श्रमिकको न्यूनतम पारिश्रमिक अब १५ हजार, साउन १ बाट लागू हुने

Advertisement

काठमाडौँ । निजी क्षेत्रमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिकसम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना दिँदै आगामी आर्थिक वर्षदेखि श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरेर मासिक रु १५ हजार पुर्याइने घोषणा गरेका थिए । 

प्रधानमन्त्रीको उक्त घोषणालाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सोमबार राजपत्रमा प्रकाशन गरेको हो । वृद्धि भएको न्यूनतम पारिश्रमिक आगामी साउन १ गतेदेखि लागू हुनेछ । सोअनुसार रु नौ हजार ३८५ आधारभूत पारिश्रमिक र रु पाँच हजार ५१६ महँगी भत्ता गरी मासिक रु १५ हजार हुने छ । यसअघि श्रमिकको आधारभूत पारिश्रमिक रु १३ हजार ४५० थियो ।

Advertisement

मन्त्रालयले दैनिक आधारभूत पारिश्रमिक रु ३६१ र दैनिक महँगी भत्ता रु २१६ गरी दैनिक रु ५७७ तथा प्रतिघण्टा आधारभूत पारिश्रमिक ४८ र महँगी भत्ता २९ गरी प्रतिघण्टा रु ७७ तोकेको छ । यो चिया बगानमा काम गर्ने श्रमिकबाहेकको हो ।

उक्त पारिश्रमिकको अतिरिक्त श्रम ऐन, २०७४, योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ र प्रचलित कानूनबमोजिम श्रमिकले पाउने सञ्चयकोष र उपदानलगायत सुविधा रोजगारदाताले प्रदान गर्नुपर्ने मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले जानकारी दिए । 

सरकारले तोकेको न्यूनतम पारिश्रमिकभन्दा कम पारिश्रमिक लिनेदिने गरी कुनै रोजगार सम्झौता गर्न नपाइने पनि मन्त्रालयले स्पष्ट पारेको छ । सरकारले एकपक्षीय रुपमा न्यूनतम पारिश्रमिक तोकेको जनाउँदै श्रमिक र रोजगारदाता दुवैले असन्तुष्टि जनाएका छन् । श्रम ऐन, २०७४ मा प्रत्येक दुईदुई वर्षमा न्यूनतम पारिश्रमिक पुनरवलोकन हुने प्रावधान छ ।

Advertisement

Advertisement