अभिकर्ताहरू अनावश्यक हिँडडुल गरेः समिति, हामीलाई रोक्ने भए कम्पनी पनि बन्द गर्ः अभिकर्ता

Advertisement

काठमाडौं । बीमा समितिले निषेधाज्ञाको समयमा अभिकर्ताहरू अनावश्यक हिँड्डुल गरेको बताएको छ । बीमा क्षेत्र अत्यावश्यक सेवा भए पनि अभिकर्ताहरूले महामारीको समयमा अनावश्यक हिँड्डुल भने गर्न नहुने समितिको तर्क छ । तर अभिकर्ताहरूले आफूहरू बिना बीमाको ९५ प्रतिशत काम नहुने भन्दै हिँडडुल बाध्यता रहेको बताएका छन् । आफूहरू नभई बीमा कम्पनीको कार्यालय खोल्नुको पनि कुनै अर्थ नरहने अभिकर्ताहरूको दाबी छ ।

बीमा अभिकर्ताहरूका गतिविधि रोक्न आवश्यक परे कम्पनीहरूलाई नै निर्देशन दिने समितिले बताएको छ । सरकारले कोरोनाका कारण धेरै सरकारी कर्मचारीलाई घरमै बस्न भनेको छ । तर बीमा अभिकर्ताहरूको  काम हाजिर बिनाको भएकाले रोक्न समस्या भएको समितिको भनाई छ ।

Advertisement

बीमा क्षेत्रमा अभिकर्ताहरू फ्रन्ट लाइनका योद्धा मानिए पनि अहिले डिजिटलरुपमा काम गर्न जोड दिनुपर्ने समितिका प्रवक्ता राजुरमण पौडेल बताउँछन् । अभिकर्ताले बीमाशुल्क आर्जनमा मात्र नभई बीमा के हो ? भनेर नागरिकलाई बुझाउन पनि आफूहरूको भूमिका रहेको भन्दै अभिकर्ताहरूले प्रतिकुल समयमा समेत सुरक्षा सावधानी अपनाउँदै बीमा व्यवसाय र मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन भूमिका खेल्नु आफूहरूको दायित्व भएको बताउँछन् । 

तर समितिले भने अन्य बेलामा बीमा कम्पनी र बीमितको बिचमा पुलको काम गरे पनि अहिले महामारीमा अभिकर्ता डुल्नु विकृति भएको बताएको छ । कोरोना महामारीको दोस्रो लहरले नागरिकलाई आक्रान्त बनाईरहेको र यस्तो परिस्थितिमा अभिकर्ताहरूले सावधानी अपनाउनुपर्ने पौडेलले बताए । 

सरकारको निर्णयअनुसार समितिले एक तिहाई कर्मचारीमार्फत काम चलाईरहेको छ । तर महामारीको जोखिम बढेको बेलामा अभिकर्ताहरूको ठूलो संख्या कार्ड देखाउँदै बाहिर निस्किने, अनावश्यक भीडभाड गर्ने गरेको सूचना प्राप्त भएको समितिको भनाई छ । 

अहिले सरकारले अत्यावश्यक सेवा रोकेको छैन । तर अत्यावश्यक सेवा पनि सुरक्षा मापदण्ड अपनाएर मात्र सञ्चालन गर्न मिल्छ । अत्यावश्यक सेवामा समेत सकेसम्म कम कर्मचारी उपस्थित गराउनुपर्ने सरकारको निर्णय हो । ‘यस्तो अवस्थामा अभिकर्ता सल्बलाउनु जरुरी छैन,’ समितिका अर्का कर्मचारीले बताए ।

समितिका अनुसार अहिले बजारमा अभिकर्ताहरू अनावश्यक रूपमा आवतजावत गर्ने गरेका छन् । प्रवक्ता पौडेलले भने, ‘अहिले हामीले बीमा क्षेत्रका सबै कर्मचारीहरूले सुरक्षा सावधानी अपनाएर मात्र काम गर्नुपर्ने निर्देशन दिइका छौं । यस्तो अवस्थामा अभिकर्ता साथीहरूले पनि सकेसम्म हिँडडुल कम गरेकै राम्रो हुन्छ । हामीले पाएको जानकारी अनुसार बीमालाई अत्यावश्यक सेवा भन्दै अभिकर्ताहरूको अनावश्यक चहल पहल बढेको छ ।’ 

बीमा अत्यावश्यक सेवा भएको फाइदा उठाउँदै अभिकर्ताहरू हिँडडुल गर्नु र भीडभाड गर्नु राम्रो होइन् भन्दै उनले सकेसम्म डिजिटल माध्यमबाटै काम गर्न सुझाव दिए । पौडेलले थपे, ‘यो त जोगिने बेला हो नि । पछि त जति काम गरे पनि समय छँदैछ ।  हाम्रा बीमा कम्पनीहरूले पनि आफै कुरा बुझ्नु पर्ने हो । अहिले अभिकर्ता डुलाउने समय होइन् । बीमा क्षेत्र आफै जोगिने समय हो ।’ उनले महामारीको समयमा बीमा क्षेत्रका कर्मचारीले समेत आफू कसरी जोगिने ? भन्नेमा ख्याल पुर्याउनुपर्ने बताए । 

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका सिनियर एजेन्सी म्यानेजर ओम केसीका अनुसार बीमा कम्पनी खुल्ला रहेका कारण अभिकर्ताहरू पनि आवश्यकता अनुसार कार्यालयमा आउने जाने गरेका हुन् । अहिले आवश्यक भएका साथीहरू मात्रै बाहिर निस्किने गरेका छन् ।  प्रहरीले अभिकर्तालाई आफ्नो कार्ड देखाउँदा कुनै रोकतोक गरेको छैन ।

अभिकर्ता केसीले कर्पोरेट नेपालसँग भने, ‘बीमितको सेवाका लागि हामी बाहिर निस्किनुपर्छ । हामीले नजिकको शाखाबाटै काम गरिरहेका छौं । घरबाट काम गर्न पनि हामीलाई त्यति धेरै गाह्रो छैन । तर बीमाको कार्ड देखाएर महामारीमा निस्किहाल्ने त कमै होलान् । किनकी यो त आफ्नै स्वास्थ्य सुरक्षाका लागि हो ।’ 

समितिले हामीलाई रोक्ने भए कम्पनी पनि खोल्नु पर्दैन्ः अभिकर्ता

अभिकर्ताहरूले बीमा समितिले आफूहरूलाई हिँडडुलमा रोक लगाउने हो भने बीमा कम्पनी पनि खोल्नुको कुनै अर्थ नहुने बताउँछन् । नेपालको अधिकांश बीमा कम्पनीमा अभिकर्ताहरूमार्फत नै ९५ प्रतिशत काम हुने र अभिकर्तालाई नै घरमा बन्द गरेर बीमा व्यवसाय चल्न नसक्ने भएकाले कम्पनीको कार्यालय नै खोल्नुको अर्थ नहुने तर्क अभिकर्ताहरूको छ । 

समितिले चलाएको जागरण अभियानलेभन्दा बीमा अभिकर्ताहरूको बलमा नै हालसम्म बीमा व्यवसाय बढेको अभिकर्ताहरूको भनाई छ । अभिकर्ताले बुझाएपछि मात्र जीवन बीमा हुने भएकाले अभिकर्ताको भूमिका कहिल्यै अवमूल्यन गर्न नुहने उनीहरू बताउँछन् । अभिकर्ता केसीले बीमा समिति अभिकर्ताहरूप्रति सबैभन्दा सकारात्मक हुनुपर्ने बताउँछन् । 

जीवन बीमा कम्पनीहरूले आफ्नो व्यवसायको एक प्रतिशत रकम समितिलाई बुझाउँछन् । त्यसरी बुझाउने रकमसँग अभिकर्ताको मेहनत सिधै जोडिने उनीहरूको भनाई छ। समितिलाई कहाँबाट आम्दानी हुन्छ ? त्यो पैसा कसरी आउँछ ? भन्नेमा ध्यान नदिएको अभिकर्ताहरूको आरोप छ । 

अझै पनि बीमा गर्ने भनेको बीमितले बुझेरभन्दा पनि अभिकर्ताहरूको जोडबलमा मात्र हुने गर्छ । सोही कारण बीमा समितिले अभिकर्तालाई असहज बनाउनभन्दा पनि सकेसम्म सहजिकरण गरे मात्र बीमा क्षेत्र राम्रो हुने अभिकर्ताहरूको भनाई छ । 

Advertisement

Advertisement