Advertisement

काठमाडौं । निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी यती एयरलाइन्स अन्तर्राष्ट्रिय कार्गो उडानमा जाँदै छ । एटीआर ७२–५०० कलसाइनको ७० सिट क्षमताको पाँच वटा जहाज सञ्चालन गरिरहेको यस कम्पनीले दुई वटा सोही प्रकृतिका जहाज थप गर्दैछ । यतीले सहरी क्षेत्रका विमानस्थलमा सेवा दिँदै एसियाली मुलुकमा यात्रु चार्टर गर्नेगरी अन्तर्राष्ट्रिय उडानको अनुमति लिदैँ छ । उसले भारतको वनारसमा परीक्षण उडान गरेर अन्तर्राष्ट्रिय उडान सञ्चालन प्रमाणपत्र (एओसी) लिने अन्तिम तयारीमा छ । आवश्यकता अनुसार पहुँच विस्तार गर्दै जेट इन्जिनका जहाज ल्याएर अन्तर्राष्ट्रिय उडानलाई विस्तार गर्ने योजना यती एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनोज रिमालले सुनाए । 

कोरोना महामारीको बेला हवाई क्षेत्र बढी प्रभावितको सूचीमा पर्यो । तर, यही महामारीकै बेला यती एयरलाइन्सले भने अन्तर्राष्ट्रिय उडान गर्ने योजना बनाएको हो । कम्पनीले महामारी अगाडि नै क्षेत्रीयस्तरमा अन्तर्राष्ट्रिय उडानका गन्तव्यमा जाने गरी तयारी गरेकोले महामारीकै बीचमा यसको काम अगाडि बढेको रिमाल बताउँछन् । महामारीकै बेलामा बनाएको योजना महामारी सकिएपछि कार्यान्वयनमा जाने तथा पर्यटकीय गतिविधि बढेपछि सेवा दिनसक्ने बुझाइ उनको छ ।

Advertisement

महामारीपछि पुनः आन्तरिक उडान पुनरोत्थान हुन थालेको छ । अबको आन्तरिक उडानमा यतीले एकै प्रकारका जहाज उडान गर्ने रणनीति बनाएको छ । सो रणनीति अनुसार १६ वर्षदेखि उडानमा प्रयोग गरेको २९ र ३० सिट क्षमताका जेटस्ट्रिम पाँच जहाज विस्थापित गर्दै छ । यसको विकल्पमा एटीआएर नै थप गर्नेछ ।

यसको भगिनी संस्था तारा एयरले दुर्गममा मात्रै उडान गरिरहेको छ भने यतीले सुगममा मात्रै उडान गर्नेछ । ११ चैत २०७६ देखिको बन्दाबन्दीपछि आन्तरिक उडान खुला हुँदा यो वायुसेवाले आन्तरिक गन्तव्य चलायमान बनाउने उद्देश्यले प्याकेज टुरको योजना ल्याएको थियो । यस्तो प्याकेज नेपालीले निकै रुचाएको कम्पनीले बताउँदै आएका छ । यसले नेपालीलाई नै घुम्न बानीको विकास गराएको उसको दाबी छ ।

अहिले आन्तरिक वायुसेवा कम्पनीहरू नाफा गर्न नसकेपछि टिक्नसक्ने अवस्थामा रहेका छन् । अबको लागि राम्रो व्यवस्थापन र जहाज सञ्चालनको उपयुक्त रणनीति जरुरी रहेको सीईओ रिमालको विश्लेषण छ । पछिल्लो समय आन्तरिक उडानमा हेलिकप्टर र आन्तरिक उडानमा डेढ दर्जन वायुसेवा कम्पनी सञ्चालनमा छन् । कोभिडपछि आन्तरिक वायुसेवा समस्यामा परेकोले मर्जर गरेर जानुपर्ने आवाज पनि उठिरहेको छ । यद्यपि नियामक निकायले प्रोत्साहन गर्ने र आवश्यक सेवा सुविधासहित बाध्यकारी भने नबनाएका कारण तत्कालै कुनै वायुसेवा मर्जरमा जाने अवस्था भने नरहेको उनी बताउँछन् । 

निजी क्षेत्रबाट सञ्चालनमा रहेको यतीसँग तारा एयरसमेत छ । एउटै कम्पनीका दुई वायुसेवा भएकाले जहाज संख्या र दायराका हिसावले सबैभन्दा ठूलो वायुसेवा कम्पनी पनि हो । हवाई उडानमा आम यात्रुको मन जित्न सफल यस कम्पनीले बजारको माग र आवश्यकतालाई दृष्टिगत गर्दै पब्लिक कम्पनीमा जाने योजनासमेत बताएको छ । सीईओ रिमालले महामारीको असर सक्किएपछि उपयुक्त समयमा सर्वसाधारण जनतालाई पनि कम्पनीको सेयर दिने आफूहरूको योजना रहेको खुलासा गरे । 

पहिले कम्पनीलाई स्थिर बनाउने र त्यसपछि पब्लिकमा जान सकिने भन्दै रिमालले त्यसका लागि तयारी अवस्थामा रहेको बताए । महामारी सकिएरपछि र आर्थिक अवस्थामा सुधार आउनसाथ जुनसुकै बेला पनि पब्लिकमा जान सकिने उनले बताए । यती एयरलाइन्सको समग्र अवस्था र महमारीपछि भइरहेको दीर्घकालिन तयारीसहितका विषयमा सीईओ रिमालसँग गरिएको थप कुराकानी भिडियोमा हेर्न सकिन्छ । 

Advertisement

Advertisement