नौलीखोला जलविद्युत आयोजनामा भ्रष्टाचार गर्ने अधिकृतसहित ७ जना बिरुद्ध मुद्दा दर्ता

Advertisement

काठमाडौँ । गोरखा जिल्लाको नौलीखोला तेस्रो लघु जलविद्युत आयोजनामा भएको भ्रष्टाचार घटनामा संलग्न प्रशासकीय अधिकृतसहित ७ जना विरुद्ध मुद्दा दर्ता भएको छ । 

आयोजना मर्मत तथा पुनःनिर्माण कार्यमा वास्तविक कार्यभन्दा बढी भुक्तानी गरी अनियमितता गरेको उजुरीका आधारमा गरिएको अनुसन्धानबाट दोषी देखिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको हो । 

Advertisement

आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार गोरखाको धार्चे गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृत बाबुराम पाण्डे, तत्कालीन इन्जिनियर प्रविन वस्ती, सव इन्जिनियर रामनारायण चौधरीले आयोजनाको भुक्तानी दिने चरणमा झुट्टा विल भरपाई, कार्यसम्पन्न प्रतिवेदन सदर गरी १० लाख ६३ हजार ५७ रुपियाँ ६६ पैसा बढी भुक्तानी गरेको अनुसन्धानबाट पुष्टी भएको छ ।

त्यसैगरी आयोजनाका उपभोक्ता समितिका अध्यक्ष दमाई गुरुङ, सचिव हसिमान गुरुङ र कोषाध्यक्ष अनिता गुरुङले प्राविधिक समेतको मिलेमतोमा १० लाख ६३ हजार ५७ रुपियाँ ६६ पैसा बढी भुक्तानी लिई सरकारी रकम हिनामिना गरी भ्रष्टाचार गरेको आयोगको निश्कर्ष छ । 

त्यस्तै वडा नम्बर ७ का वडाध्यक्ष तथा वडास्तरीय अनुगमन तथा सुपरीवेक्षण समितिका अध्यक्ष सूर्यमान गुरुङले उपभोक्ता समितिका अध्यक्ष र प्राविधिकसँग मिलेमतो गरी राज्यको सम्पत्ति हानीनोक्सानी गर्ने मनसायले नक्कली बिल भरपाई र प्रतिवेदन तयार गरेको देखिन आएकाले उनी विरुद्ध समेत मुद्दा दर्ता गरिएको आयोगका प्रवक्ता रिसालले आज विज्ञप्ति प्रकाशित गरी जनाएका छन् ।      
 

Advertisement

Advertisement