मानव संशाधन विज्ञहरूको विकासक्रम र कानुनी ज्ञानको आवश्यकता

Advertisement

अम्बरबहादुर थापा

मानव संशाधन विज्ञहरूको विकासक्रम      
कुनै पनि संघ, संस्था, कारखाना, कार्यालय (संगठन)मा काम गर्ने कामदार तथा कर्मचारीहरूको आवश्यकता पर्दछ र उनीहरूको उचित व्यवस्थापन गर्नुपर्ने हुन्छ । सोको लागि सम्वन्धित् विषयका जानकार एवं मानव संशाधन विज्ञहरूको आवश्यकता पर्दछ । कामदार तथा कर्मचारीहरूको जीवनको कल्कलाउँदो उमेरमा हुने नियुक्तिदेखि उनीहरू वयस्क हुँदै जीवनको उत्तरार्धमा हुने अनिवार्य अवकाशको अवधिसम्ममा उसलाई मानव संशाधन विज्ञको आवश्यकता पर्दछ । तसर्थ एक मानवले अर्को मानवलाई सञ्चालन एवं व्यवस्थित गर्नुपर्ने विषय निश्चय नै जटिल हुन्छ जसका लागि उm व्यक्तिको मनोविज्ञान बुझ्नेदेखि उसलाई उचित तालिम दिई उसको वृत्तिविकास गर्दै उसलाई उसको काम कर्तव्यमा उत्साहित बनाउँदै संगठनले निर्दिष्ट गरेका लक्ष्यहरूको परिपूर्ति सुशासित ढंगबाट बढाउनु निश्चय नै सहज विषय होइन् । यसका लागि मानव व्यवस्थापन विज्ञहरूको आवश्यकता पर्दछ । विगतका ३०–४० वर्षदेखि यस विषयमा मानव संशाधन विज्ञहरूमा आएका परिवर्तनका विभिन्न किसिमका सोच तथा अवधारणाको विकास हुँदै गएको पाइन्छ । 

Advertisement

धेरै अगाडिका संघ संस्था तथा सरकारी गैरसरकारी संस्थाका कामदार कर्मचारीको व्यवस्थापन तथा नियुक्तिदेखि खटनपटनका लागि प्रशासन विभाग रहने गर्दथियो । यसले सो कम्पनी, संस्थान, कार्यालयको भण्डारकक्ष्देखि प्रशासनिक कार्य एवं कामदार कर्मचारीको व्यवस्थापन गर्नेसम्मको कार्य गर्दथ्यो । यही काम कर्मचारी प्रशासनको रुपमा कर्मचारी व्यवस्थापन अर्थात् ‘पर्सनल म्यानेजमेन्ट'को रुपमा चिनिन थाल्यो भने विगत २५ वर्षदेखि सोही ‘पर्सनल म्यानेजमेन्ट' विज्ञको कार्य विशिष्टिकृतरुपमा आजको यस आधुनिक युगमा मानव संशाधन विज्ञ अर्थात् ‘ह्युमन रिसोर्स म्यानेजमेन्ट’ (एचआरएम)को रुपमा विकसित हुनपुगेको छ । यस अवधिमा विशेषत निजी तथा सरकारी क्षेत्रका संघ, संस्था, संगठनका बीचमा आएको प्रतिस्पधाले गर्दा आफ्नो संस्थामा आफ्नाभन्दा पनि राम्रा र योग्य कामदार कर्मचारीको आवश्यकता पर्न गयो । योग्य र प्रतिभावान कामदार कर्मचारीको खोजी (हेड हन्टिङ)लगायतका विभिन्न किसिमले कर्मचारी भर्ना गर्नुपर्ने, उनीहरूको नियुक्तिको समयदेखि धेरै वर्षसम्मका लागि उनीहरूको वृत्तिविकासको व्यवस्थापन गर्नुपर्ने, उनीहरूको तलव सुविधा तथा ‘स्किल डेभलपमेन्ट’का अवसर उपलब्ध गर्दै उनीहरूलाई निरन्तर अभिप्रेरित गर्दै कार्यमूलक बनाउनुपर्ने भयो भने सोको व्यवस्थापनका लागि मानव संशाधन विज्ञहरूको पनि संगठनहरूलाई त्यतिकै आवश्यकता पर्दै जान थाल्यो । यसै क्रममा विगत अढाई दशकदेखि खुल्दै आएका व्यस्थापनसम्वन्धी कलेजहरूमा पनि मानव व्यवस्थापनसम्वन्धी अध्ययन अध्यापनको आवश्यकताको महशुस गरी सरकारी तथा निजी क्षेत्रका विश्वविद्यालयहरूले पनि सोही किसिमका पाठ्यक्रमको विकास गरी मानव संशाधनसम्वन्धी अध्यापन गराउने कार्यले क्रमिक रुपमा उच्चाई लिन पुगेको छ । यसर्थ आजको यस अवधिमा आइपुग्दा निजी क्षेत्र अर्थात् सरकारी क्षेत्रका विभिन्न संघ संस्थाहरूमा मानव संशाधन विज्ञहरूको आवश्यकता हुन् थाल्यो । एउटा अशल र निपुण मानव संशाधन विज्ञले नै आफू संलग्न संस्थाका कामदार कर्मचारीको छनौटदेखि अवकाशकालिन अवस्थासम्म उनीहरूको उचित व्यवस्थापन गर्न सक्छन् । मानव संशाधनसम्वन्धी कार्यमा दक्ष व्यक्ति भएमा नै सो संस्थाका कामदार कर्मचारी पनि उत्साहितरुपमा संस्थाको उद्देश्यमा सफलतापूर्वक अगाडि बढाउन सक्षम् हुनसक्छन् भन्ने अवधारणाको विकास हुनथालेको छ । यो काम तव सम्भव हुनसक्छ जब त्यस संस्थामा काम गर्ने मानव संशाधन विज्ञहरू मानव संशाधनका साथमा कानुनी क्षेत्रमा पनि विज्ञ रहन्छन् । यसो भन्नुको अर्थ सबै मानव संशाधन विज्ञ कानुनमा स्नातक नै हुनुपर्छ भन्ने होइन् । उनीहरूमा कामदार कर्मचारीसम्वन्धी आधारभूत नीति, ऐन, नियमको जानकारी हुनु अपरिहार्य रहन्छ ।   

मानव संशाधनमा कामगर्ने विज्ञहरूमा किन कानुनी ज्ञानको आवश्यकता पर्छ ?
मानव संशाधनको भूमिका सबै संगठनमा एकै किसिमको हुँदैन् । संगठनको प्रकृतिअनुसार मानव संशाधनको जिम्मेवारी फरक हुने गर्दछ । मानव संशाधन विज्ञहरू संगठनका कर्मचारीहरूको नियुक्ति, तालिम तथा उनीहरूको वृत्तिविकाससँग सम्बन्धित् रहन्छन । संघसंस्था तथा संगठनमा रहेका कर्मचारीको मानव संशाधनसम्वन्धी जे जस्तो कार्य गर्नुपरे पनि ती कामदार कर्मचारीसम्वन्धी प्रचलित ऐन नियम, निर्देशनको पालना गर्नु एक प्रमुख जिम्मेवारीभित्र रहन्छ । यो तब मात्र सम्भव हुन्छ जब कानुनी प्रावधानहरूको जानकारी रहन्छ । कर्मचारी व्यवस्थापनसम्वन्धी कानुनी प्रावधानको जानकारी व्यवस्थापनमा संलग्न हुने सबै व्यवस्थापकका लागि आवश्यक रहन्छ । तर त्योभन्दा पनि बढि श्रम व्यवस्थापनसम्वन्धी कानुनी ज्ञान मानव संशाधनको व्यवस्थापनमा संलग्न विज्ञहरूको लागि महत्वपूर्ण एवं अनिवार्य रहन्छ । कतिपय अवस्थामा यस्ता विज्ञहरूले तुरुन्तै निर्णय लिनु र दिनुपर्ने हुन्छ, जसको प्रभाव छोटो र दिर्घकालिनरुपमा संगठनमा विस्तारितरुपमा पर्ने हुन्छ । तसर्थ, संगठन र कर्मचारीसँग आवद्ध सम्पूर्ण ऐन नियमको परिपालना मानव संशाधन विज्ञहरूबाट तब मात्र सम्भव हुन्छ जब उनीहरूमा सोको पूर्ण ज्ञान हुन्छ । यसले संगठनलाई एक आत्मविश्वासको झलक पनि दिने गर्दछ । कानुनको ज्ञानले मानव संशाधन विज्ञहरूलाई तुलनात्मक लाभ पनि मिल्ने गर्दछ, जसबाट संगठनलाई एक सही बाटोमा अग्रसर गराउन मद्दत मिल्ने गर्दछ । आवश्यक कानुनहरूको ज्ञानले तिनीहरूको परिपालना गर्न मद्दत गर्दछ भने उनीहरूको कामप्रतिको आत्मबिश्वास र व्यक्तित्वमा नै फरक पर्ने गर्दछ । आधारभूत श्रमिक व्यवस्थानसम्वन्धी ज्ञानको अभावमा कम्पनी, कार्यालय औधोगिक संस्थाहरूमा अशान्ति भई संस्था नै बन्द गर्नु परेका दुखद उदाहरणहरू हाम्रै देशमा थुप्रै रहेका छन् । 

कस्ता ऐन नियमको ज्ञान हुन आवश्यक रहन्छ ?  
एक असल मानव संशाधन विज्ञले एक अशल औधोगिक सम्बन्धको पनि विकास गर्न सक्छ भन्ने मान्यता रहेको छ । यसर्थ मानव संशाधन विज्ञ जे जुन संस्थामा आवद भए पनि उसले प्रचलित श्रम ऐन, श्रम नियमावली, ट्रेड युनियन ऐन, नियम, बोनस ऐन तथा नियम, कार्य स्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) ऐन, योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, बालबालिकासम्वन्धी ऐन, बाल श्रम (निषेध र नियमित गर्ने) ऐन, नागरिकता ऐन, अध्यागमन ऐन तथा ती सम्बद्ध नियमहरूको आधारभूत कानुनी प्रावधानको जानकारी तथा आफू संलग्न संस्थाका कामदार कर्मचारी सम्वन्धी विधान एवं विनियमावली, निर्देशिका एवं आचारसंहिताको पूर्ण ज्ञान मानव संशाधनसम्वन्धी विज्ञमा रहेको हुनु पर्दछ । उनीहरूले गर्ने कुनै पनि व्यवस्थाको कार्यान्वन, संस्थाका कामदार, कर्मचारीसँग गरिने व्यक्तिगत तथा सामुहिक सौदाबाजीका छलफल तथा सम्झौता गर्दा श्रम कानुनमा रहेका प्रावधानहरूको जानकारी रहेन भने रोजगारदाता र कामदार कर्मचारी वा ट्रेड युनियनका बीचमा जे जस्ता सम्झौता भए पनि ती आपसी व्यवहार (डिलिङ), समझदारिता तथा  सम्झौताहरू संस्थालाई अगाडि बढाउन मद्दत गर्न नसक्ने हुन्छ । यसो भएमा भएका समझदारी तथा सम्झौताले संस्थामा असमझदारिता बढ्न गई अशान्ति समेत पैदा हुन्छ भने संस्थाको निर्दिस्ट व्यवसायको लक्ष्यको परिपूर्ति हुन पनि नसक्ने हुन्छ । तसर्थ मानव संशाधन विज्ञले आधारभूत कानुनको ज्ञान राख्नुका साथै आफू संलग्न संस्था जुन ऐन नियमबाट स्थापित भएको हुन्छ, सो संस्थाले पालना गर्नुपर्ने मुख्य ऐननियमको पनि त्यतिकै जानकारी राख्नुपर्ने हुन्छ । कोही कुनै कम्पनीमा कार्यरत रहन्छ भने उसलाई कम्पनी ऐन, औद्योगिक व्यवसायमा संलग्न रहेको छ भने औद्योगिक व्यवसाय ऐन, यदि कोही विदेशी लगानीमा स्थापित कम्पनीमा संलग्न रहेको छ भने विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्वन्धी ऐन एवं अध्यागमनसम्वन्धी ऐन कानूनको जानकारी रहनुपर्दछ । यस्तै केही अन्य प्रचलित कानुन, जसलाई मानव संशाधन विज्ञहरूले प्रत्यक्षरुपमा हेर्नु नपरे पनि ती ऐन कानुनः जस्तो आयकर ऐन, सुशासनसम्वन्धी ऐन, देशको शान्ति सुव्यवस्था तथा प्रशासनिक व्यवस्थापनसम्वन्धी कानुनी प्रावधानको पनि जानकारी भएमा राम्रो हुन्छ । 

उपरोक्त व्यहोरालाई अझ स्पष्ट गर्नु पर्दा यो भन्न सकिन्छ कि मानव संशाधनमा काम गर्ने विज्ञहरूले आधारभूत रुपमा श्रम ऐन तथा श्रम नियमावलीका कुन परिच्छेदमा के कस्तो कानुनी व्यवस्था राखिएको छ ? र परिपालना गर्नुपर्ने हुन्छ ? सो बारे पूर्ण जानकारी लिनुपर्ने हुन्छ । उदाहरणका लागि कुनै विदेशी कामदार कर्मचारी नियुक्त गर्नुपर्यो भने कस्तो विदेशीको हकमा के कस्तो व्यवस्था श्रम ऐनले गरेको छ ? सोको बारेमा मानव संशाधन विज्ञको जानकारीमा रहेन छ भने उसले श्रम ऐनमा रहेका श्रम इजाजत र श्रम स्वीकृतिसम्वन्धी व्यवस्था तथा विदेशी कामदार तथा कर्मचारीलाई काममा लगाउन नपाइनेसम्वन्धी प्रावधानको बर्खिलाफ हुन पुग्दछ । पारिश्रमिक कट्टा गर्न नपाइने कानुनको जानकारी नभई पारिश्रमिक कट्टा गर्न थाल्यो भने संस्थामा अशान्ति हुनसक्छ । संस्थाले दिनुपर्ने बिदासम्वन्धी व्यवस्था, संचय कोष, उपदान, अवकाशकालिन पेन्सन लगायतका सुविधा तथा बीमासम्वन्धी सुविधा एवं व्यवस्था, श्रमिक आपूर्तिसम्वन्धी व्यवस्थाको जानकारी रहेन भने हुनुपर्ने काम नहुन सक्छ । काम हुन नसक्दा अशान्ति उत्पन्न हुन सक्छ । यस्तै व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यसम्वन्धी व्यवस्था, विशेष प्रकृतिको उद्योग वा सेवासम्वन्धी व्यवस्था, उचित श्रम अभ्याससम्वन्धी व्यवस्था, सरकारी निकायबाट हुने निरीक्षणसम्वन्धी व्यवस्था, न्युनतम् पारिश्रमिक निर्धारण र भुक्तानी, प्रतिष्ठाणको आन्तरिक व्यवस्थापनसम्वन्धी व्यवस्था, व्यक्तिगत माग दावी पेश गर्नसक्ने र सामुहिक विवादको समाधान गर्ने गराउने प्रावधान, ट्रेड युनियनको गठन, व्यवस्थापन, ट्रेड युनियनका काम कर्तव्य र अधिकार, ट्रेड युनियनको खारेजीसम्वन्धी व्यवस्था, सामुहिक माग दावी पेश गर्नेसम्वन्धी व्यवस्था, संस्थामा धर्ना, हड्ताल, तालाबन्दीसम्वन्धी व्यवस्था, आचरण तथा सजायसम्वन्धी व्यवस्था, श्रमिक कटौती गर्न सक्ने र जगेडामा राख्ने व्यवस्था, कर्मचारीको कल्याणकारीसम्वन्धी व्यवस्था, अवकाशसम्वन्धी व्यवस्था, उजुरी, सजाय र पुनरावेदनसम्वन्धी व्यवस्थाको जानकारी पूर्णरुपमा लिएको हुनुपर्दछ । अन्यथा मानव संशाधनसम्वन्धी जुनसुकै उच्चस्तरीय विश्वविद्यालय र कलेजबाट विशिष्ट श्रेणी प्राप्त भएको भए पनि मानव संशाधनको व्यवस्थापन गर्न जटिल हुनसक्छ । । यसै सन्दर्भमा भनिन्छ 'But regardless  of  individual job functions, Hyde says ‘Compliance is a key responsibility of every HR  role. The law touches every profession that falls under the HR umbrella in some way’

तसर्थ, मानव संशाधनको सञ्चालन एवम व्यवस्थापन गर्नुपर्ने व्यक्तिमा देशका प्रचलित र सम्बन्धित ऐन कानुनको आधारभूत जानकारी भएन भने श्रमको उचित अभ्यास हुननसक्ने हुन जान्छ । मानव संशाधन र देशका प्रचलित कानुनका बीचमा एकदमै अन्योन्याश्रित सम्बन्ध रहेको छ । यी दुवै एक अर्काका परिपूरकको रुपमा रहेका हुन्छन् । कानुनको ज्ञानबेगर मानव संशाधनसम्वन्धी व्यवस्थापन गर्न कठिन हुन सक्छ । 

निष्कर्ष 
मानव संशाधनको व्यवस्थापन कानुनी प्रावधानको अधिनमा रही रणनैतिकरुपमा व्यवस्थापन गर्नुपर्ने हुन्छ । मानव संशाधनको विज्ञले कामदार कर्मचारीका अधिकार र कर्तव्य तथा रोजगारदाताको दायित्व र अपेक्षा राम्रोसँग बुझेको हुनुपर्दछ । यदि संगठनले पालना गर्नुपर्ने कानुनी प्रावधानहरूको बर्खिलाफ हुन गएमा संगठनले जोखिम व्यहोर्नुपर्ने हुन्छ । जसबाट मूद्दा लाग्न सक्ने, आर्थिक नोक्सानी हुने र संगठनको ख्यातिमा असर पर्न सक्छ । मानव संशाधन विज्ञ संगठनको व्यवसायिक साझेदार हुँदाहुँदै पनि पनि उसका दायित्वहरू बढी जिम्मेवार रहेका हुन्छन् । अलिक भिन्न रहेका हुन्छन् । आजको यस आधुनिक युगमा संघसंस्थाका अन्य विज्ञहरूमा पनि मानव संशाधनसम्वन्धी आधारभूत ज्ञान हुनु जरुरी हुन्छ । किनकी उनीहरूले पनि आफू मातहत रहेका कामदार कर्मचारीको व्यवस्थापन गर्नुपर्ने हुन्छ । तर तुलनात्मकरुपमा आजको मानव संशाधन विज्ञहरूको कार्य ज्यादै जटिल रहको छ । र, जटिल कार्यको सञ्चालन एवं व्यवस्थापनका लागि अन्य विधामा जस्तै कानुनी ज्ञानमा पनि सो विज्ञ त्यतिकै दक्ष् र जानकार रहेको हुनुपर्दछ । अन्यथा, मानव संशाधनको व्यवस्थापन सहीरुपमा अगाडि बढ्न सक्दैन् ।   

यस लेखमार्फत सम्पूर्ण मानव संशाधन विज्ञहरूप्रति आदर गर्दै यो भन्न चाहन्छु कि के कसो कारणले हो मानव संशाधन क्षेत्रमा काम गरिरहनुभएका कतिपय विज्ञहरूमा आधारभूत कानुनी प्रावधानहरूको पनि ज्ञान नरहेको प्रशस्तै भेटिन्छ । उहाँहरूले न्यूनतम्रुपमा भए पनि श्रम व्यवस्थापनको क्षेत्रमा रहेका कानुनी प्रावधानको ज्ञान राख्नु आवश्यक देखिन्छ । कानुनको ज्ञानबेगर गरिएका कार्यहरू अक्षम्य हुँदैनन् भन्ने सर्वमान्य कानुनी सिद्धान्त तथा नजिरहरू विश्वव्यापीरुपमा रहेका छन् । यसर्थ मानव संशाधन विज्ञले कानुनको जानकारीबेगर गरेका कार्यहरू पनि अक्षम्य हुँदैनन् । उहाँहरूले आधारभूत कानुनको ज्ञान जानकारीमा लिई सोको प्रयोग उचित र प्रभावकारी ढंगले गर्नुपर्ने हुन्छ भने कतिपय जटिल अवस्थामा कानुनी प्रावधानको प्रयोग गर्नुपर्ने पनि हुन सक्छ । मानव संशाधन र श्रम क्षेत्रका आधारभूत कानुनको गहिरो र नजिकको सम्बन्ध एवं आवश्यकता रहेकोछ भन्न सकिन्छ ।  

(लेखक अधिवक्ता तथा मानव संशाधन एवं औधोगिक सम्बन्धका प्रोफेशनल हुन् । प्रस्तुत लेख ग्रोथ सेलरले हालै प्रकाशन गरेको मुखपत्रबाट लेखकको अनुमतिमा साभार गरिएको हो ।)

Advertisement

Advertisement