कोरोनाको नाममा विद्यालय बन्द नगर्न सरोकारवालाको सरकारलाई सुझाव

Advertisement

काठमाडौं । शिक्षा क्षेत्रका सरोकारवालाले कोरोना भाइरस (कोभिड १९) संक्रमणको त्रास देखाएर विद्यालयहरू बन्द गर्ने काम नगर्न सरकारलाई सुझाव दिएका छन् । 

शिक्षा मन्त्रालयले सोमबार आयोजना गरेको छलफल कार्यक्रमका सहभागीले कोरोनाका नाममा विद्यालय बन्द गर्ने हो भने शैक्षिक क्षेत्र अस्तव्यस्त हुने र विद्यार्थीहरूको भविश्य अन्योलमा पर्ने भन्दै 
स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विद्यालयहरू सञ्चालन गर्न सुझाव दिएका छन् । 

Advertisement

छलफलमा सहभागीले विद्यालय खोल्ने कि बन्द गर्ने ? भन्ने कुराको निर्णय गर्ने अधिकार स्थानीय निकायलाई दिनुपर्ने भन्दै स्वास्थ्य मापदण्ड पालना भएनभएको हेर्ने, लडकाउन गर्नुपर्ने अवस्था हो होइन ? विचार गरेर निर्णय गर्ने अधिकार स्थानीयलाई दिनुपर्ने सुझाव दिएका छन् । 

यसअघि विद्यालय बन्द हुँदा लाखौं विद्यार्थीको पढाई प्रभावित भएको र निजी विद्यालयमा काम गर्ने धेरै शिक्षक तथा कर्मचारीको रोजगारी खोसिएको, धेरैले पारिश्रमिक पाउन नसकेको भन्दै उनीहरूले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गराएर विद्यालय सुचारु गराउनुपर्ने बताएका छन् । 

छलफलमा शिक्षा क्षेत्रका जानकार, स्थानीय निकायका प्रतिनिधि, निजी विद्यालय सञ्चालकको सहभागिता थियो । स्थानीय तहका प्रतिनिधिले पनि शिक्षण संस्थामा निगरानी गर्ने, कुनै शिक्षण संस्थामा संक्रमण धेरै देखिए सोही शिक्षण संस्थालाई मात्रै निश्चित अवधिका लागि बन्द गर्न सकिने भन्दै समग्र विद्यालय नै ठप्प पार्नुपर्ने जरुरी नरहेको बताएका थिए । 

सरकारले कोरोनाको दोस्रो लहर बढेको भन्दै मुलुकभरका विद्यालय बन्द गर्ने तयारी गरेपछि निजी तथा आवसीय विद्यालय अर्गनाइजेशनले विज्ञप्ति जारी गरेर असन्तुष्टि जनाएको थियो । कोरोना त्रासका नाममा विद्यालय बन्द गर्नु ठिक नभएको भन्दै प्याब्सनले स्वास्थ्य सुरक्षा सावधानी अपनाएर पठनपाठनलाई निरन्तरता दिनु उचित हुने बताएको छ । 

Advertisement

Advertisement