एनआरएनएद्वारा लालपूर्जासहित लाभग्राहीलाई लाप्राक नमूना बस्ती हस्तान्तरण

Advertisement

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बिहीबार लाप्राक नमुना बस्तीका घरहरू लालपुर्जासहित धार्चे गाउँपालिकाका लाभग्राहीलाई हस्तान्तरण गरेका छन् । 

एनआरएनएका अध्यक्ष कुमार पन्त र प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले लाभग्राहीलाई लालपुर्जासहित घरहरू हस्तान्तरण गरेका हुन् । साथै, उनीहरूले दाताहरुको नाम भएको शिलापत्रको पनि अनावरण गरे ।

Advertisement

नमुना बस्तीको निर्माण कार्य २०७३ बैशाख १२ गतेबाट सुरु भएको थियो । २०७२ वैशाख १२ गतेको विध्वंशकारी भूकम्पका कारण प्रभावित गोरखाको लाप्राकस्थित ५७३ वटा निजी आवासहरू निर्माणको जिम्मा एनआरएनएले लिएको थियो । 

आज बस्ती हस्तान्तरणका क्रममा धार्चे गाउँपालिका–४ का अध्यक्ष राजु गुरुङले एनआरएनएले गरेको सहयोग लागि धन्यवाद दिएका थिए । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत  ज्ञवालीले पूर्वधार विकासको लागि प्राधिकरणले प्रतिघर चार लाख अथवा २३ करोड रकम उपलब्ध गराउने बताए । 

संघका अध्यक्ष पन्तले निर्माण गर्न भन्दा त्यसको सम्भार गर्न अझ कठिन र महत्वपूर्ण रहेको बताए । एनआरएनएका पूर्वअध्यक्षहरू शेष घले, भवन भट्ट र सल्लाहकार जमुना गुरुङ पनि कार्यक्रममा सहभागी थिए । 
 
संघका उपाध्यक्ष तथा परियोजना संयोजक सोनाम लामाले झण्डै ५७ करोड ६६ लाख चार हजार ८३६ रुपियाँ ४९ पैसा लागतमा निर्माण भएको नमुना बस्तीको लागि आर्थिक सहयोग गर्ने विश्वभर छरिएका गैरआवासीय नेपाली, संघसंस्था र दाताहरूलाई धन्यवाद दिए ।  

Advertisement

Advertisement