‘सानिमा जनरल इन्स्योरेन्स हाईब्रिड होइन्, अर्गानिक वृद्धिमा  विश्वास गर्छ’–सीईओ उपाध्याय

Advertisement

सानिमा जनरल इन्स्योरेन्स कम्पनी नयाँ बीमा कम्पनीमध्येको एक हो । छोटो समयमा नै सन्तोषजनक उपलब्धी हासिल गरेको सानिमा जनरलको चालु आर्थिक बर्षको पहिलो नौ महिनाको वित्तीय विवरण हेर्दा उत्साहजनक देखिन्छ । यस अवधिमा कम्पनीको व्यवसायमा ७० प्रतिशतको वृद्धि छ भने नाफामा सतप्रतिशत । कम्पनीको वृद्धि अर्गानिक हुनुपर्ने मान्यता राख्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुद्युम्न उपाध्यायसँगको छोटो कुराकानीः 

आफ्नो कम्पनीको नौ महिनाको वित्तिय अवस्था हेर्दा कस्तो लाग्यो तपाईंलाई ?

Advertisement

बीमा व्यवसाय भनेको दीर्घकालिन व्यवसाय हो । यसमा मेरो सोचाई कम्पनीको वृद्धि अर्गानिक हुनुपर्छ भन्ने हो । बीमा क्षेत्रमा एकै पटक हाईब्रिड वृद्धि गर्न पनि सकिदैन । बजारमा अहिले बीमा कम्पनीको भीड र प्रतिस्पर्धा बढ्दो छ । त्यसमा कम्पनीको सहभागिता क्रमिकरुपमा बढ्दै जान्छ । नयाँ कम्पनीलाई त व्यवस्थापनको पृष्टभूमिले भन्दा पनि कम्पनीको पृष्टभूमिले आकर्षण गर्नुपर्छ । तर त्यसको लागि त केही समय लाग्छ । यो त तुरुन्तै हुने कुरा होइन । 

सोही कारणले गर्दा हामी अर्गानिक वृद्धिअनुसार काम गर्छौं । हामीले गत वर्षको तुलनामा यस वर्ष चैत मसान्तसम्म ७० प्रतिशतले व्यवसाय वृद्धि गरेका छौं । त्यस्तै, हाम्रो नाफा सतप्रतिशत नै भएको छ । हामीले सो वृद्धिलाई बिस्तारै अघि बढाउँदै लग्ने योजना बनाएका छौं हामीले केही सयमसम्म आफू टपलाईनमा जानेभन्दा पनि केही स्वस्थ प्रतिस्पर्धामा जोड दिनेछौं ।

हामीले अहिलेसम्म जस्तो किसिमका योजना बनाएका थियौं, सोहीअनुसार अघि पनि बढिरहेकै छौं । चैतसमान्तसम्म ४६ करोड रुपियाँ बीमाशुल्क संकलन भएको छ । अघिल्लो वर्ष हामी सोही अवधिमा २८ करोड रुपियाँ मात्र बीमाशुल्क संकलन गरेका थियौं ।

कोरोना महामारीका बीच पनि बीमा व्यवसाय बढ्नुको कारण के हो  
यसको खास कारण भनेको समग्रमा हेर्दा पूरा बीमा व्यवसाय नै वृद्धिको अवस्थामा छ । समग्र बीमा उद्योग नै सकारात्मक रहेको अवस्थामा हाम्रो पनि टप लाइन ग्रोथ राम्रो नै छ ।

कोरोना महामारीले बीमा क्षेत्रमा पारेको सकारात्मक प्रभाव के हो ? 

बीमा क्षेत्रलाई डिजिटल माध्यमबाट बीमा गराउनुपर्छ भन्ने हामी सबैको सोचाईको विषय थियो । सोही डिजिटल बीमाले कोरोना महामारीको बेलामा प्राथमिकता पायो । विगतमा डिजिटल कारोबार त्यति प्राथमिकतामा परेको थिएन । तर कोरोना महामारीले यसलाई बाध्यतासमेत बनायो । अहिले त ग्राहकहरूसमेत डिजिटल कारोबारमा सक्रिय देखिदै आउनुभएको छ । दीर्घकालिनरुपमा हेर्ने हो भने बीमा क्षेत्र त प्रविधिमैत्री नभई सुखै छैन । तर अहिले त्यसकै लागि होमवर्क भएको हो । विगतको तुलनामा डिजिटलरुपमा बीमा गर्नेहरूको संख्या अहिले बढेको छ । यो कोरोना महामारीले बीमा क्षेत्रमा ल्याएको एउटा सकारात्मक पक्ष हो ।

अहिले बीमितले भौतिकरुपमा नै बीमा गर्नुपर्ने बाध्यता कायमै छ । भौतिक उपस्थितिमा बीमा गर्दा यो धेरै खर्चिलो हुनजान्छ । किनभने बीमितको बीमा गराउन त बीमा कम्पनीहरुरूले पनि कर्मचारीहरू राख्नुपर्ने बाध्यता हुन्छ । त्यस्ता खर्च कम्पनीको लागि अनावश्यक खर्च पनि हुन् । अब डिजिटलरुपमा नै बीमा गर्ने हो भने त्यस्ता खर्चहरू घट्नेछन् । त्यसले बीमा कम्पनी, बीमित, बीमा उद्योगलगायत समग्र अर्थतन्त्रमा समेत फाईदा पुर्याउछ ।

अघिल्लो बर्षको लकडाउन र अहिलेको लकडाउन के कस्तो फरक असहज महशुस गर्नु भएको छ ?

पहिलो चरणको लकडाउनमा कोरोना महामारीको ठूलै डर थियो । एक जनालाई कोरोना लाग्दा पनि धेरै डर थियो । अहिले त्यो निकै हदसम्म कम भएको छ । रोकथाम त गर्ने पर्यो । अहिले सबैले बुझ्नु भएको छ । त्यसले अर्थतन्त्रमा प्रभाव नै नपार्ने होइन तर प्रभाव केही कम हुन्छ । हामी आफ्नो जीवनशैली कसरी अगाडि बढाउने भनेर अभ्यस्त भइसकेको अवस्था छ । पर्यटन क्षेत्रमा हेर्दा अहिले बाहिरका पर्यटक आउने सम्भावना पनि न्यून भएको छ । होटल व्यवसायमा पनि फरक पार्छ । तर यस पटक कोरोना महामारीले पार्ने प्रभाव विगतको तुलनामा केही कमी हुन्छ जस्तो मेरो अनुमान रहेको छ ।

नयाँ प्रोडक्ट ल्याउन केही तयारी गरिरहनु भएको छ कि ?
अहिले हामीले मोटरसँग सम्बन्धित प्रोडक्ट ल्याउने प्रयास गरिरहेका छौं । हामीले अधिकांश मोटरहरू थन्किएको अवस्थामा पनि बीमा गराउन चाहनेलाई लक्षित गरेर मोटर अटो प्लस बीमा ल्याएका छौं । हामीले साइबर लायविलिटिलगायतका बीमा पोलिसी ल्याउन बीमा समितिसँग सल्लाह गरिरहेका छौं । कोरोना महामारीको बेलामा पनि हामीले आफ्नो संस्था अघि बढाउन विभिन्न खोज अनुसन्धानका काम गरिरहेकै छौं । आज हामीले गरिरहेको कामले भोलिको दिनमा हामीलाई सहज बनाउँछ । अहिले केही अप्ठ्यारो अवस्था छ । हामीले नयाँ कम्पनीको रुपमा नयाँ ग्राहकमाझ जानुपर्ने हुन्छ । तर पूराना कम्पनीहरूमा बढि नवीकरणका काम हुन्छन् । तर नयाँ कम्पनीको काम भनेको बजारीकरणमा नै जोड दिने किसिमको हुन्छ ।

बीमितले सानिमा जनरल इन्स्योरेन्स नै किन छान्ने ?
बीमा कम्पनीहरूको भीडमा बीमितले सानिमा जनरल इन्स्योरेन्स नै छान्नुपर्ने केही कारणहरू छन् । हामीले बीमाको गुणस्तरमा ध्यान दिन्छौं । हामीले बीमा गर्ने बेलामा नै राम्रोसँग बीमा बुझाउँछौं । साथै, बीमाको दाबी भुक्तानी गर्ने बेलामा हाम्रोमा निकै सहज रहेको छ ।

नियामक बीमा समितिलाई के भन्न चाहनुहुन्छ ?
बीमा समितिले आफ्नो तर्फबाट विभिन्न पहल गरिरहेको छ । डिजिटलरुपमा काम गर्न बीमा समितिले कम्पनीलाई निर्देशन तथा सहजीकरण गरिरहेको छ  । त्यो अहिलेको आवश्यकता पनि हो । 

हुलाक टिकट विद्युतीय माध्यबाट गर्न नमिल्दा केही समस्या छ । तर बीमालेख किन्न केही पनि समस्या छैन । बीमितले बीमा पोलिसि खरिद गर्दा हुलाक टिकट एक पटक मात्र टाँस्नु पर्छ । सो टिकट पनि बीमा कम्पनीमा नै रहने भएकाले बीमितलाई त्यति धेरै समस्या पर्दैन । डिजिटलरुपमा बीमा गर्दा कृषि बीमामा केही गाह्रो हुन्छ । हामीले कृषि बीमा गर्दा सम्बन्धित ठाउँमा हेर्नै जानुपर्ने हुन्छ ।

कोरोना बीमाले बीमा क्षेत्रमा कस्तो प्रभाव पार्यो ?
कुनै पनि नयाँ प्रयोग गर्दा त्यसका सकारात्मक र नकारात्मक पक्ष हुन्छन् । कोरोना महामारीले ग्राहकको आत्मबल बढेको छ । विपतमा पनि गतिविधि सञ्चालन भएका छन् । हामीले बीमाशुल्कभन्दा चार गुणा बढि बीमितलाई तिरिसक्यौं । हामीले सरकारबाट आउने पैसा आउँदै गर्छ भनेर आफ्नो तर्फबाट दिनुपर्ने पैसा दिएका छौं । बीमामा सबै प्रोडक्ट नाफाका लागि मात्र ल्याउने होइन । अहिले कोरोना बीमाको कुरा गर्दा यसले पारेको प्रभाव सकारात्मक नै छ । पहिले पनि भूकम्प अगाडि निजी कम्पनीले दाबी भूक्तानी दिन्छन् त ? भन्ने शंका नै थियो । तर कम्पनीले अन्तर्राष्ट्रियस्तरमाभन्दा पनि राम्रोसँग दाबी भुक्तानी गर्यो  ।

बीमाको पहुँच बढ्दो छ । यस्तो अवस्थामा नेपालमा बीमाशुल्क घट्नेसम्भावना कति छ ?
विगतको तुलनामा मोटर र सम्पत्तिको बीमामा बिमाशुल्क घटेको छ । बीमितको संख्या र प्रिमियम संकलन बढि भएमा त्यसकै आधारमा बीमाशुल्क घट्ने गर्छ । धेरैवटा बीमा गर्दा सवारी बीमामा छुट हुने व्यवस्था त छैन् । तर अहिले बीमाशुल्क नै कम छ । बीमा अनिश्चित कुरामा नै गरिन्छ । जसलाई आपत पर्छ उसले बीमा गर्छ । सोही अनुसार बीमाशुल्कको मोडालिटि तयार पारिएको हुन्छ ।

अहिले बीमा समितिमा नयाँ अध्यक्ष आउनुभएको छ । उहाँले नियम कानुन र अनुशासनमा जोड दिनुभएको छ । यसरी पनि बीमा उद्योग सकारात्मकरुपमा अघि बढ्न सक्छ ।

बीमितलाई के सन्देश दिन चाहानुहुन्छ ? 
अहिले कोरोना महामारी छ । यस्तो बेलामा बीमा गर्दिन भन्नु हुन्न । तर जुन किसिमको बीमा आवश्यक छ सोही किसिमको बीमा गर्नुपर्छ । म बीमितलाई अहिले आफ्नो आवश्यकता अनुसारको बीमा गर्नु भन्न चाहान्छु । अहिले एक वर्षलाई बीमा गर्नुपर्ने अवस्था छैन् भने बीमितले तीन महिनाको लागि मात्रै बीमा गर्न सक्नुहुन्छ । 

(साढे दुई दशकदेखि बीमा क्षेत्रमा क्रियाशील सीईओ उपाध्याय गत वर्ष जेठबाट सानिमा जनरल इन्स्योरेन्समा छन् । विभिन्न बीमा कम्पनीमा काम गरेर लामो अनुभव हासिल गरेका उनी बीमा क्षेत्रका कुशल व्यवस्थापकको रुपमा चिनिन्छन्) 

Advertisement

Advertisement