कोरोना तत्काल नियन्त्रण हुने संभावना देखिन्न, निषेधाज्ञा र लकडाउनको विकल्प खोजौंः गोल्छा

Advertisement

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले श्रम सम्बन्ध सुधारको दिशातिर बढि रहेको भएपनि श्रम सम्बन्ध दिगो र भरपर्दाे बनाउन अझै धेरै काम गर्न बाँकी रहेको बताएका छन् । 

१३२ औ अन्तर्राष्ट्रिय मे दिवसको अवसरमा संयुक्त ट्रेड यूनियन समन्वय केन्द्रले शनिबार आयोजना गरेको कार्यक्रममा उनले श्रम सम्बन्धलाई दिगो र भरपर्दो बनाउन लगानी प्रवद्र्धन, रोजगारी सिर्जना, उद्यमशीलता विकास, श्रम सम्बन्ध सुधार जस्ता विषयलाई मुख्य प्राथमिकतामा राखेर जानुपर्ने बताए । 

Advertisement

गोल्छाले विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ महामारीको प्रभाव र पीडाबाट मुक्ति पाउने आशा पलाएको अवस्थामा कोरोना संक्रमणको दोस्रो लहरले थप चिन्ता थपेको भन्दै अहिले हाम्रा सामु दैनिकी सञ्चालन र मानव जीवनको सुरक्षा अत्यन्त चुनौतीको रूपमा देखिएको, अर्थतन्त्र र आर्थिक गतिविधि अवरुद्ध हुने स्थिति सिर्जना भएकाले सबै क्षेत्रबाट सहकार्य हुनुपर्ने बेला आएको बताए । 

यस्तो स्थितिमा हाम्रा प्रयास र पहलहरू अर्थतन्त्र, उद्योग व्यवसाय र रोजगारीमा पर्न सक्ने प्रभावलाई न्यूनिकरण गर्न केन्द्रीत हुनुपर्ने भन्दै उनले भने, ‘विश्वभरी नै कोरोना संक्रमणको प्रकृति हेर्दा चाँडै नियन्त्रणमा आउने संभावना छैन । यस्तो स्थितिमा जीउ ज्यानको सुरक्षाको साथै आर्थिक गतिविधिलाई चलायमान बनाई राख्नुपर्ने चुनौती र बाध्यता हामी सबैले महशुस गरेका छौ । संक्रमण नियन्त्रणको लागि सरकारबाट जारी गरिने निषेधाज्ञा र लकडाउन जस्ता उपायले अर्थतन्त्र र उद्योग व्यवसाय संचालनमा संकुचन आउने र यसबाट रोजगारी समेत प्रभावित भई थप संकट थपिने होकी भन्ने त्रास बढ्न गएको छ ।’

गोल्छाले थपे, ‘हामीले स्वास्थ्य सुरक्षाको विषयप्रति संवेदनशील भई आर्थिक गतिविधि सञ्चालन गर्न आग्रह गरेका छौ । हाम्रोसामु रहेको यो चुनौतीपूर्ण घडीमा सर्तकतापूर्वक जोखिम न्यूनिकरणका उपाय अनिवार्य रूपमा पालना गरी हाम्रो काममा निरन्तरता दिनुको विकल्प छैन ।’

हामी लगानी बृद्धि र रोजगारी सिर्जनाको कुरा पनि गरिरहेका छौ तर उद्योगहरूको विस्तार र लगानी किन बढन सकेको छैन् ? अहिले ७–८ लाख भारतीय कामदारहरू नेपालमा काम गरिरहेको पाईन्छ । किन यसो भईरहेको छ ? भन्दै उनले यसको कारण खोज्न जरूरी छ भने । गोल्छाले भने, ‘धेरैजसो उद्योग क्षेत्रले नेपाली श्रमिकहरूलाई रोजगारी दिन चाहन्छन् । तर त्यस्ता उद्योगहरूमा स्वदेशी श्रमिकहरू पाइएको छैन्न् । यसको कारण के हो ?’

सामाजिक सुरक्षा योजना कार्यान्वयनमा समस्या देखिएको भन्दै उनले किन सामाजिक सुरक्षा योजनालाई सफलतापूर्वक लागू गर्नमा अवरोध आईरहेको छ ? यसको व्यवहारिक समाधान खोजिनुपर्नेमा बताए ।  

महामारीवाट सिर्जित यो विषम परिस्थितिमा अझ बढी समझदारी एवं सुजबुझका साथ सहकार्य गर्नुपर्ने भन्दै उनले सबै श्रमिक कामदार कर्मचारीहरूको सुस्वास्थ्य र सुरक्षाको कामना समेत गरे । 

महासंघको रोजगारदाता परिषद्का सभापति एवं उपाध्यक्ष रामचन्द्र संघईले महामारीबाट उत्पन्न आजको कठिन परिस्थितिमा हाम्रा अगाडि आउने समस्या र संकटको सबै मिलेर सामना गर्नुपर्ने बताए । 

अर्थतन्त्र र उद्योग व्यवसाय चलायमान नहुँदा श्रमजीवी वर्गमा पर्ने प्रभाव कम गर्न हामी सबैले अझ बढि समझदारीका साथ सहकार्य गर्नुपर्ने बताए । संघईले बाँच र बचाउको यो कठिन अवस्थाबाट चाँडै मुक्त हुने अपेक्षा गरे । 

Advertisement

Advertisement