६ महिनादेखि निक्षेप भन्दा कर्जा बढी, चैत्रमा मात्रै एक खर्ब ६१ अर्बको ऋण प्रवाह

Advertisement

काठमाडौं । वाणिज्य बैंकहरूले विगत ६ महिनादेखि निक्षेपको तुलनामा कर्जा प्रवाह बढाएका छन् । नेपाल बैंकर्स संघको तथ्यांक अनुसार कात्तिक २०७७ देखि निक्षेपको तुलनामा कर्जा बढेको देखिएको छ । कात्तिकसम्ममा वाणिज्य बैंकहरूले ३६ खर्ब ४८ अर्ब निक्षेप संकलन गर्दा ३० खर्ब ५२ अर्ब कर्जा प्रवाह गरेका थिए ।

उक्त महिना भएको निक्षेप संकलन अघिल्लो महिना असोजको तुलनामा ६ अर्ब रुपैयाँले घटेको थियो भने कर्जा प्रवाह भने अघिल्लो महिनाको तुलनामा १७ अर्बले बढेको थियो । असोजमा कर्जा प्रवाह ३० खर्ब ३५ अर्ब थियो भने कात्तिकमा ३० खर्ब ५२ अर्बको कर्जा प्रवाह भएको तथ्यांकले देखाएको छ ।

Advertisement

तथ्यांक अनुसार वाणिज्य बैंकहरूको निक्षेप मासिक कर्जा प्रवाहको तुलनामा कम देखिएको छ । यसको अर्थ बैंकसँग कात्तिक अगाडि तरलता पर्याप्त भएकोले त्यसपछिका महिनामा कर्जा प्रवाह बढेको बैंकसं संघको भनाइ छ ।

संघको तथ्यांक अनुसार चैत २०७७ सम्ममा आइपुग्दा कुल निक्षेप संकलन ३९ खर्ब ४४ अर्ब रहेको छ भने कर्जा प्रवाह ३५ खर्ब ७३ अर्ब रहेको छ । यस्तो तथ्यांक अनुसार वाणिज्य बैंकहरूमा चैत मसान्तसम्ममा अब जम्मा ३ खर्ब ७१ अर्ब रुपैयाँ मौज्दात रहेको देखिन्छ ।

चैत २०७७ मा मात्रै वाणिज्य बैंकहरूले  एक खर्ब १८ अर्ब निक्षेप संकलन गर्दा कर्जा प्रवाह भने एक खर्ब ६१ अर्ब रुपैयाँ पुगेको छ । फागुनमा ३९ खर्ब १३ अर्ब रुपैयाँ रहेको निक्षेप चैतमा ११८ अर्बले बढेर ३९ खर्ब ४४ अर्ब पुगेको छ । यस्तै कर्जा प्रवाह पनि फागुनमा ३५ खर्ब ३५ अर्ब रहकोमा चैतमा आइपुग्दा ३५ खर्ब ७३ अर्ब पुर्याएका छन् ।

बैंकर्स संघका अध्यक्ष भुवन दाहाल पछिल्लो समय आर्थिक गतिविधि बढेकोले कर्जा प्रवाह पनि बढेको बताउँछन् । उनका अनुसार कोरोना महामारीबाट अति प्रभावित क्षेत्र बाहेक अर्थतन्त्रका अन्य क्षेत्रमा कर्जा प्रवाह बढेको छ । यसको अर्थ समग्र अर्थतन्त्र चलायमान हुँदै गएको भनेरे बुझ्नुपर्ने दाहालको भनाइ छ । पछिल्लो समय आयात बढ्नुका साथै आर्थिक गतिविधि पनि बढेकोले निक्षेपको तुलनामा कर्जा प्रवाह पनि बढेको देखिएको हो ।

कर्जा बढेको देखिएपनि बैंकले कायम राख्नुपर्ने न्यूनतम २० प्रतिशतको तरलता कायम नै रहेको छ भने बैंकहरूको कर्जा तथा निक्षेप अनुपात (सीसीडी) रेसियो पनि औषतमा ७८ प्रतिशत मात्रै पुगेको दाहाल बताउँछन् । राष्ट्र बैंकले तोकेको सीसीडीको सीमा ८५ प्रतिशतसम्म भएकोले अझै सात प्रतिशत सीसीडीको सीमा बढाउन सकिने अवस्था छ । त्यसैले तरलता अभाव नभएको र भएकै निक्षेप अनुसार कर्जा लगानी भएकोले हुँदा आत्तिनुपर्ने अवस्था कहीँ कतैबाट पनि नभएको बैंकर्स संघका अध्यक्ष दाहाल बताउँछन् ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल पनि बैंकहरूमा तरलताको चाप कम देखिएपनि समग्र अवस्था भने राम्रो रहेको बताउँछन् । ढकालका अनुसार अहिले बैंक तथा  वित्तीय संस्थाले कुल ४४ खर्बको निक्षेप संकलन गरेर भर्खर ४० खर्ब मात्रै कर्जा प्रवाह गरेका छन् । चैत मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थामा तरलता ४९ अर्ब रहेको राष्ट्र बैंकको भनाइ छ ।

बैंकहरूले अनिवार्य तरलता अनुपात (सीआरआर) र सीसीडी रेसियो मेन्टेन गरिरहेकोले वित्तीय अवस्थामा कुनै समस्या छैन् । थप कर्जा प्रवाह गर्न तोकिएको सीमा कामय गर्नेपर्ने भएकोले सबैले नियमको पालना गरिनै रहेको हुँदा निक्षेपभन्दा कर्जा प्रवाह बढी देखिएपनि समग्र अवस्था भने राम्रो रहेको राष्ट्र बैंकका प्रवक्ता ढकाल बताउँछन् ।

ढकाल पनि कोरोना महामारीपछि ऋणको माग बढेको र बैंकहरूले मासिक रूपमा कर्जा बढाउँदै गएको बताउँछन् । उनका अनुसार तोकिएका सर्त र सीमा बाहिर गएर कर्जा मात्रै बढाउन नपाइने भएकोले सोही सीमाभित्रै बसेर कारोबार भइरहेको छ । 

Advertisement

Advertisement