नेपाली ब्राण्डमै हार्मोनियम उत्पादन

Advertisement

काठमाडौं । ‘हार्मोनियम डाक्टर’ विमल शाहले नेपाली ब्राण्डमै हार्मोनियम उत्पादन सुरु गरेका छन् । उनले गत वर्षको लकडाउनको समयको सदुपयोग गर्दै आफ्नै नाममा विमल ब्राण्डको हार्मोनियम उत्पादन सुरु गरेका हुन् । 

शाहले हालसम्म चार सय हार्मोनियम बनाएर बिक्री गरिसकेको बताउँछन् । विमल ब्राण्डको हार्मोनियममा भारतको विना ब्राण्डभन्दा गुणस्तरीय रहेको उनको दाबी छ । नेपालमा हार्मोनियमको उच्च माग रहेकोले आफैंले उत्पादन सुरु गरेको उनले बताए । 

Advertisement

सिनामंगलस्थित ‘हार्मोनियम नेपाल’मा नेपाल र भारतका ख्यातिप्राप्त गायक, संगीतकार पनि हार्मोनियम मर्मत र ट्युनिङका लागि आउने गरेको शाहको भनाई छ । सर्लाहीको ईश्वरपुर नगरपालिकामा जन्मिएका उनले कलकत्तामा हार्मोनियम ट्युनिङसम्वन्धी दुई वर्ष तामिल लिएका छन् । 

हार्मोनियम मर्मतको काम आफन्तबाटै सिकेका उनलाई ट्युनिङ भने कसैले नसिकाएपछि कलकत्ता गएका थिए । शाहकाअनुसार एउटा नयाँ हार्मोनियम बनाउन ७–८ घन्टा लाग्छ । यस व्यवसायबाट निकै सन्तुष्ट देखिएका उनी नयाँ पुस्ताले पनि यसलाई निरन्तरता दिउन् भन्ने चाहान्छन् । त्यही भएर श्रीमती, छोरा र भान्जालाई पनि हार्मोनियम बजाउन सिकाइरहेको उनले बताए । 

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुुसार आर्थिक वर्ष २०७६–७७ मा विभिन्न मुलुकबाट १४ करोड रुपियाँभन्दा बढिको म्युजिकल इन्ट्रुमेन्ट आयात भएको छ । नेपाली लोक बाजासमेत विदेशबाटै आयात हुने गरेको पाइन्छ । 

Advertisement

Advertisement