराम श्रेष्ठ रहेका छन् । एक जना अन्दाजी २५ वर्षीय पुरुषको नाम थर ठेगाना खुल्न सकेको छैन ।  

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार घाइतेमध्ये सात जनाको अवस्था  गम्भीर रहेको छ भने ११ जनाको अवस्था मध्यम रहेको छ । एक जनाको अवस्था सामान्य रहेको छ । घाइते सबैको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । 

Advertisement

Advertisement