डिशहोमले अब प्रभु टिभी र प्रभु नेटलाई पनि गाभ्ने

Advertisement

काठमाडौं । टेलिभिजन सेवा प्रदायक कम्पनी डिशहोमले अर्को टेलिभिजन सेवा प्रदायक प्रभु टिभीलाई प्राप्ती (अक्वार) गर्ने भएको छ । प्रभु टिभीले गति लिन नसकेको बेला ती दुई कम्पनीबीच एकीकरणका लागि छलफल सुरु भएको हो । यस विषयमा दुवै पक्षबीच पटक पटक कुरा भइसकेको स्रोतको भनाई छ ।  

एकै प्रकृतिका दुई कम्पनीमा प्रभु ग्रुपको लगानी भइरहेको बेला दुवैलाई एक बनाउने प्रक्रिया अघि बढेको हो । डिशहोमका एक अधिकारीका अनुसार डिशहोम र प्रभु टिभीबीच मर्जर नभई डिशहोमले अक्वायर गर्ने हिसाबले कुराकानी अघि बढेको तर अन्तिम टुङ्ग्लो लगाउन भने केही समय लाग्नसक्ने छ । 
 
डिशहोम स्याटलाइट प्रविधिमा आधारित टेलिभिजन सेवा प्रदायक कम्पनी हो भने प्रभु टिभी ओटीटी प्रविधिमा आधारित टेलिभिजन सेवा हो । प्रभु ग्रुपको लगानी डिशहोममा समेत रहेको सन्दर्भमा प्रभु टिभीलाई डिशहोममा गाभ्न लागिएको छ । डिशहोममा सुदीप आचार्य समूह, आईएमई समूह, प्रभु समूह र चिनियाँ लगानीसमेत रहेको छ । 

Advertisement

यसअघि प्रभु समूहका देवी भट्टचनले डिशहोममा रहेको आफ्नो सेयर बिक्री गरेर प्रभु टिभी सुरु गरेका थिए । फरक खालको ओटीटी प्रविधि सस्तो र प्रभावकारी हुने उनको विश्वास थियो । अहिलेको डिजिटल युगमा ओटीटी प्रविधिको टेलिभिजन सेवा प्रभावकारी हुननसक्ने पनि प्रभु टिभीबाट देखिएको छ । प्रभु समूहले प्रभु टिभीबाट अपेक्षित सफलता पाउन नसकेपछि यसलाई डिशहोममा गाभ्न उचित हुने देखेको हो ।

डिशहोमको मुलुकभर १५ लाखभन्दा बढि ग्राहक छन् भने प्रभु टिभीका केही शहरमा गरेर हजारको संख्यामा मात्रै ग्राहकहरू रहेका छन् । प्रभु समूहले भु टिभीसँगै प्रभु नेट र आईपीटिभी सेवा पनि अघि बढाएको थियो । ती सबैमा अपेक्षित प्रगति हुन नसकेपछि प्रभु टिभीसँगै प्रभु नेट र आईपीटिभीलाई डिशहोममा गाभ्न लागिएको हो । डिशहोमले फाइबरनेटलगायतका सेवालाई पछिल्ला दिनमा विस्तार गर्दै लगेको छ । 

डिशहोम मिडिया नेटवर्कले सर्वसाधारणका लागि प्राथमिक सेवा (आईपीओ) निष्काशनको तयारी गरिरहेको छ । डिशहोम स्रोतका अनुसार प्रभु टिभी तथा प्रभु इन्टरनेटलाई प्राप्ती गरिसकेपछि आईपीओ निष्काशन हुनसक्छ । कम्पनीले सय रुपियाँ मूल्यको २३लाख ८५ हजार ९२९ कित्ता आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । 

डिशहोम स्रोतको भनाई छ, ‘यो आर्थिक बर्षमा त आईपीओ निष्काशन कठिन छ । अर्को आर्थिक बर्षमा यो बर्षको अडिट रिपोर्ट आईसकेपछि आईपीओ कन्फर्म जारी हुन्छ । संभवतः त्यो अगाडि नै प्रभु टिभीसँग अक्वायरको काम पनि सकिन्छ । एकै प्रकृतिका दुवै सेवा एक भएमा डिशहोमलाई बजार विस्तार गर्न थप सहज हुनेछ । 

Advertisement

Advertisement