महिला रोजगारीका लागि तालिम दिने उद्योगहरूलाई सरकारले प्रोत्साहन गर्नुपर्ने माग

Advertisement

काठमाडौं । नेपाल धागो उद्योग संघका अध्यक्ष पवन गोल्याणले धागो तथा कपडा उद्योगमा लाखौं महिलालाई रोजगारी सिर्जना गर्न सक्ने संभावना रहेको बताउँदै त्यसका लागि अवैधरुपमा हुँदै आएको धागो तथा कपडाको पैठारी नियन्त्रण र नेपालमै उद्योगहरू खोल्न सरकारले प्रोत्साहनमूलक नीति लिनुपर्ने बताएका छन् । 

यूके एड र रोजगारीका लागि सीप कार्यक्रम (सीप)सँगको साझेदारीमा बिहीबार आयोजित कार्यक्रममा देशकै ठूलो धागो उद्योगी तथा निर्यातकर्ता गोल्याणले धागो तथा कपडा उद्योग सबैभन्दा धेरै रोजगारी सिर्जना गर्न सकिने क्षेत्र भए पनि नेपालमा यसको विकास कमजोर रहेको बताएका हुन् । उनी रिलायन्स स्पिनिङ मिल्सका सञ्चालक हुन् । सीप, यूके एडले सञ्चालन गरेको कार्यक्रम हो । 

Advertisement

गोल्याणले महिला उद्यमशीलताको विकासका साथै उनीहरुलाई सीपमूलक शिक्षा दिन सकिए रोजगारी सिर्जना गर्न सहयोग पुग्ने बताउँदै आफू अध्यक्ष रहेको बैंक (एनएमबि)ले पनि महिला उद्यमशीलता विकासका लागि उनीहरूलाई लक्षित गरी सहुलियत कर्जा दिइरहेको बताए । 

औद्योगिक क्षेत्रमा महिला सहभागिता बढाउन उद्योगहरूले के कस्तो भूमिका खेलेको छ ? भन्नेबारेको उक्त कार्यक्रममा उनले सीपमूलक काममा महिलाहरूले बढि दिगो भएर काम गर्ने बताउँदै उनीहरूको सहभागिता बढाउन आफूहरू लाग्दै आएको बताए । 
 
यूके एडका टिम लिडर बल्जित बोहोराले नेपालमा उद्योगधन्दामा अपेक्षकृत महिला प्रतिनिधित्व अझै बढ्न नसकेको भन्दै त्यस्तो सहभागिता बढाउन महिलाहरूलाई सीप र तालिम जरुरी रहेको बताए । बेलायती राजदूत निकोला पोलिट्ले अहिलेको समयमा रोजगारदाताले क्षमता अनुसारको काम  गर्नुपर्ने बताइन । उनले आर्थिक समृद्धिमा सीप विकासको भूमिका महत्वपूर्ण हुने बताइन् । 

नेपाल उद्योग वाणिज्य महासंघ उपाध्यक्ष एवं रोजगारदाता परिषद्का सभापति रामचन्द्र संघाईले महिला रोजगारी वृद्धिका लागि शिक्षा र तालिम दिने कुरामा सरकारले विशेष ध्यान दिनुपर्ने बताए । त्रिवेणी स्पिनिङ मिलका सञ्चालकसमेत रहेका उनले देशको अधिकांश जनशक्ति कृषिमा आवद्ध रहेको र उद्योगहरूको आवश्यकअनुसार सुहाउँदो तालिम आवश्यक रहेको बताए । उद्योग व्यवसाय आफैले कर्मचारीहरूलाई तालिम दिँदा त्यस्ता उद्योगलाई प्रोत्साहन गरिनुपर्ने संघईको भनाई छ । 

जगदम्बा स्पिनिङ मिल्सका सञ्चालक बिष्णु न्यौपानेले धागो तथा कपडा उद्योगमा ठूलो संख्यामा महिलाहरू कार्यरत रहेको बताउँदै यो क्षेत्रको विकास भए महिलाहरूले नै बढि अवसर पाउने बताए । उनले  कोरोना महामारीपछि स्वदेशी उत्पादनको महत्वमा वृद्धि भएको र महिला कर्मचारीहरूबाट राम्रो प्रतिफल आएको बताए । 

कार्यक्रममा धागो उद्योगको रुपान्तरण र दिगो रोजगारी सिर्जनाका लागि कस्तो बाटो लिने ? भन्ने कुरामा छलफल भएको थियो । संघ र सीपको बहुकारखाना साझेदारीले चार हजारलाई सीपसहित रोजगारी प्रदान गरिसकेको जनाइएको छ । साथै, रिलायन्स स्पिनिङ मिल, त्रिवेणी स्पिनिङ मिल, जगदम्बा स्पिनिङ मिल, ट्राइकोट इन्डष्ट्रिज तथा जय स्पिनिङ मिलका कारखानाको क्षमतामा सुधार पनि ल्याइएको सीप कार्यक्रमको दाबी छ । 

Advertisement

Advertisement