प्रधानमन्त्रीले बालुवाटारमा बसेर रोबोटद्धारा सानो ठिमीको तालिम केन्द्रको उद्घाटन गरे

Advertisement

काठमाडौं । विज्ञान र प्रविधिको विकासले असंभव कामलाई पनि सम्भव तुल्याइदिएको छ । सुचना प्रविधिका कारण विश्वव्यापीरुपमा आएको परिवर्तनको प्रभाव नेपालमा पनि देखिन थालेको छ । 

प्रधानमन्त्री केपी ओलीले बालुवाटारमा नै बसेर शुक्रवार सानोठिमीस्थित प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परीषद् (सीटीईभीटी)अन्तर्गत स्थापित प्राविधिक तालिम केन्द्र, ट्रेनिङ इन्ष्टिच्युट फर टेक्निकल इन्स्ट्रक्सन (टीआईटीआई)को नवनिर्मित भवनको भर्चुअल विधिबाट उद्घाटन गरे । दक्षिण कोरिया सरकारको सहयोगमा ५५ करोड रुपियाँ लागतमा निर्मित यस तीन तल्ले भवनमा २० वटा डिजिटल कक्षा कोठा, डिजिटल पुस्तकालय, इ–लर्निङ सेन्टर, डिजिटल कन्फेरेन्स रुम जस्ता सुविधा छन् । 

Advertisement

रिमोट कन्ट्रोलबाट दियो बालेर प्रधानमन्त्रीले कार्यक्रम उद्घाटन गरेका थिए भने रोबोटद्धारा रिबन काटेर भवन उद्घाटन गरेका थिए । त्यसपछि कार्यक्रमस्थलमा राखिएको भवनको शिलापत्रको पनि रोबोटबाटै स्वचालितरुपमा पर्दा तानेर अनाबरण गरिएको थियो । अन्त्यमा ड्रोनको प्रयोगबाट शिलापत्रमाथि पुष्पबृष्टि गरिएको रोचक दृष्य पनि देखिएको थियो । 

यसअघि टीआईटीआईको भवनको मुल ढोकामा उभिएकी र सारिमा सजिएकी एक महिला रोबोटले पाहुनाहरूको स्वागत गरेकी थिइन् । उनले अतिथिहरूको स्वागत गर्दै कोभिड विरुद्ध सुरक्षाका उपाय अपनाउन र सेनिटाइजर प्रयोग गर्न आग्रह गरेकी थिइन् । 

यी सबै स्वचालित रोबोट प्रणालीको निर्माणको श्रेय कुपण्डोलस्थित इनोभेटिभ घरलाई जान्छ । इनोभेटिभ घरले हप्ता दिनको छोटो समयमै सफलतापूर्वक सो कार्य सम्पन्न गरेको थियो । कार्यक्रमलाई बालुवाटारबाट भर्चुअल विधिमार्फत सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशलाई आवश्यक पर्ने उच्चस्तरीय प्राविधिक जनशक्ति उत्पादन गर्ने सरकारको कार्यक्रममा सो तालिम केन्द्र सहयोगी हुने विश्वास व्यक्त गरे । 

रोबोटहरूको निर्माणमा संलग्न युवा वैज्ञानिकहरूमा अनिल कार्की, घनश्याम श्रेष्ठ, नवीन दाहाल, रामकृष्ण यादव, सुष्मित प्रधान, सुगम ढकाल, बिक्रम श्रेष्ठ, सद्दाम हुसेन धोवी, रोशा बस्नेत, विक्रान्त कार्की र दिपेश खनाल छन् ।

कार्यक्रममा सहभागी शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले अत्याधुनिक प्रविधिबाट कार्यक्रम सम्पन्न गरेकोमा प्रसंशा गरे । नेपालको इतिहासमै पहिलो पल्ट अत्याधुनिक प्रविधिबाट कार्यक्रम गरिएको भन्दै उनले भने, ‘बालुवाटारमा स्विच अन गरेर यहाँ बत्ति बाल्ने अत्याधुनिक प्रविधिको प्रयोग गरी नवनिर्मित भवनको उद्घाटन भएको छ । यो अन्यन्तै खुशीको कुरा हो । म यस कार्यमा संलग्न प्राविधिक टोलीलाई धन्यवाद दिन चाहन्छु ।’

टीआईटीआईका कार्यकारी निर्देशक महेश भट्टराईले आफूहरूले शिक्षक तथा प्राविधिक व्यक्तिहरूको क्षमता अभिवृद्धि गर्दै देशलाई आवश्यक प्राविधिक जनशक्ति निर्माण गर्न विगत तीन दशकदेखि योगदान दिँदै आएको बताए । 

नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चुन सुकले दूरशिक्षण प्रविधि संचालन गर्नमा सहायक हुने नवनिर्मित भवनबाट कोभिडको महामारी फैलिएको वर्तमान् समयमा प्राविधिक शिक्षा प्रदान गर्ने दिशामा महत्वपूर्ण योगदान प्राप्त हुने विश्वास व्यक्त गरे । 

Advertisement

Advertisement