संघर्ष पछिको सफलताः ‘भेटघाट’मा काम गरेका कृष्णले यसरी जमाए ‘जमघट’

Advertisement

चितवन । चौध वर्षको कलिलो उमेरमा रित्तो हात कामको खोजीमा नारायणगढ छिरेको युवाले होटलको मालिक बन्ने सपना सायदै देखेको थिएन । दश वर्ष नारायणागढको एक रेष्टुरेन्टमा काम गर्दै गर्दा उनले रेष्टुरेन्टको मालिक बन्ने सपना देखे र त्यसलाई पछ्याउँदै लगे । रेष्टुरेन्टको मालिक बन्ने सपना पूरा भएपछि उनले अर्को सपना देखे, त्यो हो होटलको मालिक बन्ने । त्यो सपना पनि अहिले पूरा गरेका छन् ।

ठूलो सपना देखेर त्यसलाई पछ्याउँदै गयो भने पूरा गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्नुभएको छ कृष्ण भट्टले । विसं २०३७ मा गोरखाको घ्याम्पेसालमा जन्मिए भट्ट बाल्यकालमै नवलपरासीको दलदले परिवारसँगै आए । अध्ययनकै क्रममा १४ वर्षको उमेरमा मामा सीताराम पन्तले भट्टलाई रोजगारीका लागि नारायणगढको भेटघाट रेष्टुरेन्टमा ल्याए । भट्टले त्यहाँ १० वर्ष वेटर काम गरे । यस क्रममा साहुलाई रिझाएर रेष्टुरेन्टका सबै काममा उनले दक्खल हासिल गरे ।  

Advertisement

भट्टले भने, “मैले गोविन्द दाइ (भेटघाट रेस्टुरेन्टका सञ्चालक गोविन्द तिवारी)लाई भनेको थिएँ, विवाह गरेपछि आफैँ केही गर्छु ।” रोजगारीकै क्रममा रकम जोगाएर उनले कृष्णपुरमा एउटा घडेरी जोडिसकेका थिए ।  उद्देश्य थियो– त्यही बेचेर व्यवसाय गर्ने । जे सोचेका थिए त्यो भएरै छाड्यो । विसं २०६२ चैतको जनआन्दोलनकै क्रममा भेटघाट नजिकै भट्टले ‘जमघट’ रेष्टुरेन्ट शुरु गरे । श्रीमान्, श्रीमती र दुई कर्मचारी राखेर रेष्टुरेन्ट शुरु भयो । “कैयौँ रात हामी राम्रोसँग सुतेका छैनौँ”, भट्टले विगतलाई सम्झँदै भने, “मूल्य बढ्दै गरेको घडेरी बेचेर थालिएको व्यापार तलमाथि भए कहाँ जाने भन्ने चिन्ता हामी दुवैलाई थियो । त्यही पनि रात दिनको हाम्रो मेहनत खेर गएन ।” त्यसो त भेटघाटमा रहँदा सेवाग्राहीसँगको सामिप्यताका कारणले कृष्ण खोज्दै आउने सेवाग्राहीका कारण व्यवसाय सफल भएको उनी बताउँछन् । 

सेवाग्राही भेट्नासाथ सत्कारसँगै खिस्स हाँसेर सेवा दिने उनको स्वाभावका कारण एक पटक आएका सेवाग्राही फेरि आउने हुँदा उनलाई कहिल्यै पछाडि धकेलिन परेन । त्यसको सफलतासँगै उनले भरतपुरको बसपार्क चोकमा अर्को शाखा खोले । विसं २०७२ चैत ३ गते शाखा भरतपुरमा खुल्यो । एक कठ्ठा तीन धुर जग्गा आफैँले किनेर शुरु गरेको व्यवसायले निरन्तर सफलता प्राप्त गर्यो ।  यसै क्रममा जोडिएको १६ धुर जग्गा थपेर उनले २० वटा कोठासहितको होटल शुरु गरेका छन् । होटलमा ८० जना क्षमताको सभाकक्षसँगै रेष्टुरेन्ट पनि छ । साठ्ठी जनासम्मलाई बसाइको सुविधा दिन सकिने होटलमा वातानुकूलित कोठाहरु छन् । 

आधुनिक र अधिकतम सुविधा दिने गरी आफूले होटल शुरु गरेको उनी बताउँछन् । कमाएको रकम थपेर बैंकको सहायताले रु नौ करोड लागतमा होटल खोलेको भट्टको भनाइ छ । चालिस वर्षको उमेरमा दुईवटा रेष्टुरेन्ट र एउटा होटलको मालिक बनेका भट्टका व्यवसायमा अहिले २२ जनाले रोजगारी पाएका छन् । भट्टका दुई रेष्टुरेन्ट र होटलमा गरी दैनिक ३०० भन्दा बढीले सेवा पाउने गरेका छन् । भट्ट भन्छन्, “जे काम गरे पनि निरन्तर मेहनत गर्यो भने सफलता हात पर्छ ।” 

आफ्नो कडा परिश्रमकै कारण सफल भएको उनको भनाइ छ । यतिले मात्रै भट्टलाई चित्त बुझेको छैन । अरु शहरमा पनि जमघटको शाखा विस्तार गर्ने उनको योजना छ । देशभरबाट चितवन हुँदै आवतजावत गर्ने धेरैको रोजाइको खाजा ‘तास’ परिकार उनको रेष्टुरेन्टको मुख्य विशेषता हो । यसले मात्रै भट्टलाई चित्त बुझेन । अहिले उहाँले बिहानको खाजादेखि खाना हुँदै रातको आरामदायी बसाइसम्मका लागि सेवा दिँदै आएका छन् ।  

उद्योग वाणिज्य सङ्घ चितवनका पूर्वअध्यक्ष राजन गौतम भट्ट देशकै नमूना व्यवसायी भएको बताउँछन् । काम सिकेपछि आफैँ उद्यमी बन्नुपर्छ भन्ने उदाहरण भट्टले प्रस्तुत गरेको उनको भनाइ छ । गौतमले भने, “युवावस्थामा कुनै पनि ठाउँमा काम सिकेपछि त्यसलाई उद्यममा परिणत गर्नु सफलता हो ।” यसको सिको सबै युवाले गर्नुपर्ने उनी बताउँछन् । नेपालमा रोजगारी पाइँदैन भन्दै दिनहुँ विदेश पलायन हुने युवाहरुका लागि भट्ट उदाहरण बनेका छन् । सानो कामबाट शुरु गर्दै सफल व्यवसायी बन्ने विदेश जानु पर्दैन भन्ने शिक्षा उहाँको जीवनबाट पाउन सकिन्छ । रासस

Advertisement

Advertisement